एन्फाकै पदाधिकारीका फुटबल टोली म्याच फिक्सिङमा ? | Khabarhub Khabarhub

एन्फाकै पदाधिकारीका फुटबल टोली म्याच फिक्सिङमा ?



काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत नवौं चरणको तेस्रो खेलमा हिमालयन शेर्पा र सरस्वती युवा क्लब आमुन्ने–सामुन्ने भएका थिए । माघ १४ गतेको पहिलो खेलमा दुई क्बल एकअर्काविरुद्ध ‘जीत’ निकाल्न मैदान उत्रिएका थिए ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा खेलको नतिजा भने ‘अप्रत्यासित’ निस्कियो । यसअघिका ८ खेलमध्ये एउटामा बराबरीबाहेक अरू सबैमा हार व्यहोरेको सरस्वतीले हिमालयन शेर्पाको पोस्टमा ४ गोल प्रहार गरेको थियो । सरस्वतीविरुद्ध ३ गोल प्रहार गर्दा पनि हिमालयनले हार टार्न सकेन ।

खेलको नतिजा अप्रत्यासित नै थियो सायद । खेलपछिको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षकलाई प्रश्न सोधियो– आज मिलेमतो (फिक्सिङ) भएको हो ? प्रशिक्षकहरूले स्पष्ट जवाफ दिन सकेनन् ।

म्याच फिक्सिङको आरोप लागेका दुवै क्लब एन्फाको नेतृत्व गरिरहेका वरिष्ठ पदाधिकारीका हुन् । हिमालयन शेर्पा क्बल एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सञ्चालन गरिरहेका छन् । एन्फाका उपाध्यक्ष शिक्षित पराजुली सरस्वती क्लबका अध्यक्ष हुन् ।

शहीद स्मारक ए डिजिजन लिगअन्तर्गत माघ १४ गतेको खेलमा एक–अर्काविरुद्ध मैदान उत्रिएका हेमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबका कप्तान (साथमा रेफ्री पनि)

एन्फाकै अध्यक्ष र उपाध्यक्षका क्बलबीच भएको भनिएको म्याच फिक्सिङबारे अनुसन्धान नहुने आशंका पनि थियो तर खेलको केही दिनमै एन्फाले अनुसन्धान शुरू गर्‍यो ।

एन्फाको इन्टिग्रिटी अफिसर नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) सुदीप आचार्य नेतृत्वको टोलीले खेलमा मिलेमतो नै नभई ‘मिलेमतोको प्रयास’ भएको फेला पार्‍यो । टोलीले गरेको अनुसन्धानका आधारमा एन्फाको अनुशासन समितिले सरस्वती युवा क्लबका तत्कालीन कप्तान दीपेश श्रेष्ठलाई खेलमा मिलेमतोको प्रयास (उद्योग) गरेको आरोपमा कारबाही गरिसकेको छ ।

एन्फाको अनुशासन समितिले श्रेष्ठमाथि २ वर्ष फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइदिएको छ । साथै, ५० हजार जरिवाना तिराउने निर्णय पनि गरेको छ ।

एन्फाले गरेको अनुसन्धानमा सरस्वतीका कप्तान श्रेष्ठले हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीसमक्ष म्याच फिक्सिङको प्रस्ताव राखेको देखियो ।

रेलिगेशन क्षेत्रमा रहँदा श्रेष्ठले गिरीसमक्ष मिलेमतोका लागि प्रस्ताव गरेको तर गिरीले अस्वीकार गरेको अनुसन्धानमा भेटिएको छ ।

दुवै टोलीलाई रेलिगेशनको डर हुँदा नवौं चरणमा श्रेष्ठले मिलेमतोको प्रयास गरेका थिए । नवौं चरण दोस्रो दिनको पहिलो खेलमा हिमालयन शेर्पा र सरस्वती क्लब भिडेका थिए । उक्त खेलमा सरस्वतीले शेर्पालाई ४–३ गोल अन्तरले पराजित गर्दै पहिलोपटक एकै खेलबाट ३ अंक थपेको थियो ।

ए डिभिजन लिगमा सरस्वतीका लागि हिमालयन शेर्पासँगको जीत नै पहिलो र अन्तिम बन्यो । १ जीत र १ बराबरीसहित ४ अंकमा लिग समापन गर्दा सरस्वती क्लब मछिन्द्र क्लब (च्याम्पियन बनेको टीम) सँग सबैभन्दा धेरै ६–१ गोल अन्तरले पराजित भएको थियो । लिगको बलियो मानिएको आर्मीसँग भने १–० गोलको साँघुरो अन्तरले पराजित भएको थियो ।

सरस्वतीसँग पराजित शेर्पाले लिगको अन्तिम १०औं स्थानमा रहँदै टुङ्ग्याउने क्रममा मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । शेर्पाले मछिन्द्रलाई सरस्वतीसँग खेल्नुभन्दा १ खेल अगाडि पराजित गरेको थियो ।

मिलेमतो भएका भन्दै समाचार आएपछि उक्त खेलमा अनुसन्धान पनि भयो । जसमा सरस्वतीका कप्तानले मिलेमतोका लागि प्रस्ताव गरेको देखियो । उक्त खेलको भोलिपल्टदेखि नै श्रेष्ठ र गिरीलाई अनुसन्धानमा तानेर अभ्यासमा प्रतिबन्ध लगाइएको थियो । सार्वजनिकरूपमा भने उनीहरू अनुसन्धानमा तानिएको जानकारी दिइएको थिएन ।

सरस्वतीका कप्तान श्रेष्ठले शेर्पाका गोलकिपर किशोरसँग सुरुमा ‘फेसबुक म्यासेन्जर’ मा कुरा गरेका थिए । फेसबुकमा नम्बर मागेपछि फोन गरेरै मिलेमतोका लागि आग्रह गरेको अनुसन्धानमा संलग्न एन्फा इन्टिग्रिटी अफिसर सुदीप आचार्यले बताए ।

अनुसन्धानमा संलग्न आचार्यका अनुसार श्रेष्ठले गिरीसँग मिलेमतोमा साथ दिँदा दुवै जनालाई आम्दानी हुने प्रस्ताव समेत गरेका थिए ।

हिमालयन शेर्पा क्लबको टीम

म्याच फिक्सिङ प्रकरणको अनुसन्धानका क्रममा आफूले क्लबका पदाधिकारीदेखि टिमका अन्य खेलाडीसँग पनि सोधपुछ गरेको आचार्यको भनाइ छ । केही खेलाडीलाई निगरानीमा राखेको उनले सुनाए । तर, मिलेमतोमा सरस्वतीका कप्तान श्रेष्ठबाहेक अन्य खेलाडीको संलग्नता भएको नदेखिएको आचार्यको भनाइ छ ।

झण्डै दुई हप्ता लगाएर गरिएको अनुसन्धानको मुख्य प्रमाण भने सरस्वतीका कप्तान श्रेष्ठ र शेर्पाका गोलकिपर गिरीबीचको फोन र म्यासेन्जरमा भएको कुराकानीलाई मानिएको आचार्यले बताए ।

लिगका ९१ खेलमध्ये शेर्पा र सरस्वतीबीचको उक्त खेलमा मात्रै मिलेमतोको आशंकामा अनुसन्धान गरिएको थियो ।

मिलेमतो नै भएको ठोकुवा गर्ने प्रमाण भने फेला नपरेको आचार्य बताउँछन् । ‘शेर्पाका गोलकिपर (गिरी) लाई सरस्वतीका कप्तानबाट मिलेमतोका लागि प्रस्ताव आयो । गिरीले त्यसलाई स्वीकार गरेनन्,’ आचार्य भन्छन्, ‘अनुसन्धानका क्रममा भेटिएको तथ्य र प्रमाणले मिलेमतो गरेर खेलको नतिजा उल्ट्याएको वा प्रभावित पारेको देखिएन ।’

सरस्वतीका कप्तान श्रेष्ठले गरेको प्रस्ताव उनी एक्लैको थियो वा त्यसमा क्बलको माथिल्लो तहका पदाधिकारीको पनि साथ थियो भन्ने विषयमा भने अनुसन्धान प्रतिवेदनमा केही उल्लेख गरिएको छैन । आचार्य भने क्बलका पदाधिकारीसँग बयान लिँदा पनि श्रेष्ठ बाहेक अन्यको संलग्नता नदेखिएको बताउँछन् ।

समयमा इन्टिग्रिटीलाई जानकारी नदिँदा म्यानेजरमाथि कारबाही

खेल मिलेमतो प्रकरणमा कारबाही भोग्ने अर्का व्यक्ति हुन्, हिमालयन शेर्पाका म्यानेजर विजेन पुडासैनी । सरस्वतीका कप्तान श्रेष्ठबाट मिलेमतोको प्रस्ताव आएपछि शेर्पाका गोलकिपर गिरीले माघ १२ गते आफ्नो टोलीका प्रशिक्षक मिन बस्नेतलाई जानकारी गराए ।

प्रशिक्षक बस्नेतले त्यस विषयमा आफूले म्यानेजर (पुडासैनी) लाई जानकारी दिने बताए । तर, म्यानेजर पुडासैनी त्यस दिन काठमाडौं थिए । प्रशिक्षक बस्नेतले दोस्रो दिन (माघ १३ गते) मात्रै त्यस विषयमा पुडासैनीलाई जानकारी गराए ।

उनी होटल पुगेपछि गोलकिपर प्रशिक्षक बस्नेतले व्यवस्थापक पुडासैनीलाई सरस्वतीबाट मिलेमतोको प्रस्ताव आएको बताएका थिए । पुडासैनीले खेलमा ‘फोकस’ हुनुस् यो कुरा म हेरौंल भन्दै हल्कारूपमा लिए ।

सरस्वती युवा क्लबको टीम

‘म्याच फिक्सिङका लागि कसैले प्रस्ताव गरे तत्काल आफ्नो व्यवस्थापकलाई जानकारी गराउनुपर्छ । व्यवस्थापक नभए आफ्नो सिनियरलाई जानकारी गराउनु पर्छ,’ इन्टिग्रिटी अफिसर आचार्यले भन्छन्, ‘गोलकिपर गिरीले आफ्नो सिनियरका रूपमा प्रशिक्षकलाई भने तर प्रशिक्षकले व्यवस्थापकलाई भन्न केही ढिला गरे । व्यवस्थापकले अनुसन्धान शुरू हुँदामात्रै हामीलाई बताए ।’

व्यवस्थापक पुडासैनीले आफूलाई आएको सूचना माथिल्लो तहसम्म ‘रिले’ गर्नुपर्ने थियो । खेल मिलेमतो गर्ने प्रस्तावजस्तो गम्भीर विषयलाई पनि हल्कारूपमा लिएको भन्दै एन्फाले उनलाई कारबाही गरेको छ । एन्फाको अनुशासन समितिले पुडासैनीलाई ३० हजार रुपैयाँ जरिवाना तिराउने र ३ महिना प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गोलकिपर प्रशिक्षक बस्नेतलाई भने चेतावनी मात्रै दिएको छ ।

नतिजा कसरी पल्टियो भन्ने प्रश्नमा आचार्य भन्छन्, ‘यो घटनामा नतिजाले धेरै आशंका उब्जायो । हामीले अनुसन्धान गर्दा गोलहरू अप्राकृतिकरूपमा भएका छैनन् ।’

अध्यक्षहरूसँग पनि सोधपुछ !

यस घटनामा दुई जनालाई कारबाही गरियो भने एक जनालाई चेतावनी दिएर छाडियो । सरस्वतीका कप्तान श्रेष्ठलाई २ वर्ष प्रतिबन्ध तथा ५० हजार जरिवाना, शेर्पा क्लबका व्यवस्थापक पुडासैनीलाई ३ महिना प्रतिबन्ध र ३० हजार जरिवाना तथा शेर्पा क्लबका गोलकिपर प्रशिक्षकलाई कडा चेतावनी दिइयो । अनुसन्धानले क्लबहरूलाई किन कारबाही गर्न सकेन ? कि संलग्नता देखिएन ? कि ‘ठूला’ व्यक्तिहरूका क्लब भएकैले छुट पाए ? यस्ता प्रश्नहरू उब्जिएका छन् ।

मिलेमतोका विषयमा क्लबमाथि पनि अनुसन्धान हुनुपर्ने एन्फाका पूर्वअध्यक्ष गणेश थापाको भनाइ छ । ‘सरस्वती युवा क्लब तथा हिमालयन शेर्पा क्लबको बीचमा भएको खेलमा कारबाही भएको सन्दर्भमा प्रतियोगिता नियमावली धारा २१ (७) बमोजिम कारबाही भएको भने पनि सो धारामा उल्लेख भएअनुसार कारबाही भएको देखिँदैन । एउटै प्रतियोगिता नियमावलीअनुसार कारबाही भएता पनि सरस्वती क्लबको निमित्त एउटा कारबाही हिमालयन शेर्पा क्लबको निमित्त एउटा कारबाही गरेको देखिन्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानकारीको लागि हिमालयन शेर्पा एन्फा अध्यक्षको क्लब हो । यस घटनामा क्लबका पदाधिकारीको पनि संलग्नता हुनसक्दछ । त्यसकारण यसलाई सम्बन्धित निकायले गम्भीररूपले छानबिन गर्नु पर्दछ ।’

अनुसन्धानमा क्लबहरूको संलग्नता नदेखिएको आचार्यले बताए । उक्त खेलको नतिजालाई लिएर दुवै क्लबका अध्यक्ष अर्थात् एन्फा अध्यक्ष कर्मा छिरिङ शर्पा र एन्फाका उपाध्यक्ष तथा सरस्वती युवा क्लबका अध्यक्ष शिक्षित पराजुलीसँग पनि अनुसन्धानका क्रममा सोधपुछ गरिएको एन्फा स्रोतले खबरहबसँग बताएको छ ।

‘अध्यक्ष शेर्पा र उपाध्यक्ष पराजुलीसँग पनि सोधपुछ भएको हो । उनीहरूलाई एक्ला–एक्लै राखेर सोधपुछ भएको हो,’ स्रोतले खबरहबसँग भन्यो ।

फौजदारी कानून किन लगाइएन ?

नेपालको कानूनले अपराध मानेको खेल मिलेमतोलाई एन्फा आफैँले अनुसन्धान गर्नुमा धेरैले ‘ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भनेका छन् । पदाधिकारीकै क्लबहरू मिलेमतोमा लाग्दा ‘फेयर’ अनुसन्धान नहुने आशंका पनि धेरैको छ ।

अनुसन्धानमा संलग्न एन्फाका इन्टिग्रिटी अफिसर आचार्य भने घटनामा लेनदेनको कुरा स्पष्ट नदेखिएका कारण फौजदारी कानूनअनुसार नभई प्रशासनिक कारबाही भएको बताउँछन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता बेलबहादुर पाण्डे एन्फाले उजुरी नदिँदासम्म आफूहरूले अनुसन्धान नगर्ने बताउँछन् ।

ए डिभिजन लिगको खेलमा मिलेमतो भएको विषयमा अनुसन्धानको माग गर्दै एन्फाको एउटा टोली सीआईबीमा पुगेको थियो । उनीहरू अनौपचारिक छलफल गरेरमात्रै फर्किएको पाण्डेले सुनाए । ‘एन्फाबाट एउटा टोली आएको थियो, उहाँहरूले खेलमा मिलेमतो भएको जस्तो देखियो भन्दै अनौपचारिक छलफल मात्रै गर्नुभयो । पछि आउँछौँ भनेर जानुभएको थियो तर आउनुभएन,’ सीआईबीका प्रवक्ता पाण्डेले भने, ‘सायद उहाँहरूले प्रशासनिक कारबाहीमात्रै गर्ने निर्णय गर्नुभयो होला । उक्त विषय यहाँसम्म आइपुगेको छैन ।’

हिमालयन शेर्पाका गोलकिपर

फिफा र एएफसीको शून्य सहनशीलता !

एन्फाको अनुशासन समितिले प्रतियोगिता नियमावलीको नियम २१ को उपनियम (७) अनुसार सरस्वतीका कप्तान श्रेष्ठमाथि कारबाही गरिएको जनाएको छ । उक्त बुँदामा भनिएको छ, ‘क्लब र खेलाडीबीच मिलेमतो भएको सम्बन्धमा सम्बन्धित क्लबबाट उजुरी परेको अवस्थामा वा संघ आफैँले छानविन गर्दा मिलेमतो ठहर भएमा सो खेलाडीलाई आर्थिक जरिवाना साथै देशको प्रचलित कानून तथा फिफा र एएफसीको नियमअनुसार कारबाही हुनेछ ।’

विश्व फुटबलको नियामक निकाय फिफा र एसिया क्षेत्र हेर्ने एसियन फुटबल फेडेरेसनले म्याच फिक्सिङमा आफ्नो शून्य सहनशिलता रहेको बताउँदै आएको छ ।

एन्फाको अनुसाशन समितिले एएफसी डिसिप्लिनरी एण्ड इथिक्स कोर्डको नियम ६६ को उपनियमलाई आधार मान्दै श्रेष्ठमाथि कारबाही गरेको छ । कुनै खेलाडीले फिक्सिङ गरेको प्रमाणित भए उसलाई आजीवन फुटबलको प्रतिबन्ध लगाउने र ३० हजारदेखि ५० हजार अमेरिकी डलर जरिवाना गर्ने डिसिप्लिनरी एण्ड इथिक्स कोर्डमा उल्लेख गरिएको छ ।

नेपालको कानूनले फिक्सिङलाई राज्यविरुद्धको कसुर मानेको छ । मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५१ (३) मा ‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरूको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हँुदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ,’ भनेको छ ।

यो बुँदाले अन्तर्राष्ट्रिय खेलमा मात्रै हो कि भन्ने संकेत गरे पनि एन्फा महासचिव इन्दमान तुलाधर घरेलु फुटबलमा पनि यसैअनुसार कारबाही हुने बताउँछन् ।

यसअनुसार उक्त घटना प्रमाणित भए ३ वर्षको कैद सजाय र ३० हजार जरिवाना हुनसक्छ । तर, श्रेष्ठलाई इन्टिग्रिटी अफिसरको रिपोर्टका आधारमा अनुशासन समिति आफैले कारबाही गरेको हो ।

यसअघि पनि भएको थियो म्याच फिक्सिङ 

नेपाली खेलकुदमा म्याच फिक्सिङको घटना भने यो पहिलो होइन । यसअघि २०७२ सालमा तत्कालीन राष्ट्रिय टोलीका कप्तान सागर थापासहित चार खेलाडी र प्रशिक्षक अञ्जन केसी म्याच फिक्सिङमा मुछिएका थिए ।

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापालाई फिफा र एएफसीले आजीवन प्रतिबन्ध लगाएका थियो । नेपालको कानूनले भने उनीहरूलाई सफाइ दिइसकेको छ । २०७५ साल जेठ २५ गते विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

उनीहरूले सन् २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा खाएर हराएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध अनुसन्धान गरि राष्ट्रिय विप्लवको मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतका तत्कालीन अध्यक्ष (न्यायाधीश) बाबुराम रेग्मीसहित न्यायाधीशहरु प्रमोदकुमार श्रेष्ठ वैद र नारायणप्रसाद पोखरेलको इजलाशले ६ जनाले राष्ट्रिय विप्लव गरेको ठहर नहुने भन्दै सफाइ दिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ०१ बजे

अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह

गण्डकी– अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले

संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र

विहार चुनाव : नेपाल-भारत सीमानाकामा आवागमन बन्द

काठमाडौं– भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय