भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो प्रवासी नेपाली « Khabarhub

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो प्रवासी नेपाली


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ ।

कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा बनाइएका क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले बताएका छन् ।

सीमामा अलपत्र परेकाहरुलाई दुई दिन अगाडि नेपाल ल्याइएको हो । लीलाराम मावि र भैरहवा नमूना माविको क्वारेन्टाइनमा बसेका प्रवासी नेपालीले भारतीय प्रहरीले नै गाडी व्यवस्था गरेर पठाएको बताए । नमूना माविको क्वारेन्टाइनमा बसेका कपिलवस्तु महाराजगञ्जका राजीव केवटले भने, “दिल्लीमा कपडा बनाउने ठाउँमा काम गथ्र्यौँ, बन्द भएपछि हिँड्यौँ । उतैबाट गाडीले नौतनवासम्म ल्याएर छाडिदिएको हो ।”

बम्बईमा काम गर्ने रुपन्देही, कोटहीमाई गाउँपालिकाका पिन्टु यादवले काम गर्ने कम्पनी बन्द भएपछि साइकलमा निस्किएको र भारतीय प्रहरीले ट्रक रोकाएर पठाएको बताए । क्वारेन्टाइनमा बसेका कञ्चनपुरका धिरु राना, नुवाकोट सूर्यगढीका वासुदेव लामिछाने, रुपन्देही गैडहवाका कोलन चाइलगायतले भारतीय प्रहरीको सहयोगमा नेपालको सीमासम्म आएको बताए ।

बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताएका थिए ।

भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो एक हजार किलोमिटर टाढाको गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ । भारतमा बन्दाबन्दीमा रेल सेवासमेत शुरु भएपछि दैनिक हजारौँ नेपाली स्वदेश फर्किन थालेका छन् ।

रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेका छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरुलाई राखेको छ । बुधबार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

बेलहिया नाकासँग जोडिएको जिल्ला सदरमुकामसमेत रहेको सिद्धार्थनगरपालिका, भैरहवाका विभिन्न शैक्षिक प्रतिष्ठानमा प्रवासी नेपालीलाई राखिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । नगरको शैक्षिक तालीम केन्द्रको क्वारेन्टाइनमा ५७, लीलाराम माविको क्वारेन्टाइनमा १८०, नमूना माविको क्वारेन्टाइनमा ६४ र प्रतिमान नीमा प्रतिष्ठानको क्वारेन्टाइनमा ८९ जना राखिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : १७ बजे

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौं–  ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौं– चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘भच्चेक’ (तस्बिरहरू)

काठमाडौं– राजधानीको कोलाहलपूर्ण वातावरणबाट केही समय टाढा शान्त प्राकृतिक सौन्दर्य

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रिया : स्थिति नजिकबाट निगरानीमा

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’