वर्ष २०७६ : कमेडी सिनेमाकै वर्चस्व | Khabarhub Khabarhub

वर्ष २०७६ : कमेडी सिनेमाकै वर्चस्व


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्षको तुलनामा यसवर्ष कमै सिनेमा प्रदर्शन भए । २०७५ सालमा ९६ वटा सिनेमा प्रदर्शनमा भएकोमा यस वर्ष जम्माजम्मी ५५ सिनेमा प्रदर्शनमा आएका छन् । यस्तै आधा दर्जन सिनेमा कोरोना भाइरसको सन्त्रासले रिलिज नै गरिएनन् ।

यस वर्ष प्रदर्शन गर्ने भनिएका सिनेमा ‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ रिलिज हुन पाएनन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर नेपाली सिनेमा क्षेत्रमा पनि पर्‍यो । यतिबेला नेपालका सबै सिनेमा हल बन्द छन् ।

सरकारले लकडाउन अगावै चैत ५ देखि नेपालका सबै हल बन्द गर्ने निर्णय गरेको थियो । वैशाख १८ गतेसम्म हल बन्द रहनेछन् । यो समयावधि थपिने सम्भावना पनि उत्तिकै छ ।

यस वर्ष रिलिज भएका सिनेमामध्ये केहीले धेरथोर चर्चा कमाए । केही सिनेमा प्रदर्शनमा आएको समेत दर्शकलाई पत्तो भएन ।

यस वर्ष पनि गतवर्षझैँ कमेडी सिनेमाकै वर्चश्व रह्यो । धेरै सिनेमा कमेडी जानरामा बने । केहीले नाफा कमाए भने धेरैको लगानी ‘बालुवामा पानी’ भयो ।

सिनेमा जात्रै जात्राको एक दृश्यमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ ।

यसवर्ष प्रदर्शनमा आएर चर्चा कमाउन सफल सिनेमा हो जात्रै जात्रा । जेठको पहिलो हप्ता प्रदर्शनमा आएको यो सिनेमाले समीक्षक र दर्शकबाट राम्रो तारिफ पायो ।

प्रदीप भट्टराईले निर्देशन गरेको यो सिनेमा कमेडी जानरामा निर्माण गरिएको हो । सन् २०१६ मा प्रदर्शनमा आएको सिनेमा ‘जात्रा’ को सिक्वेलले समीक्षात्मा वर्षकै सबैभन्दा धेरै तारिफ बटुल्यो । यो सिनेमामा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, दयाहाङ राई लगायत शीर्ष भूमिकामा छन् ।

यस्तै दशैँको अवसर पारेर असोजको पहिलो साता प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि दर्शकको साथ पायो । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि कमाइका हिसाबले वर्षकै बढी कमाउन सफल सिनेमा भनियो । त्यसो त नेपालमा सिनेमाको वास्तविक कमाइ न निर्मातालाई थाहा हुन्छ, न त वितरकलाई नै ।

विश्व सिनेमा जगतमा दिन प्रतिदिन नयाँ शैलीका सिनेमा बनिरहेका छन् । नेपाली दर्शक विदेशी वेब सिरिज र स्वैरकाल्पनिक कथामा रमाइरहेका छन् । यता नेपाली सिनेमेकर भने सधैँ एकनासका सिनेमा बनाउँदै डुब्ने गरेका छन् । नेपाली मेकरले समय दिएर स्तरीय सिनेमा बनाउन अझै इन्कार गरिरहेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, कर्मा, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

दीपकराज गिरी र केकी अधिकारीको सिनेमा ‘छ माया छपक्कै’ पनि वर्षभरि चर्चामा रह्यो । यो सिनेमा र ‘कबड्डी कबड्डी कबड्डी’ मा कसले बढी कमाइ गर्‍यो भन्ने चासो धेरै भयो । यी दुई सिनेमाले १४ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको दाबी निर्माताले गरेका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘छ माया छपक्कै’ ले समीक्षकबाट पनि राम्रो चर्चा कमायो । विषयवस्तुका हिसाबले ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ फरक भए पनि तीनै सिनेमा कमेडी जानरामा बनाइएका थिए । यी तीनै कमेडी सिनेमा वर्षका स्तरीय सिनेमाका रुपमा दरिए ।

सिनेमा कबड्डी ३ मा नायिका उपासना सिंह ठकुरी ।

यीबाहेक यसवर्ष प्रदर्शनमा आएको अर्को कमेडी सिनेमा हो, दाल भात तरकारी ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि सिनेमामा भएका कारण ‘दाल भात तरकारी’ ले राम्रो चर्चा कमायो । समीक्षकबाट भने राम्रो समीक्षा पाउन सकेन ।

समीक्षकले मात्र होइन, दर्शकले पनि राम्रो भनेनन् । हरिवंश आचार्यको स्क्रिप्ट र सुदन केसीको निर्देशनमा बनेको यो सिनेमाले लगानी भने सुरक्षित गर्न सक्यो ।

सिनेमा सेन्टी भाइरसको एक दृश्यमा दयाहाङ राई ।

यस्तै फागुन ९ गतेदेखि प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ ले पनि औसत व्यापार गर्‍यो । यो सिनेमाको चर्चा वर्षभरि नै रह्यो तर व्यावसायिक नाफा गर्न सकेन ।

कमेडी भनेर गरिएको प्रचार र चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ भनिएकाले दर्शकले सिनेमा हेरे तर राम्रो समीक्षा नपाउँदा व्यापारिक नाफा भएन ।

यीबाहेक दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ र ‘घर’ ले पनि हलबाटै आफ्नो लगानी सुरक्षित गरे । अरू सिनेमा डुबे ।

चर्चामा मात्र सीमित

यसवर्ष केही कमेडी सिनेमाले सफलता हासिल गरे पनि धेरै असफल रहे । चर्चामा रहेर पनि केही कमेडी सिनेमाले राम्रो व्यवसाय गर्न सकेनन् । न त समीक्षात्मक प्रतिक्रिया नै राम्रो पाए ।

यसै वर्ष प्रदर्शनमा आएका कमेडी जानराका सिनेमा ‘कुम्भ करण’, ‘रातो टीका निधारमा’, ‘घामड शेरे’, ‘माछा माछा’, ‘बाह्र सत्ताइस’, ‘चच हुई’ लगायतले नराम्रो असफलता बेहोरे ।

सिनेमा घामड शेरेमा निश्चल बस्नेत । यो सिनेमा चर्चामा रहेर पनि असफल रह्यो ।

चर्चित अनुहार सौगात मल्ल, निश्चल बस्नेत, आर्यन सिग्देल र स्वस्तिमा खड्काका सिनेमा पनि असफल भए । निश्चल र स्वस्तिमाको अभिनय रहेको ‘घामड शेरे’ जसरी चिप्लियो, त्यसरी नै चिप्लियो आर्यन सिग्देलको ‘चचहुई’ ।

दुवै मेकरले कमेडी सिनेमा भनेर प्रचार गरेका थिए तर ‘कन्टेन्ट’ ले दर्शक हलसम्म तान्न सकेन । सौगात मल्लको सिनेमा ‘माछा माछा’ पनि असफल रह्यो । यसलाई क्राइम कमेडी भनिएको थियो ।

सिक्वेलकै दबदबा

यसवर्ष हिट भएका दुई सिनेमा ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ यसअघिका हिट सिनेमाका सिक्वेल हुन् । तीबाहेक ‘छ माया छपक्कै’ पनि दीपकराज गिरीको त्यस्तो समूह हो, जसको सिनेमा उस्तै हुन्छ भन्ने दर्शकलाई परेको छ । कतिपय दर्शकलाई त ‘छ माया छपक्कै’ हिट सिक्वेल ‘छक्का पञ्जा’ कै सिरिज हो भन्ने लागेको पनि बताएका थिए ।

दर्शकले अरू सिनेमाभन्दा सिक्वेल रुचाएका छन् । यस वर्ष पनि कमेडी सिनेमा निर्माण हुने क्रम चलिरह्यो । विदेशी सिनेमाले नेपाली सिनेमाको बजार वर्षभरि नै प्रभावित पारे ।

दर्शक झनै निराश

विश्व सिनेमा जगतमा दिन प्रतिदिन नयाँ शैलीका सिनेमा बनिरहेका छन् । नेपाली दर्शक विदेशी वेब सिरिज र स्वैरकाल्पनिक कथामा रमाइरहेका छन् । यता नेपाली सिनेमेकर भने सधैं एकनासका सिनेमा बनाउँदै डुब्ने गरेका छन् । नेपाली मेकरले समय दिएर स्तरीय सिनेमा बनाउन अझै इन्कार गरिरहेका छन् ।

यसवर्ष प्रदर्शनमा आएका धेरैजसो सिनेमा कामचलाउ भए, धेरै दर्शकको मन जित्न सकेनन् । वर्षको अन्तिममा रिलिज भएको ‘आमा’ ले धेरथोर चर्चा बटुल्यो ।

वर्ष २०७६: यी सिनेमा जुन धेरै चर्चामा आए र हराए

केही कमेडी सिनेमाले चर्चासँगसँगै कमाइ पनि गरे । अरुले नेपालबाट लगानी उठाउन सकेनन् । बलिउडले वेब सिरिज नै सिनेमाभन्दा राम्रा बनाइरहेका वेला नेपालमा भने अझै पनि झारा टार्ने सिनेमा निर्माण भइरहेका छन् ।

रहरै–रहरले सिनेमा निर्माण गर्ने मेकरले यसपटक पनि नेपाली सिनेमाको बजार बिगार्न मद्दत गरेको आरोप पनि लागेको छ । नेपाली सिनेमा युट्युबमा केही महिनामै रिलिज हुँदा हलमा दर्शकको संख्या झनै पातलिँदै गएको छ ।

सबै सिनेमामा उस्तै कमजोरी

यस वर्ष पनि नेपाली सिनेमामा एकनासका बन्ने क्रम जारी रह्यो । सस्ता र दर्शकलाई चित्त नबुझ्ने स्क्रिप्ट नै सबैभन्दा ठूलो समस्या हो । कथामा प्रस्तुति नपुग्दा दर्शक भड्किए ।

राम्रो स्क्रिप्टमा राम्रो सिनेमा बन्न सक्छ तर यसवर्ष राम्रा स्कृिप्टको खडेरी देखियो ।

सिनेमा कुम्भ करणमा निशा अधिकारी ।

यस वर्ष रिलिज भएका निकै कममात्र सिनेमाका कथाले दर्शकलाई मनोरञ्जन दिए । सिनेमा नबुझी कथामा लगानी गर्नेहरू गत वर्षको तुलनामा केही कम भए पनि क्रम भने रोकिएन । आशा गरिएका र राम्रा स्क्रिप्ट भएका भनिएका ‘घामड शेरे’, ‘चचहुई’ र ‘हजार जुनीसम्म’ जस्ता सिनेमाले पनि दर्शकको मन जित्न सकेनन् ।

सिनेमाको कथामा ट्रिट पुगेन । कमेडीका नाममा दर्शकलाई विना लजिकका कथा दिन खोज्दा धेरै सिनेकर्मी चुके । प्रस्तुतीकरणमा ‘आमा’, ‘जात्रै जात्रा’ लगायतका सिनेमाले भने चर्चा बटुले ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही