थपिँदै सङ्क्रमित, सुस्त स्वाब सङ्कलन | Khabarhub Khabarhub

थपिँदै सङ्क्रमित, सुस्त स्वाब सङ्कलन


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएको हो ।

जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या १६४ पुगेको छ । पछिल्लोपटक मङ्गलबार राति थप ४१ जनामा सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या १६४ पुगेको हो । यसअघि मङ्गलबार साँझ १९ जना नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै जोड्दा मङ्गलबार नै ६० जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए ।

पछिल्लोपटक मङ्गलबार जिल्लाको जलेश्वर क्वारेन्टिनमा २८, बर्दिवासमा १५, मनराशिशवामा १३ र एकडाराको क्वारेन्टिनका चारजनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि जिल्लाको मध्य र सुदूर दक्षिणी भेगमा मात्र सङ्क्रमण पुष्टि हुँदै आएको थियो । पछिल्लोपटक मङ्गलबार एकैदिन १५ जनामा सङ्क्रमण पुष्टि भएपछि उत्तरी क्षेत्रको बर्दिवास नगरक्षेत्रमा त्रास नै फैलिएको छ । यसअघि सोमबारमात्र बर्दिवासका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षणको नतिजा (रिपोर्ट) आउने क्रम अत्यन्त सुस्त भएको जताततै गुनासो बढेको छ । मङ्गलबार ८८ क्वारेन्टिनमध्ये कतै पनि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हुन सकेन ।

यहाँ सोमबारसम्म एक हजार ९०९ जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये हालसम्म ७०८ जनाको मात्र परीक्षण नतिजा आएको छ । जसमा १६४ को पोजेटिभ र ५४४ जनाको नेगेटिभ परिणाम प्राप्त भएको जनस्वास्थ्य निरीक्षक झाले जानकारी दिए ।

स्वाब परीक्षण गरिएका मध्ये एक हजार २०१ को परिणाम आउन बाँकी छ ।

बर्दिवास–१ स्थित क्वारेन्टिनमा जेठ दोस्रो सातामै पिसिआर परीक्षण गरिएका कतिको अझै रिपोर्ट आएको छैन । जिल्लामा अहिले क्वारेन्टिन केन्द्र बढाएर ८८ पुर्‍याइएको छ । यी सबै केन्द्रमा गरी चार हजार १७४ शय्या छन् । यिनमा अहिले तीन हजार ४६२ जना बस्दै आएका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी ९७६ जना होम क्वारेन्टिनमा रहेका छन् । जिल्लामा अहिले १५६ श्ययाको आइसोलेशन कक्ष सञ्चालनमा छ ।

जसमा ९० जना शङ्कास्पद रहेका छन् । तर आवश्यक सामग्रीको अभावले स्वाब सङ्कलन भने दुई हजारभन्दा तल नै छ ।

हालसम्म जलेश्वर अस्पताल र नेपाली सेनाको परिकौलीस्थित रणभीम गणमा मात्र आइसोलेशन कक्ष सञ्चालनमा छ । बर्दिवासमा मङ्गलबार थपिएका सङ्क्रमितलाई त्यही नै आइसोलेशन कक्ष थपेर राखिएको र पिपरास्थित स्वास्थ्य केन्द्रमा तत्कालै ५० श्ययाको आइसोलेशन सञ्चालन गर्न लागिएको जनस्वास्थ्य निरीक्षक झाले बताए ।

जिल्लामा हालसम्म आरडिटी प्रणालीअनुसार एक हजार ९९ जनाको परीक्षण गरिएको छ । जसमा ९५६ को नतिजा नेगेटिभ र १४३ जनाको पोजेटिभ आएको छ । पोजेटिभ नतिजा आएका सबैको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण हुँदै गरेको कार्यालयले जनाएको छ ।

जिल्लाको सुदूर दक्षिणी क्षेत्रको सम्सी गाउँपालिका–५ पोखरभिण्डा सग्रामपुर क्वारेन्टिन केन्द्रबाट भागेका २४ जनामध्ये १४ जना सम्पर्कमा आइसकेका छन् । सोमबार मध्यरातअघि केन्द्रबाट भागेका मध्ये १० जनाको अझै खोजी गरिँदैछ ।

यसैगरी बर्दिवास–१ को क्वारेन्टिनमा स्वाब सङ्कलन गरिएकालाई गत शुक्रबार आरडिटी जाँच गरेर नेगेटिभ आएपछि १२ जना घर फर्काइएको थियो । घर फर्काइएका मध्ये दुई दिनपछि गत आइतबार एकजनाको पिसिआर नतिजा पोजेटिभ आएपछि उनलाई फेरि नियन्त्रणमा लिएर उनीसँग पछिल्ला दुईदिन संसर्गमा रहेकाहरुको खोजी अहिले टाउको दुखाई बनेको छ ।

पिसिआरको नतिजा नआउँदै घर फर्कन सम्बन्धितले हल्लाखल्ला मच्चाएर केन्द्रमा खान छाडेपछि आरडिटी गरेर छाडिएको थियो । आइसोलेशनमा पुर्‍याइएका उनीसँग संसर्गमा जोडिएकाको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  २ : १६ बजे

चिकित्सा आयोगद्वारा आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक 

काठमाडौं– चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक गरेको

नेपालको टेलिकम क्षेत्र ओरालो लागेको निष्कर्ष

काठमाडौं– नेपालको टेलिकम क्षेत्र धरासायी हुँदै गएको सरकार, अपरेटर र

बजारमा होलीको माहोल (तस्बिरहरू)

काठमाडौं– रङ्गै रङ्गको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ

गण्डकी प्रदेशका तीन लाख बढि परिवारको स्वास्थ्य प्रोफाइल तयार

पोखरा– गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

काठमाडौं– प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फको