आत्महत्या मानसिक रोग र हतासाको परिणाम | Khabarhub Khabarhub

आत्महत्या मानसिक रोग र हतासाको परिणाम

विज्ञ भन्छन् : बेलैमा रोग पहिचान गरेर सहयोग पुर्‍याउन सके रोक्न सकिन्छ



काठमाडौँ – आज, सेप्टेम्बर १०, विश्व आत्महत्या रोकथाम दिवस ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन् । यस हिसाबले एक वर्षमा ७ लाख ८८ हजार ४०० अर्थात झण्डै ८ लाख मानिसले आत्महत्या गर्छन् ।

नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार वार्षिक झण्डै ६ हजार मानिसले आत्महत्या गर्ने गरेका छन्, जसमा विभिन्न उमेर समूहका हुन्छन् ।

युवा तथा किशोरकिशोरी, सम्बन्धविच्छेद गरेर एक्लो भएका, तनावयुक्त वैवाहिक जीवन भएका, घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित महिला, यौन शोषण र बलात्कारमा परेका, प्रेममा असफल भएका र आर्थिक नोक्सानीमा परेका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन् ।

आत्महत्या मानसिक रोगको उपज रहेको र आत्महत्या गर्नेमध्ये ९० प्रतिशतमा मानसिक रोगकै मुख्य कारण हुने गरेको मनोविशेषज्ञहरू बताउँछन् ।

पहिलो कारण डिप्रेसन

पछिल्ला केही वर्षयता आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ, जसमध्ये ८५ प्रतिशत मानिसहरूले उदासीपन अर्थात डिप्रेसनका कारणले आत्महत्या गर्ने गरेको मनासिक रोग विशेषज्ञ डा. रितेश थापा बताउँछन् ।

उनी भन्छन्, ‘जब कुनै व्यक्तिले आफ्नो जीवनलाई निरन्तरता दिने केही उपाय देख्दैन, कतैबाट मद्दत पाउँदैन, अब केही पनि राम्रो हुनेवाला छैन र बाँच्नुको कुनै अर्थ छैन भन्ने निष्कर्षमा पुग्छ तब मानिसले आत्महत्या गर्छ ।’

त्यस्तै, अचानक कुनै अनपेक्षित नराम्रो समाचार सुनेमा वा तत्कालको कुनै घटनाले दिमाग र मनमा भावनात्मक परिवर्तन ल्याउँदा पनि ठिक र बेठिक छुट्याउन नसकेर आवेगमा आत्महत्या गर्छ । कहिलेकाहीँ सामाजिक प्रतिष्ठामा हानी र अपहेलनाका कारणले पनि मानिस आत्महत्याको निर्णयमा पुग्न सक्छ ।

डा. थापाका अनुसार लागु औषध तथा जाँड-रक्सीको कुलत, पारिवारिक समस्या, आर्थिक समस्या लगायत पनि आत्महत्याका कारण हुन् ।

बालबालिकाहरू पनि विभिन्न कारणले मानसिक तनाव झेल्नुपर्ने अवस्थामा हुन्छन् । यस्तो अवस्थाका बालबालिकाले पनि आत्महत्या गर्न सक्छन् ।

डा. थापा भन्छन्, ‘मानसिक समस्या जुनसुकै उमेरका मानिसलाई हुन्छ, बालबालिकालाई पनि हुन्छ । परिवारमा हुने झैझगडा, पढाइको अनावश्यक बोझ लगायतका कारणले बालबालिकामा मानसिक समस्या भइरहेको हुन्छ ।’

कतिपय बालबालिकाले यौन हिंसामा परेका कारणले पनि आत्महत्या गर्ने गरेका छन् । ‘यौन हिंसा भइरहेको हुन्छ तर कसैलाई भन्न सक्दैनन् अनि आत्महत्याको बाटो रोज्छन्,’ डा. थापाले खबरहबसँग भने, ‘कतिपयले परीक्षामा फेल भएपछि र लागुऔषधको लतमा पनि आत्महत्याको बाटो रोज्छन् ।’

कतिपय बालबालिकाहरूमा उमेरअनुसार व्यक्तित्व विकास हुँदै जाँदा कुनै पीडा सहन सक्ने क्षमता विकास भएको हुँदैन । यस्ता बालबालिकाहरू अभिभावकले थोरै गाली गर्दा पनि धेरै निराश हुने र आत्महत्याको बाटो रोज्ने हुन्छन् ।

नेपालमा वार्षिक झण्डै ६ हजारले गर्छन् आत्महत्या

प्रहरीमा आएको रिपोर्टअनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे ।

आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७८७ जनाले आत्महत्या गरे । यसमा ३ हजार १२३ जना पुरुष र २ हजार २०५ जना महिला छन् । त्यस्तै, १८९ जना बालक र २७० जना बालिका छन् ।

आत्महत्याको संख्या प्रत्येक वर्ष वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा देशभर वयस्कहरूमा ३ हजार ४१९ जना पुरुष र २ हजार १९८ जना महिलाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । गत आर्थिक वर्षमा २५२ जना बालक र ४१० जना बालिकाले आत्महत्या गरेका छन् । वयस्क र बालकबालिका गरी कुल ६ हजार २७९ जनाले आत्महत्या गरेका छन् ।

यो संख्या दैनिक सदरदर कम्तीमा १७ जना हो ।

काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्ष ५५८ जनाले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । उपत्यकामा गत एक वर्षभित्र ३४२ जना पुरुष र १८८ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै १८ जना बालक र १० जना बालिकाले आत्महत्या गरेका छन् ।

नेपालमा गत चैत ११ गते लकडाउन भएयता साउन पहिलो सातासम्ममा २ हजार २ सय जनाभन्दा बढीले आत्महत्या गरेका छन् । यो संख्या सदरदर दैनिक १९ जना हाराहारी छ ।

आत्महत्या गर्नेहरूले विष खाने, आगो लगाउने, झुण्डिने, हतियार प्रयोग गर्ने, हाम फाल्ने, पानीमा डुब्ने, करेन्ट लगाउने जस्ता तरिका अपनाउने गरेका छन् । धेरैजसो आत्महत्या झुण्डिएर हुने गरेको छ ।

वयस्कहरूमा महिलाभन्दा पुरुषको संख्या बढी र बालबालिकामा बालिकाको संख्या बढी छ ।

कुन प्रदेशमा कति आत्महत्या ?

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ मा १ हजार ३४१ जनाले र प्रदेश २ मा ८१० जनाले आत्महत्या गरेका छन् । त्यस्तै प्रदेश ३ मा ९३५ जनाले र गण्डकी प्रदेशका ५९४ जनाले आत्महत्या गरेका छन् ।

गत आर्थिक वर्ष प्रदेश ५ मा १ हजार २०४ जनाले, कर्णाली प्रदेशमा २९० जनाले र सुदूरपश्चिम प्रदेशमा ५४७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी आत्महत्या प्रदेश १ मा भएको छ ।

रोकथामका उपायहरू

आत्महत्या रोकथामका लागि मानसिक रोग विशेषज्ञ डा. थापाको सुझाव यस्तो छः

विशेष गरी डिप्रेसन भएको व्यक्तिलाई परिवारका सदस्यहरूले सहयोग गर्नुपर्छ । उसलाई एक्लो महसुस हुन दिनु हुँदैन । उसको मनमा नकारात्मक कुराहरू खेल्न नदिन तनावमुक्त पारिवारिक वातावरण बनाउनुपर्छ । धेरै मानसिक तनाव भएको हो भने अस्पताल अर्थात मनोचिकित्सककोमा लैजानुपर्छ ।

मनमा अनावश्यक रूपमा उत्पन्न हुने नकरात्मक विचारालई सकरात्मक बनाउन प्रयास गर्नुपर्छ । यसमा परिवारका सदस्यले सहयोग गर्नुपर्छ ।

कतिपय अवस्थामा डिप्रेसनका बिरामीले नजिकको आफन्त तथा साथीभाइहरूलाई अप्रत्यक्षरूपमा आफ्नो कुरा भन्न खोजिरहेका हुन्छन् । यस्तो अवस्था पहिचान गरेर उसलाई मनको कुरा भन्न प्रेरित गर्नुपर्छ र समस्या समाधानमा मद्दत गर्नुपर्छ । राम्रो हेरचाह र सहयोगबाट आत्महत्या न्युनीकरण गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ११ : ५२ बजे

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज

देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं– देशका विभिन्न स्थानमा भएका आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति

भिषा नियम उलङ्घन गरेमा अमेरिकाबाट निष्काशित गरिनेछ : अमेरिकी दूतावास

काठमाडौं– भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्कासन गर्ने भएको छ। 

नाउपा अध्यक्ष रञ्जिताले बोलाइन् बैठक, पार्टी एकताबारे छलफल हुने 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ