हुम्लामा चीनले सीमा मिचेकै हो | Khabarhub Khabarhub

हुम्लामा चीनले सीमा मिचेकै हो



नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही कर्णाली प्रदेशको प्रदेश सभामा प्रतिपक्षी दलका नेता हुन् । उनी हुम्ला जिल्लाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनले संघीय सरकारमा पर्यटनमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

हुम्लाको लिमीमा चीनले नेपाली भूमि मिचेर संरचनाहरू बनाएको भन्ने समाचार आएपछि शाही आफ्नै साथीहरूको टोली लिएर स्थलगत अनुगमनमा गए । अनुगमनका क्रममा शाही चीनले नेपाली मिचेको निष्कर्षमा पुगेका छन् । नेपालको भूमि मिचिएको प्रमाणसहित आफू सीमा क्षेत्रबाट फर्किंदै गरेको उनले खबरहबलाई बताए ।

केही दिनमै हुम्ला सदरमुकामा सिमिकोट पुगेर अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्ने उनको भनाइ छ । नेपालको परराष्ट्र मन्त्रालय र नेपाल स्थित चिनियाँ दूतावासले नेपाली भूमि नमिचेको बताइसकेका छन् ।

शाहीसँग खबरहबका लागि अमृतराज काफ्लेले शुक्रबार गरेको छोटो कुराकानी प्रस्तुत गरिएको छ ।

हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्ने विषयमा अध्ययनका लागि जानुभएको थियो । के रहेछ त्यहाँको अवस्था ?

हो, म अहिले पनि फिल्डमै छु । म आफ्नो गृहजिल्ला भएका कारणले पनि मिचिएको क्षेत्रको अध्ययनका लागि आएको हुँ । हाम्रो बोर्डरलाइन, जहाँ १२ नम्बर पिलर छ, त्यहाँ हाम्रो जमिन मिचेर चीनले घर बनाएको छ भनेर हामीले त पहिला नै भनिसकेका थियौँ ।

हामीले पहिला नै अहिले चीनले बनाएको घरभन्दा उतैपट्टि बाटो बनाएको थियौँ । नेपाल सरकारले नेपालको जमिन मिचिएको छैन भन्यो । सरकारमा मान्छेहरू पनि अनुगमनका लागि त्यहाँ पुगेका थिए, १२ नम्बर पिलरको अनुगमनमा । अहिलेको १२ नम्बर पिलर चीनले नयाँ बनाएको हो । नयाँ पिलर बनाउने विषय दुई देशका अधिकारीहरू बसेर सहमति भएपछि मात्रै हुनुपर्ने हो । त्यहाँ यस्तो भएको देखिँदैन ।

नेपालको भूमि मिचिएको छ । एघार नम्बर पिलर हराएको भनिएको थियो । अहिले त्यो भेटिएको भनिएको छ । अर्को डरलाग्दो कुरा के छ भने ९(१), १०, ८(१), ७(१), ६(१) र ५(१) नम्बरका पिलरहरू हाम्रो क्षेत्रमा पर्छन् । पाँच उनीहरूको हुन्छ, ६(१) हाम्रो पिलरलाई उनीहरूले आफ्नोतिर राखेर बाहिरबाट तारबार लगाएको देखिएको छ ।

त्यहाँको अवस्था हेर्दा के देखियो भने पहिला काँडेतार लगाउने अनि पिलर फुटाउनेजस्तो देखिएको छ । ६(१) पिलर हाम्रो भए पनि उनीहरूले आफ्नोतिर पर्नेजस्तै गरी तारबार लगाएका छन् ।

आफैँ अध्ययनमा जानुभयो, सरकारले त सीमा मिचिएको छैन भनेर विज्ञप्ति नै जारी गरेको थियो नि !

हाम्रो भूमि मिचिएको भन्ने त मसँग प्रमाण नै छ । म अहिले बाटोमै छु । केही दिनमै सिमिकोट पुगेर सबै प्रमाण देखाउँछु । यो सरकार केही देख्दो रहेनछ । हुम्ला भएर नदेखेको हो कि ! यता बोर्डरका मान्छेहरू आतिएका छन् ।

तीन ट्रक चामल त चीनले लोड भइसकेको भए पनि सीमा विवाद भयो भनेर आउन दिएको रहेनछ । अन्तर्राष्ट्रिय पारवहनअनुसार पनि चीनले त्यो सामान पठाइदिनुपर्छ । चीनबाट निःशुल्क दिने त होइन, यो त पैसा तिरेर नेपाल ल्याउन लागिएको हो । लोड भइसकेको सामान चीनले नपठाएको भनेर स्थानीयले मसँग गुनासो गरेका छन् ।

म आफैँ पुगेपछि सरकारले भनेको विषयमा झन् धेरै कुरा थाहा पाएँ । प्रदीप ज्ञवाली त कुरा बझ्ने मान्छे हुनुहुन्छ भन्ने लाग्थ्यो । उहाँले त चीनले सीमा मिचेकै छैन भनिदिनुभयो । मसँग प्रमाण छ । म मिचिएको क्षेत्रमै पुगेर स्थलगत अध्ययन गरेर प्रमाण लिएर आएको छु ।

त्यसो भए साँच्चै सीमा मिचिएकौ हो त ?

सीमा मिचिएकै छ । चीनले हामीलाई हेपेको छ । हामीले किनेको सामान समेत रोकेर राखेको छ । अर्को चीनले हेपेको भनेको के छ भने, म पहिलोपटक मन्त्री हुँदा टेलिफोनको टावर राख्न खोजेको थिएँ । चीनले अहिलेसम्म पनि टावर राख्न दिएको छैन । सीमा क्षेत्रमा उनीहरूकै टावरमार्फत सम्पर्क गर्नुपर्ने अवस्था छ । चीनले हेपेको विषयमा स्थानीय जनतासँग सरकारले आएर बुझे हुन्छ । मसँग त सबैको रेकर्ड छ ।

हुम्लाजस्तो जिल्लाको विकट गाउँका मानिसले सीमा विवादका कारण खान, लाउन पनि समस्या हुन्छ कि भन्ने चिन्ता समेत देखिएको छ । राज्यले सीमा क्षेत्रमा बसेका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनुपर्‍यो । मैले हेर्दाखेरि १२ नम्बर पिलर पहिलाको जङ्गे पिलर होइन । पुरानो निकालेर नयाँ बनाइएको छ । त्यो पिलरको रङले समेत नयाँ हो भन्ने स्पष्ट देखिन्छ ।

५(१) र ६(१) एक पिलर उनीहरूले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएका छन् । त्यहाँ उनीहरूको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रा गाउँलेहरू जाँदा ढुङ्ग हानेर लखेटेको रहेछ । हामी जानुभन्दा एक दिनअघि पनि उनीहरूले ढुङ्गा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन् ।

जङ्गे पिलर ढलेको देखिएको छ, उनीहरूले त्यसको ठाउँमा नयाँ पिलर बनाएका रहेछन् । यस्तो ज्यादती भएको छ । सीमा मिचिएको छ । पहिला पनि केही हेक्टर नेपाली भूभाग मिचिएको भनेर कुरा आएको भए पनि सरकारले होइन भनेको थियो । अहिले चिनियाँहरूले पिलरको ओरिजिन नै फरक पारेका छन् ।

नेपाली भूभागमा चीनले घरहरू बनायो भन्ने समाचार छ, नेपाल सरकारले त होइन भनिसकेको छ । चीनले पनि होइन भन्यो । तपाईंले चाहिँ के देख्नुभयो ?

चिनियाँहरूले घर बनाएको ठाउँभन्दा पश्चिम-उत्तरतिर पानीढलो छ । त्यहाँनेर त हामीले पहिला मोटरबाटो खनेको हो । हामीले बनाएको दुईतीन किलोमिटर बाटो त उनीहरूले मिचेका छन् । यताबाट जहाँ हामीले लाप्चा भन्छौँ, मानसरोवर कैलाश देखिने ठाउँ समेत उनीहरूले अहिले आफ्नो भनेर कब्जा गरेका छन् ।

बाह्र नम्बरको पिलर राखेको ठाउँबाट उनीहरूले यसरी मिलाएका छन् कि चीनको सीमा पुग्नुभन्दा दुई किमि नेपालतिरै चीनको भूमि भनेर जीपीएसले देखाउने बनाएका रहेछन् ।

तपाईं कर्णाली प्रदेशमा प्रतिपक्षी दलको नेता, पूर्वमन्त्री र कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ । सीमा मिचिएको भन्ने विषयमा सरकारलाई के भन्नुहुन्छ ?

म केही दिनमा सिमिकोट आएर रिपोर्ट बनाउँछु । अनि कांग्रेस केन्द्रीय समितिमा त्यो रिपोर्ट पेश गर्छु । सरकारले अनुगमनका लागि पठाएको टोलीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारीलाई माफी माग्न लगाएको भनेर समेत सुनेको छु । प्रदेशसभामा समेत यो विषय उठाउँछु ।

कांग्रेस केन्द्रीय समितिमा यो प्रतिवेदन पेश गरेपछि सिङ्गो कांग्रेसले नै यो विषयका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्छ । सरकारलाई भन्नुपर्ने कुरा पनि पार्टीले भन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ११ : ५७ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश