काठमाडौं- अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो ।
मृत अवस्थामा फेला परेकामध्ये धवलागिरिमा १० र मालिका गाउँपालिकामा सात जना रहेका छन् ।
पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र निजको तीनमहिने छोरा तथा विष्णु नेपाली रहेका छन् ।
त्यसैगरी उक्त गाउँपालिकाकै बेपत्ता मध्येका तीन जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ ।
अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । उनका अनुसार उद्धार गरिएका मध्ये मालिका गाउँपालिका–७ का ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा र धवलागिरि गाउँपालिका–६ का २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या) तथा सोही स्थानका सात वर्षीय बालक सफल श्रीपालीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
दुई सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण
बाढी पहिराको कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर राहुँघाटखोला नजीकको बस्तीमा रहेका २१ घरधुरीका ८५ जनालाई त्यहाँस्थित गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी पहिरो पीडित धवलागिरि गाउँपालिका–६ कल्लेनी जहरेका ८९ जना व्यक्तिलाई उद्धार गरी स्थानीय शिवाङ्गस्थित हेम माविमा ५० र ३९ जनालाई आफन्तकामा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–५ देवीस्थानका तीन घरधुरीका १३ जनालाई दरबारचाउटाका ६ घरधुरीका ३३ गरी कूल ४६ जनालाई जनप्रिय मावि दरवाङमा राखिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहितको संयुक्त टोलीले बेपत्ता भएका व्यक्तिको खोजी, घाइतेको उद्धार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
प्रतिक्रिया