काठमाडौँ– नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए ।
मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न शनिबार १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।
यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १००, काठमाडौँ महानगरपालिका वडा नं १४ का अध्यक्ष शोभा सापकोटामार्फत वडाको सार्वजनिकस्थल एवं कोरोना सङ्क्रमितका घरघरमा रोप्न ४०० बिरुवा हस्तान्तरण गरिएको छ ।
बल्खु क्षेत्रको भुवनेश्वर मन्दिर वरपरसमेत गुर्जो रोपिने वडा कार्यालयले जनाएको छ । १४ नं वडामा हाल आइसोलेसनमा बसेका ३०० जनालाई गुर्जोको बिरुवा, गुर्जोबाट बनेको रोग प्रतिरोधी क्षमता बढाउने चियासमेत वितरण गरिएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं २ मैत्रीनगरस्थित आदर्श पाञ्चायन वाटिकामा रोप्न २०० बिरुवा वितरण गरिएको छ ।
कोरोना सङ्क्रमित भई आइसोलेसनमा बस्नुभएका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पनि गुर्जोको बिरुवासँगै चिया एवं धुलोसमेत उपलब्ध गराइएको छ । आचार्यका छोराले कुपण्डोलमा चलाएको दृग क्याफेमा पुगी हाँस्य कलाकार आचार्यसहित त्यहाँ कार्यरत कर्मचारीलाई समेत गरी १०० गुर्जोका बिरुवा वितरण गरिएको छ । यसअघि राजधानीका वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराए ।
उनले हालसम्म देशभर गरी ९५ हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिएको बताए।
गुर्जोको बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्याउँदै आउनुभएको छ । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।
गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।
गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिनुभएको छ । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ ।
प्रतिक्रिया