रोनाल्डो हात्तीले वितण्डा मच्चाएपछि दाह्रा काटियो, रेडियो कलर जडान | Khabarhub Khabarhub

रोनाल्डो हात्तीले वितण्डा मच्चाएपछि दाह्रा काटियो, रेडियो कलर जडान


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

पछिल्लो दुई सातादेखि रोनाल्डोले भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा वितण्डा मच्चाएको थियो । रोनाल्डो भएको स्थान र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताए । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ ।

“दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, उनले भने। दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा कुनै असर नगर्ने र निकुञ्जमा पालिएका हात्तीको पनि काट्ने गरेको उनले बताए । गत वर्ष सौराहा क्षेत्रमा वितण्डा मच्चाएको रोनाल्डोले यस वर्ष मेघौली क्षेत्रमा दुःख दिएको हो ।

स्थानीयको केराखेती, घरमा भण्डार गरेर राखेको खाद्यान्न र घर गोठमा समेत क्षति पुर्‍याएको भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए ।

उनले भने, “मानिसको समेत ज्यान लिने अवस्था आएको थियो, निकुञ्ज, महानगर र प्रशासनमा ‘डेलिगेसन’ गयौँ, बल्ल सुनुवाइ भयो ।” रेडियो कलर जडानपछि पनि अझै ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरु एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् । नेपाल भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा रहेको घिमिरेले जानकारी दिए ।

निकुञ्जले पालेका ५७ हात्ती छन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जमा धु्रवे हात्तीलाई रेडियो कलर जडान गरिएको थियो ।

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ४० बजे

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी– म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा– शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक लगाएको

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके– चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन

गैँडाको आक्रमणबाट मृत्यु

चितवन– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।