महासंघमा व्यावसायिक नेटवर्कसहितको सक्षम नेतृत्व चाहिएको छ | Khabarhub Khabarhub

महासंघमा व्यावसायिक नेटवर्कसहितको सक्षम नेतृत्व चाहिएको छ


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

साढे पाँचदशक लामो गौरवशाली इतिहास रहेको नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रका सम्पूर्ण उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापित छ ।

मुलुकको अर्थतन्त्र र विकासमा निजी क्षेत्रले गरेको लगानी एवम् भूमिकाको सम्मान र संस्थागत मान्यताका लागि महासंघ र यसको नेतृत्वको महत्वपूर्ण भूमिका रहेको छ । अहिले कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्र र व्यवसायमा पारेको संकटको समयमा महासंघको भूमिका थप गहन बनेको छ ।

गत चैतमा सम्पन्न हुनुपर्ने महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित हुँदै आएको छ । साधारण सभापछि पुरानो नेतृत्वको कार्यकाल सकिने र नयाँ नेतृत्व नआइसकेको हुनाले महासंघको भूमिका प्रभावकारी हुन नसकेको आरोप पनि लागिरहेको छ ।

यस अवधिमा पनि महासंघको प्यानलसहित मैदानमा रहेका दुईवटै समूहले आफ्नो चुनावी गतिविधिलाई भने निरन्तरता दिइरहेकै छन् । यसै सन्दर्भमा कोभिड–१९ महामारीले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव र महासंघको निर्वाचनमा केन्द्रित रहेर नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालसँग कुराकानी गरेका छौँ ।

तपाईंले आउने मङ्सिरमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । निर्वाचित हुनेमा कति विश्वस्त हुनुहुन्छ

मलाई लाग्छ म सम्पूर्ण निजी क्षेत्रको साझा उम्मेदवार हुँ । मलाई सानो व्यवसायदेखि कर्पोरेट व्यवसायसम्म सञ्चालनको अनुभव छ । जिल्ला र नगरका साना व्यवसायदेखि, वस्तुगत तथा कर्पोरेट लेबलका इस्यूहरू, एफडीआईको रूपमा आउने इन्भेष्टमेन्टलाई प्रमोसन गर्ने कुरादेखि लिएर निजी क्षेत्रको प्रबर्द्धन गर्न आवश्यक पर्ने सबै विषयवस्तुसँग परिचित छु । सबै जिल्ला र नगर उद्योग वाणिज्य संघ भएको ठाउँमा व्यावसायिक नेटवर्क भएको र त्यहाँका इस्यूहरू समाधानका लागि पहल गर्न सक्ने हुनाले मलाई विश्वास छ यो निर्वाचनमा म अवश्य पनि सफलता हासिल गर्नेछु ।

तपाईंहरू प्यानल नै घोषणा गरेर चुनावी प्रचारप्रसारमा अघि बढ्नुभएको छ । तपाईंकोतर्फबाट पदाधिकारीमा उठ्ने उम्मेदवारहरूको उम्मेदवारीसमेत दर्ता भइसकेको छ तपाईहरूको प्रचारप्रसार कसरी भइरहेको छ

हामी कोभिडको लकडाउन अगाडि नै प्रायः सबै जिल्लामा पुगेका थियौँ । वास्तवमा त्यो चुनावी प्रचारप्रसारका लागि भन्दा पनि हाम्रो आफ्नो व्यावसायिक कामकै सिलसिला थियो । हामी चुनावको प्रसङ्ग आउनुभन्दा पहिलेदेखि नै धेरै जिल्लामा पुगेका छौं ।

जिल्ला/नगरका व्यवसायी साथीहरूसँग भेट्ने, त्यहाँका इस्यूहरू बुझ्ने र त्यसको समाधानका लागि पहल गर्ने कुराहरू भइरहेका छन् । यो चुनावका लागि थिएन । चुनावकै लागि भनेर प्रचारप्रसारमा हामी यो कोभिड अगाडि पनि त्यति धेरै लागेनौँ र अहिले पनि लागेका छैनौँ ।

व्यावसायिक कामका सिलसिलामै धेरै साथीहरूसँग सम्पर्क र सम्बन्ध रहेको छ । यो निरन्तर रहने छ । कोभिडको कारणले गर्दा पनि अहिले भेटघाट र सभासम्मेलनहरू गर्न सकिने अवस्था छैन ।

व्यवसायी साथीहरूसँग टेलिफोनमा कुराकानी गर्ने बाहेक, कम्युनिकेशनमा रहने बाहेक खासै केही गतिविधिहरू भएका छैनन् । व्यवसायीहरूले हाम्रो टीमलाई विजयी बनाउने मनस्थिति बनाइसक्नुभएको जस्तो लाग्छ ।

यही साउन २६ र २७ गतेका लागि तोकिएको महासंघको साधारणसभा अन्तिम समयमा स्थगित भयो । स्थगित गरेकोमा तपाईंहरूले आपत्ति पनि जनाउनुभएको थियो । यसको कारण के थियो

हो, गत वर्षको चैतभित्रै सम्पन्न गरिसक्नुपर्ने साधारणसभा गर्न नसकेपछि हामीले जेठमा सार्‍यौँ । जेठमा पनि कोभिडका कारण सम्भव नभएपछि साउन २६ र २७ का लागि तय गरिएको थियो । मिति तोकिएको साधारणसभा र निर्वाचन स्थगित गर्दा प्रक्रियागतरूपमा मिलेन भनेर हामीले आवाज उठाएका थियौँ ।

पहिलो कुरा हामीले कार्यकारिणी समितिले तय गरेको साधारणसभा र निर्वाचन कार्यकारिणी समितिमै छलफल गरेर मात्र स्थगित गर्ने निर्णय गरौँ भनेका थियौँ । पदाधिकारीको बैठकबाट गर्दा कार्यकारिणी समितिको अधिकार हनन् हुन्छ भनेका थियौँ ।

अर्को कुरा, हामीले साधारणसभा तथा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारसँग अनुमतिका लागि पत्र लेखेर पठाएका थियौँ । नेपाल सरकारको जवाफ नआउँदै यसरी निर्णय नगरौँ भनेको हो । कार्यसमितिमा लगेर छलफल गरेर स्थगित गर्न सकिने प्रसस्त समय पनि थियो ।

त्यतिबेला साधारणसभाका लागि प्रतिनिधिहरू भेला हुन नसक्ने अवस्थामा तपाईंले हतार गरेको जस्तो देखियो । तपाईंलाई निर्वाचनको यति धेरै हतारो किन

यो त केही साथीहरूले मिडियालाई गलत सूचना दिएर फैलाइएको अफवाह मात्र थियो । मैले त महासंघलाई विधानसम्मतरुपमा चलाउनुपर्छ, लामो समयसम्म साधारणसभा नगर्दा यसको वैधानिकताको प्रश्न कतैबाट नउठोस् भनेको हुँ । हाम्रा अग्रजहरूले अथक मिहिनेतले बनाएको एउटा गौरवपूर्ण संस्थाको इतिहास र प्रतिष्ठामा आँच नआओस् भनेको हुँ ।

मैले नयाँ नेतृत्वलाई महासंघको जिम्मेवारी हस्तान्तरण गरौँ भनेको थिएँ । अहिलेको जटिल परिस्थितिमा महासंघको आश्यकता झन् टड्कारो बनेको छ । यसलाई सबै व्यवसायीहरूको संकटको सारथि बनाऔँ भनेको हुँ । केही साथीहरू नियोजित रुपमै लाग्नुभयो र चन्द्र ढकाललाई नेतृत्वमा पुग्न हतारो भयो भनेर हल्ला मच्याउनुभयो ।

अहिले उहाँहरू सबैजनालाई मैले पहिले उठाएको एजेण्डा सही रहेछ भन्ने लागेको छ । अहिले सबै पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरू मेरो त्यही एजेण्डामा आउनुभएको छ । सबैजनाले प्रत्यक्ष भएन भने भर्चुअल भए पनि वा इलेक्ट्रोनिक भोटिङ गरेर पनि महासंघलाई जीवन्तता दिनुपर्छ, विधानको स्पिरिट अनुसार चल्नुपर्छ र महासंघलाई ट्र्याकमा हिँडाउनुपर्छ भनिरहनुभएको छ ।

पटकपटक स्थगित भएर अहिले पुनः मंसिर ११ देखि १३ गतेलाई साधारणसभा तथा निर्वाचनको मिति तोकिएको छ । बजारमा निर्वाचन परिणमको आकलन सुरु भएको छ । तपाईंले निर्वाचन जित्ने मुख्य आधारहरू चाहिँ के के हुन्

मेरो जितको सबैभन्दा बलियो आधार व्यवसायी मित्रहरूसँग मेरो सम्बन्ध नै हो । यो सम्बन्ध कुनै एउटा चुनावका लागि बनेको होइन । मेरो तीन दशक लामो व्यावसायिक यात्राका क्रममा बनेको हो र यो दिगो सम्बन्ध हो ।

त्यस्तै, मेरो आफ्नो व्यवसाय र व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म मेरो व्यावसायिक सञ्जाल छ । हाम्रो व्यवसायमार्फत हरेक जिल्लाका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौँ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला, नगर, एशोसियट तथा वस्तुगतका सबै क्षेत्रमा मेरो निकै राम्रो सम्बन्ध छ ।

सधैँ उहाँहरूसँगै रहने हुनाले मैले जिल्लास्तरमा व्यवसायीहरूले भोग्ने समस्या तथा चुनौतीहरू बुझेको छु । अर्को कुरा, म सानो व्यवसाय सुरु गरेर अहिलेको आइएमई ग्रुपको अवस्थामा पुगेकोले मलाई सानादेखि ठूला व्यवसायीका समस्या अवगत छ । यो नै मेरो चुनाव जित्ने मुख्य आधार हो । यसका साथै मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा निर्वाह गरेको भूमिका र मेरो व्यक्तिगत व्यवहारको पनि कुरा आउँछ ।

म सधैँ व्यवसायीको हकहित र अधिकारका पक्षमा लाग्ने गरेको छु । हरेक जिल्लामा फैलिएको मेरो आफ्नो व्यावसायिक नेटवर्क, जिल्लानगरका व्यवसायी साथीहरूसँगको सहज सम्पर्क, महासंघको नेतृत्व तहमा रहेर मैले गरेको काम र व्यवसायी साथीहरूसँगको सुमधुर सम्बन्ध नै मेरो जितको प्रमुख आधार हो ।

मेरो राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको व्यावसायिक नेटवर्क र यसबाट मुलुकमा वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधिहरू भित्र्याउन र स्थानीय व्यवसायीलाई अन्तर्राष्ट्रिय एक्पोजर गराउन पनि मेरो भूमिका महत्वपूर्ण हुन सक्छ । त्यसैले, यी समग्र आधारहरूले मेरो दाबीलाई शतप्रतिशत पुष्टि गरेको छ ।

तपाईं आफूलाई वरिष्ठ उपाध्यक्षको प्रबल दाबेदार भनिरहँदा अबका अध्यक्ष, वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन देखिँदैन नि !

उहाँको भित्री इच्छा चन्द्र ढकाल नै आउनुपर्छ भन्ने छ जस्तो लाग्छ । अध्यक्षले समर्थन गरे पनि नगरे पनि मेरो अध्यक्ष उहाँ नै हो । उहाँले गर्ने राम्रा कामहरू, निजी क्षेत्रको व्यावसायिक हितको लागि गर्ने हरेक क्रियाकलाप, प्रवद्र्धन र विकासका हरेक एजेण्डामा मेरो साथ र समर्थन रहने छ ।

उहाँले आफूलाई स्वतन्त्ररुपमा प्रस्तुत गर्नुभयो भने महासंघ, समग्र निजी क्षेत्र र उहाँ स्वयम्लाई नै राम्रो हुनेछ भन्ने लाग्छ ।

तपाईंले त महासंघको वर्तमान नेतृत्वको गतिविधिको खुलेरै विरोध गर्नुभएको छ । महासंघ अहिले नेतृत्वविहिन जस्तै भयो भन्नुभएको छ । तपाईंले यसो भन्ने आधार के हो

होइन, मैले कहिले पनि महासंघको विरोध गरेको छैन ।नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष, पदाधिकारीहरू तथा पूर्व अध्यक्षहरूप्रति मेरो सधैँ आदर र सम्मान रहेको छ । उहाँहरूको योगदानप्रति सम्मान छ ।

मैले त केवल के कुरा उठाएको हो भने अहिलेजस्तै साधारणसभा र निर्वाचन नगरी लामो समयसम्म महासंघलाई लैजाँदा, पुरानो कार्यसमितिको कार्यकाल सकिएको अवस्थामा, नयाँ निर्वाचित कार्यसमितिले जिम्मेवारी नलिएको अवस्थामा महासंघको भूमिका कमजोर हुन्छ कि, महासंघले उठाउनुपर्ने निजी क्षेत्रको आवाज कमजोर बन्छ कि, महासंघको विधि, प्रक्रिया र पद्धतिमाथि कसैले प्रश्न गर्छ कि भन्ने हो ।

महासंघको गौरवपूर्ण इतिहास, साख र प्रतिष्ठामा कसैले औँला उठाउने अवस्था नआओस भन्ने मेरो भनाइ हो । मैले अहिलेको संकटको अवस्थामा व्यवसायीको पीडामा मलम लगाउने काममा महासंघ अझ सक्रिय र प्रभावकारी बनोस् भन्न चाहेको मात्र हो । यो मेरो व्यक्तिगत भन्दा पनि समग्र व्यवसायीको र निजी क्षेत्रको हितको कुरा हो ।

वरिष्ठ उपाध्यक्ष पदमा तपाईंका प्रतिद्वन्द्वी किशोर प्रधानको तुलनामा तपाईं आफूलाई कतातिर बलियो ठान्नुहुन्छ

म अहिले एशोशिएट उपाध्यक्ष हुँ । महासंघमा मेरो यात्रामा म कि त सर्वसम्मतरूपमा आएको छु कि अत्यधिक बहुमतले विजयी भएको छु । यस हिसाबले एशोशिएटमा म सबैभन्दा बलियो उम्मेदवार हुँ ।

त्यस्तै जिल्ला र नगरको कुरा गर्दा ७७ जिल्लामा मेरो आफ्नो व्यावसायिक नेटवर्क छ । सबै उद्योग वाणिज्य संघका साथीहरूसँग व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । धेरै जिल्ला र नगरका साथीहरू हाम्रा व्यावसायिक साझेदार नै हुनुहुन्छ । महासंघको इतिहासमा जिल्ला/नगरका धेरैभन्दा धेरै साथीहरूले रुचाएको र अपेक्षा गरेको उम्मेदवार हुँ म ।

वस्तुगतको कुरा गर्दा, हाम्रो व्यवसाय धेरै सेक्टरमा रहेको छ । धेरै वस्तुगतका अध्यक्षहरूले मलाई नै समर्थन र सहयोग गर्नुभएको छ । सबै साथीहरूले महासंघको नेतृत्वमा एउटा सफल व्यवसायी आउनुपर्छ भन्नुभएको छ । सबै साथीहरूको साथ, समर्थन र सहयोग छ ।

त्यसो भए तपाईं आफूलाई महासंघमा अब्बल नै ठान्नुहुन्छ

व्यवसायी साथीहरूको साथ, समर्थन र सहयोगले नै मलाई बलियो बनाउने हो । अहिलेको परिस्थितिमा सबै व्यवसायी साथीहरूले मलाई सहयोग गर्नुभएको छ । यसले मलाई आफूले निर्वाचन जित्नेमा पूर्ण विश्वास छ ।

अहिले महासंघमा दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा छन् । तपाईका प्रतिस्पर्धी किशोर प्रधानले त सहमतिका लागि आफू अन्तिमसम्म पनि तयार रहेको बताउनुभएको छ । यसमा तपाईं के भन्नुहुन्छ

म सदैव सहमति र सहकार्य कै पक्षपाती हो । महासंघमा मेरो इतिहासलाई हेर्ने हो भने पनि दुईपटक कार्यसमिति सदस्य र एकपटक उपाध्यक्षमा म कि त सर्वसम्मत भएर आएको छु कि त सबैभन्दा बढी मतले विजयी भएर । म उपाध्यक्ष हुँदा पनि म सर्वसम्मत नै भएको हुँ । त्यसैले म त झन सहमति कै पक्षमा हो ।

सहमतिको सम्भावना कहिलेसम्म रहन्छ

सहमतिको सम्भावना त अन्तिमसम्म नै रहन्छ । मेरो विगतदेखिको इतिहास र महासंघमा प्रवेश हेर्नुभयो भने पनि यो प्रष्ट हुन्छ । मलाई विश्वास छ यो पटक पनि इतिहास दोहोरिन्छ । म सर्वसम्मत नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ ।

त्यसोभए तपाईंले चुनाव जित्ने बलिया आधारहरू के के हुन

हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैंक, इन्सुरेन्स, पर्यटन, सूचनाप्रविधि, ऊर्जा र मोटर्सलगायत धेरै क्षेत्र मार्फत जिल्ला नगरका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौँ ।

मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एशोसियट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जीत सुनिश्चत गर्छ ।

म उपाध्यक्ष भएदेखि नै महासंघकै काम र कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु । प्रदेश, जिल्ला/नगर तथा वस्तुगत संघका साथीहरूले मलाई विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । अधिवेशन, साधारण सभा हुन् या ठाउँ ठाउँमा भए गरेका महोत्सव या अन्य कार्यक्रमहरू, उहाँहरूले बोलाएको ठाउँमा मिलेसम्म र भ्याएसम्म म पुगेको छु ।

उहाँहरूले आफ्ना समस्या, गुनासा र अप्ठेराहरू राख्नुभएको छ । उहाँहरूका सुखदुःखका धेरै कुरा मैले सुनेको छु र सक्नेसम्म समाधानमा लागिपरेको पनि छु । यो कुरा साथीहरूले मनन पनि गर्नुभएको छ । यही नै मेरो जितको मुख्य आधार हो ।

तपाईंको प्रतिद्वन्द्वी उम्मेदवारले तपाईको उम्मेदवारी औपचारिकता मात्र हो भनेर भन्नुभएको छ नि

उहाँले के भन्नु भयो त्यो कुरामा जान चाहन्न । नेपाल उद्योग वाणिज्य महासंघ समग्र निजी क्षेत्रको छाता सङ्गठन हो । यसको नेतृत्वमा व्यावसायिक व्यक्ति तथा स्टेकहोल्डर आएमात्र त्यसले निजी क्षेत्रका व्यवसायीहरूको वास्तविक प्रतिनिधित्व हुन्छ ।

यस्तो व्यक्तिले सरकार र अन्य सरोकारवाला निकायहरूमा व्यवसायीका समस्याहरू र व्यवसायका विषयवस्तुहरू उठान गर्न सक्छ । व्यवसायी मैत्री कानुन, नीति, नियमका लागि पैरवी गर्न सक्छ र सम्बन्धित निकायले पनि उसलाई सुन्ने अवस्था हुन्छ ।

नेतृत्वमा हामीले वास्तविक व्यवसायीलाई पुर्‍याउन सकेनौँ भने हाम्रो आवाज पनि सुनिँदैन र समस्याहरूको समाधान पनि हुँदैन । त्यसैले मैले एउटा व्यवसायीको हिसाबले, सानादेखि ठूला सबै व्यवसायीको साझा प्रतिनिधिका हिसाबले उम्मेदवारी दिएको हुँ । सबै साथीहरूको सहयोग पाउने अपेक्षा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ५२ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५