कसरी छुट्याउने सिजनल फ्लू र कोरोना भाइरस ? | Khabarhub Khabarhub

कसरी छुट्याउने सिजनल फ्लू र कोरोना भाइरस ?


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘डाक्टर सा’ब ! कतै मलाई कोरोना भाइरस लागेको त छैन ?’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रुघाखोकीले सताएर अस्पताल पुगेका एक बिरामीले डाक्टर शेरबहादुर पुनलाई प्रश्न गरे ।

‘तपाई विदेशबाट फर्किनुभएको हो ?’ डा पुनले बिरामीलाई प्रतिप्रश्न गरे ।

‘होइन डाक्टर सा‘ब म त काठमाडौंमै बस्छु ।’ बिरामीले जवाफ दिए ।

कोरोना प्रभावित देशबाट आएका विदेशी पर्यटक वा नेपाली कोहीसँग नजिक हुनुहन्छ ?’ डा पुनको अर्को प्रश्नमा ती बिरामीले भने, ‘त्यो पनि छैन ।’

‘नेपालमा अहिले कोरोना आइसकेको छैन । तपाईं विदेशबाट आएका व्यक्तिको सम्पर्कमा पनि हुनुहुन्न । त्यसैले तपाईं आत्तिनु पर्दैन । अहिले मौसम परिवर्तनको समय छ । तपाईलाई मौसमी रुघाखोकी लागेको हो ।’ डा पुनले यति भनेपछि बिरामीले लामो स्वास फेरे ।

डा पुनले मौसमी रुघाखोकीको विषयमा परामर्श र केही औषधि सिफारिस गरेर ती बिरामीलाई घर पठाए ।

विश्व स्वास्थ्य संगठनका अनुसार रुघा, मर्की र कोरानाका केही लक्षण समान छन् भने केही फरक छन्

डाक्टरले नै ‘तपाईमा कोरोना आशंका गर्ने आधार छैन’ भनेपछि ती बिरामी खुसी देखिए । डा पुनको परामर्शपछि सायद उनको मनबाट कोरोनाको त्रास हट्यो ।

कोरोनाको त्रासका कारण बिरामी बढे

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकी (एन्फ्लूएन्जा) को समस्या देखिन थालेको छ ।

डा पुनका अनुसार मौसम परिवर्तन भएसँगै शुक्रराज अस्पतालमा दैनिक सय जनासम्म रुघाखोकीका बिरामी आउने गरेका छन् । उनका अनुसार कोरोना त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ ।

रुघाखोकी लागेर उपचारका लागि आउने अघिकांश बिरामीले ‘मलाई कोरोना लागेको त होइन ?’ भन्दै त्रासित भएर प्रश्न गर्ने गरेको डा पुन बताउँछन् ।

‘अहिले मौसम परिवर्तनको समय भएकाले रुघाखोकीका बिरामी निकै बढेका छन्, खोकी लागेको दुई हप्ता भयो भन्दै आउने बिरामीहरुले परामर्श लिँदै गर्दा, मलाई कोरोना लागेको त होइन होला नि भनेर सोध्ने गर्छन्,’ डा पुनले खबरहबसँग भने, ‘नेपालमा अहिले कोरोना फैलिएको छैन, त्यसैले रुघाखोकी लाग्दैमा कोरोनाको आशंका गरिहाल्नुपर्ने अवस्था छैन । तर बिरामीहरु खोकी लाग्ने बित्तिकै कोरोना हो कि भनेर त्रास लिएर आउने गरेका छन् ।’

खोकी लागेका तर कोरोनाको त्रास बोकेर आउने व्यक्तिलाई डा पुनले उनीहरुको हिस्ट्रीबारे जानकारी लिएपछि पराशर्म दिएर पठाउने गरेका छन् ।

डा पुनले नेपालमा सिजनल फ्लूको समेत सिजन भएकाले कोरोनाको संक्रमणबारे मात्र नभइ अन्य रोग र संक्रमणबारे पनि सचेत रहनुपर्ने बताए ।

सरकारले कोरोना प्रभावित देशहरुबाट आउने व्यक्तिमा एक सय ४ फरेनहाइट भन्दा माथि ज्वरो आएमा, घाँटी/टाउको दुखेमा, श्वासप्रश्वासमा अत्यधिक समस्या भएमा र रुघाखोकी लागेमा अस्पतालमा सम्पर्क गर्न सूचना प्रवाह गरेको छ ।

तर कोरोनाको त्रासका कारण मानिसहरु सामान्य रुघाखोकी लाग्दा पनि अस्पतालमा पुग्ने गरेको डा पुनको भनाइ छ । बिरामीको अवस्था र उनीहरुको ट्राभल हिष्ट्रीको आधारमा नै चिकित्सकहरुले कोरोनाको आशंका गर्ने गरेको डा पुनले बताए ।

‘कोरोना र मौसमी फ्लूको लक्षण छुट्याउन गाह्रो हुन्छ, त्यसैले अहिले नेपालको अवस्था हेर्दा रुघाखोकी लाग्ने वित्तिकै फ्लू हो भनेर सोच्नुपर्छ,’ डा पुनले भने, ‘यदी रुघाखोकी, ज्वरोका बिरामी कोरोना प्रभावित क्षेत्रबाट आएको वा त्यहाँबाट आएका व्यक्तिसँग सम्पर्कमा रहेको हो भने मात्र कोरोनाको आशंका गर्न सकिन्छ । हामीले पनि उहाँहरुको ट्राभल हिष्ट्री र लक्षणको प्रकार अनुसार कोरोना हो वा सिजनल फ्लू भनेर छुट्याउने गरेका छौं ।’

डा पुनले नेपालमा सिजनल फ्लूको समय भएकाले कोरोनाको संक्रमणबारे मात्र नभइ अन्य रोग र संक्रमणबारे पनि सचेत रहनुपर्ने बताए ।

‘आजको मितिसम्म नेपालमा कोरोना नफैलिएको हुँदा रुघाखोकी लागेको अवस्थामा मौसमी फ्लू हुनसक्छ, किनकि अहिले मौसमी फ्लूको सिजन शुरु भएको छ,’ डा पुनले भने, ‘अहिले नेपालमा मौसमी फ्लू र डेंगुको सिजन शुरु भएको छ । त्यसैले कोरोना मात्र होइन यस्ता रोगबारे पनि सचेत हुनुपर्छ ।’

रुघाखोकी र कोरोना भाइरसमा के छ फरक ?

टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला कोरोना र सिजनल फ्लू को लक्षण उस्तै उस्तै देखिने हुँदा बिरामी पहिचान गर्न ट्राभल हिष्ट्रीबारे जानकारी लिनुपर्ने बताउँछन् ।

‘सिजनल फ्लू र कोरोनाको लक्षण उस्तै उस्तै छ, त्यसैले कोरोना र फ्लू पहिचान गर्न बिरामी कोरोना भाइरसको जोखिमभित्र पर्छ कि पर्दैन भनेर ख्याल गर्नुपर्छ,’ डा बास्तोलाले भने, ‘रोगग्रस्त क्षेत्रबाट आएको व्यक्तिमा लक्षणहरु देखियो, वा प्रभावित क्षेत्रबाट आएका व्यक्तिसँग सम्पर्कमा रहेको व्यक्तिमा देखिने ज्वरो रुघाखोकीका लक्षणहरु कोरोना हो कि भनेर आशंका गर्न सकिन्छ ।’

डा अनुपका अनुसार कोरोना र सिजनल फ्लूको खोकी, ज्वरो र श्वासप्रश्वासमा हुने समस्या फरक खालको हुन्छ ।

‘कोरोना संक्रमणको लक्षणमा सुख्खा खोकी लाग्ने गर्छ, ज्वरो आउँछ, खोकी लागेको ५ दिनदेखि एकसातामा निमोनिया भएर स्वासप्रश्वासमा समस्या देखिएमा मात्र कोरोनाको लक्षण भनेर आशंका गर्न सकिन्छ,’ डा बास्तोलाले भने, ‘तर मौसमी रुघाखोकीमा एक्कासी ज्वरो आउँछ, साँझ बिहानमा आउँछ, टाउँको दुख्ने समस्या हुन्छ, ज्वरोको तापक्रम कम र बढी भइरहन्छ, मांसपेशीहरु पनि दुख्छ ।’

कसरी थाहा पाउने ?

विश्व स्वास्थ्य संगठनका अनुसार रुघा, मर्की र कोरानाका केही लक्षण समान छन् भने केही फरक छन् ।

रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन् । जस्तै हाँच्छिउँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक बन्द भएको छ भने त्यो कोरोना भाइरसको लक्षण होइन । यी लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिदैनन् ।

त्यस्तै कोरोना भाइरस हुँदा टाउको दुख्ने वा वाकवाकी हुँदैन ।

त्यसो भए कोरोना भएको लक्षण के हो त भन्ने प्रश्न आउन सक्छ ।

यदि तपाईलाई नाक बन्द हुने, टाउको दुख्ने समस्या छैन तर सुख्खा खोकी लागिरहन्छ भने सचेत हुनुपर्दछ ।

सुख्खा खोकीसँगै तपाईको स्वास छोटो र छिटोछिटो भएको छ, स्वास फेर्न गाह्रो भएको छ र ज्वरो आएको छ, जिउ दुख्ने र थकानको महसुस पनि भयो भने भने तपाई तुरुन्तै डाक्टरकोमा जानु पर्दछ । किनकि यी कोरोना भाइरसका लक्षण हुन् ।

तर मर्की वा फ्लू हुँदा पनि थकान लाग्ने र जीउ दुख्ने हुन्छ । यी मात्र लक्षण देखिएको खण्डमा सचेत हुन जरुरी छ तर आत्तिहाल्नु पर्ने  हुँदैन । मर्की वा फ्लू हुँदा ज्वरो आएपनि स्वास फेर्न गारो हुने र छोटोछोटो स्वास हुने चाँहि नहुने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ४८ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको