चीनमा रहेका नेपाली स्वदेश फर्काउन बारम्बार छलफल, अझै टुंगोमा पुगेन सरकार ! | Khabarhub Khabarhub

चीनमा रहेका नेपाली स्वदेश फर्काउन बारम्बार छलफल, अझै टुंगोमा पुगेन सरकार !


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिएको चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषय अझै टुंगो लागेको छैन ।

चीनस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहेका नेपालीको नामावली संकलन गरेको एक साता वितिसक्दा पनि उनीहरुलाई कहिले ल्याउने भन्ने विषय अझै अन्योल छ ।

आज ( सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याइने मिति तय गरिने भनिएको थियो । तर, आजको मन्त्रिपरिषद् बैठकमा पनि चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषयमा छलफल भए पनि कहिले ल्याउने भनेर मिति भने तय नभएको स्रोतले बतायो ।

‘चीनम रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा बैठकमा छलफल त भयो तर, उनीहरुलाई कहिले ल्याउने भनेर मिति तय भने हुन सकेन,’ स्रोतले खबरहबसँग भन्यो, ‘आजको बैठकमा मिति तय नभएपछि भोलि बिहान १० बजे पुनः बैठक बस्ने तय भएको छ । सम्भवतः भोलिको बैठकले थप निर्णय गर्छ ।’

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अस्ट्रेलिया, श्रीलंका, बेलायत लगायतका देशहरुले आफ्ना नागरिक स्वदेश लगिसकेको छन् ।

सबै देशले आफ्ना नागरिक चीनबाट लगेपछि नेपालले पनि आफ्ना नागरिक स्वदेश ल्याउने विषयमा छलफल भने जारी नै राखेको छ ।

गत माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन मन्त्रालयका मन्त्री तथा सचिवहरुको उच्चस्तरीय बैठकले चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने निर्णय गरेको थियो ।

कोरोना भाइरस फैलिएको वुहान, हुवेई लगायतका क्षेत्रका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै गत आइतबार नै चीनस्थित नेपाली दुतावासमा निवेदन दिइसकेका छन् ।

चीनमा रहेका नेपालीले दूतावासमा निवेदन दिएको एक साता पूरा भइसक्दा पनि उनीहरुलाई कहिले स्वदेश ल्याउने भनेर सरकारले अझै निर्णय लिन सकेको छैन ।

चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु यतिबेला विभिन्न मन्त्रालय र मानवअधिकार आयोगसम्म पुगेर आफ्ना छोराछोरीको उद्धारका लागि भौतारिरहेका छन् ।

विमान तयारी अवस्थामा

चीनमा रहेका नेपाली स्वदेश ल्याउन नेपाल एयरलाइन्सले वाइडबडी विमान तयारी अवस्थामा राखिसकेको जनाएको छ ।

पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यका अनुसार विमानस्थलदेखि विमानभित्र खटिने पाइलट, एयर होस्टेज लगायतका सबै कर्मचारीलाई कोरोना भाइरसको विषयमा सचेतना समेत दिइसकेको छ ।

नेपालीलाई चीनबाट ल्याउन विमान तयारी अवस्थामा रहेको भए पनि आफूहरु कहिले जाने भनेर सरकारको निर्णय कुरेर बसेको पर्यटन मन्त्रालयका सूचना अधिकारी आचार्यले बताए ।

‘नेपाल एयरलाइन्सले चीनमा रहेका नेपाली ल्याउन विमान तयारी अवस्थामा राखेको छ, विमानस्थल र विमानभित्र खटिने सबै कर्मचारीलाई ट्रेनिङ दिइसकेका छौं, उनीहरुलाई आवश्यक पर्ने ‘पर्सनल प्रोटेक्टिभ केयर’का सामाग्रीहरु कसरी प्रयोग गर्ने ? कसरी जाने ? भनेर तयारी भइसकेको छ,’ पर्यटन मन्त्रालयका सुचना अधिकारी आचार्यले खबरहबसँग भने, ‘विमानस्थलसँग सम्बन्धित सबै तयारी पूरा भइसकेको छ, अब चीनमा रहेका नेपाली ल्याउन कहिले चीन जाने भन्ने सरकारको निर्णय कुरिरहेका छौं । मन्त्रिपरिषद्बाट के निर्देशन आउँछ त्यसपछि थाहा हुन्छ ।’

पर्यटन मन्त्रालयका सूचना अधिकारी आचार्यका अनुसार सरकारले निर्देशन दिएको ४८ घण्टाभित्र वाइडवडी विमान चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन जाने छ ।

स्वास्थ्य मन्त्रालयको तयारी कस्तो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा आवश्यक पर्नेे स्वास्थ्य तयारी स्वास्थ्य मन्त्रालयले गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार स्वदेश ल्याइने नेपालीलाई विमानस्थलदेखि क्वारेन्टाइनमा राखिने समय अवधिभर स्वास्थ्य सम्बन्धि विषयमा मन्त्रालयले तयारी गरिरहेको छ ।

चीनबाट स्वदेश ल्याइने नेपालीहरुको स्वास्थ्य निगरानीमा खटिने मेडिकल अफिसर, पारामेडिक्स, हेल्थ असिस्टेन्ट, नर्सिङ स्टाफ लगायतका ६० जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको विषयमा स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखिकरण तालिम समेत दिएको छ ।

काठमाडौंका अस्पतालको तयारी के छ ?

काठमाडौंका ३६ वटा हब तथा स्याटेलाइट अस्पतालहरुले १ सय ४७ वटा आइसोलेसन वेड कोरोना भाइरस संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखेको जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केही समय अघि केन्द्रमा रहेका सबै अस्पतालहरुलाई कोरोना भाइरसको संक्रमण रोक्न पुर्वतयारी गर्न र त्यसको विषयमा जानकारी गराउन समेत निर्देशन दिएको थियो ।

स्वास्थ्य मन्त्रालयको निर्देशनपछि काठमाडौंमा रहेका ३६ वटा सरकारी तथा निजी अस्पतालहरुले आफूहरुसँग १ सय ४७ वटा आइसोलेसन वेड तयारी अवस्थामा रहेको जनाकारी गराएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।

स्वास्थ्य मन्त्रालयले आइसोलेसन वेड रहेको जानकारी गराएका सबै अस्पतालसँग मंगलबार छलफल गर्ने तयारी समेत गरेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

‘हामीसँग काठमाडौं भ्यालीका ३६ वटा अस्पतालले १ सय ४७ वटा आइसोलेसन वेड तयार राखेका छौं भनेर जानकारी गराएका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘हामीले यसअघि शुक्रराज ट्रपिकल, पाटन र आर्मी अस्पतालाई तयारी अवस्थामा राखेका थियौं । अब हामीले यी अस्पतालहरुसँग भोलि छलफल गर्दैछौं ।’

चीनबाट स्वदेश फर्किने नेपालीमा कोरोनाको संक्रमण देखिएमा स्वास्थ्य मन्त्रालयले आइसोलेसन वेड भएका यी अस्पतालहरुमा उपचार गराउने विषयमा मंगलबार थप छलफल गर्ने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता दाहालको भनाइ छ ।

 सुरक्षित तवरले विमानस्थलसम्म पुर्‍याउँनै मुस्किलः दूतावास

कोरोना भाइरसको संक्रमण फैलिएपछि अन्य देशहरुले चीनमा रहेका आफ्ना नागरिक स्वदेश लगिसकेका छन् ।

चीनबाट आफ्ना नागरिक लगेको जापान, भारत, फिलिपिन्स, बेलायतमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।
चीनमा कोठाभित्र सुरक्षित रहेका आफ्ना नागरिक लगेका ती देशमा स्वदेश फर्काउने क्रममा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट स्वदेश ल्याउने नेपालीमा संक्रमणको जोखिम बढि हुने सम्भावना हुन्छ । मन्त्रालयले उनीहरुलाई स्वदेश ल्याउने क्रममा कम्तिमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिन सक्ने अनुमान गर्दै सोही अनुरुप पूर्वतयारी गरेको छ ।

चीनमा कोठाभित्रै रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको जनाइएको छ । तर, कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई कसरी सुरक्षित तरिकाले नेपाल ल्याउने भन्ने विषयमा चीनस्थित नेपाली दूतावास नै अन्योलमा छ । उनीहरुलाई विमानस्थलसम्म पु¥याउँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्नेमा दूतावास चिन्तित रहेको स्रोतले बतायो ।

‘चीनको कोरोना भाइरस संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउने भनेर सरकारले बोल्यो, तर चीन अहिले अस्तव्यस्त अवस्थामा छ,’ चिनस्थित नेपाली दुतावास स्रोतले खबरहबसँग भन्यो, ‘चीनको कोरोना भाइरस प्रभावित क्षेत्र अहिले बन्द छ, त्यहाँबाट नेपालीलाई सुरक्षित तरिकाले विमानस्थल र नेपालसम्म कसरी लैजाने भनेर अन्योलता छ ।’

चीनस्थित नेपाली दूतावासमा हालसम्म स्वदेश फर्काउन आग्रह गर्दै निवेदन दिनेको संख्या २ सय १५ पुगिसकेको चिनस्थित नेपाली दुतावास स्रोतले जाकारी दिएको छ ।

यो पनि पढौं

चीनमा रहेका नेपाली विद्यार्थीको याचनाः हामीलाई कोरोनाको संक्रमण छैन, उद्दार गरियोस  (भिडियोसहित)

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : २९ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन