झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो | Khabarhub Khabarhub

झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्र्दै आएका छन् । पुल निर्माण भएको वर्षौँसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन् ।

लगातारको अविरल वर्षाले त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बाढीको जोखिममा रहेको छ । पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको स्थानीयवासी राजेश खत्रीले बताए ।

लगातार वर्षा भएपछि पुलमाथि नै पानी आउने गरेको बेला आवतजावत पनि बन्द हुने गरेको छ । स्थानीयवासीलाई बजार जान, दूध, दहीबजार पुर्‍याउन निकै सास्ती भएको खत्रीको भनाइ छ ।

जिल्लाका अन्य ठाउँका झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, रापकअछामको साँफे, बूढाबगरलगायत ठाउका पुलहरु जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर– जुकोट पुल पनि जोखिममा रहेको स्थानीयवासी बताउँछन् । “त्यहाँ पनि पुलमा नै पानी पुग्न लागेको छ, झोलुङ्गे पुल सधैँ वर्षात्को समयमा जोखिम बन्ने गरेको छ,” स्वामीकार्तिक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले भने ।

बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल अहिले खोलाको बगरमा लछारिएको छ । पानी आउने ठाउँमा मात्र थोरै माथि छ । त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताए ।

“पानीको बहाबले पुल जतिखेर पनि बगेर जाने भएकाले हामीले पानी परेको बेला स्थानीयवासीलाई आवतजावत गर्न रोक लगाएका छौँ”, उनले भने ।

पूर्वी–उत्तरी भेगको कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेका छन् । कर्णाली नदीमै रहेका वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

लगातारको वर्षाले बाढी आएर पुलै छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय अगुवा भरत रोकायाले बताए । उनले यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताए । वर्षामा अचानक पानीको बहाव बढेपछि जतिबेला पनि कर्णाली नदीले पुलसँगै स्थानीय यात्रुलाई पनि बगाउने सम्भावना रहेको उनको भनाइ थियो ।

त्यस्तै बूढीनन्दा नगरपालिका–२ र ८ वडालाई जोड्ने दैयामा रहेको पुल पनि अत्यधिक जोखिममा छ । “वर्षायाम लागेपछि त हामी त्यसमा आवतजावत पनि गदैनौँ, साह्रै डर लाग्छ”, बुढीनदा–६ दैयाकी मेनका खत्रीले बताए । उनले भने, “अहिले त नयाँ पुल बनिसकेको छ । तर हामीले धेरै वर्ष त्यही जीर्ण अवस्थामा रहेको पुलमा नै जोखिमपूर्ण यात्रा गर्दै आएका छौँ ।”

कोल्टी–कोटिला जोड्ने बड्डीगाड खोलामा रहेको पुल पनि जोखिममा परेको छ । पुल जोखिममा भएपछि यहाँका स्थानीय किसान, व्यापारी, विद्यार्थीलगायतलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।

कोल्टी बजारमा मुख्य गरी दही, दूध, दाउरा कोटीलाबाट नै आउने गर्छ । वर्षाको समयमा खोलाको डरले किसान नआउने भएकाले बजार सुक्खा भएको होटल व्यवसायी दुर्गा जोशीले बताए ।

वर्षायाममा नदीमा पानी बढ्न थालेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम–बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बूढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, सदरमुकाम नजिकै रहेको बाहुलीखोला पुल, दहकोट, मौरेलगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा छन् । पुल जोखिममा भएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : ५५ बजे

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद