पुर्खाले तामा निकालेको ठाउँमा वैज्ञानिक परीक्षण, एक वर्षभित्रै खानी सञ्चालनमा आउने « Khabarhub

पुर्खाले तामा निकालेको ठाउँमा वैज्ञानिक परीक्षण, एक वर्षभित्रै खानी सञ्चालनमा आउने


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु ।

हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ ।

स्थानीय बूढापाकाका अनुसार तित्याङको खानीगाउँमा झण्डै दुई सय वर्षपहिले तामाखानी सञ्चालनमा थियो । मल्लकालीन समयमा स्थानीय प्रविधि प्रयोग गरेर हालको बागलुङ नगरपालिका–९ तित्याङ खानीगाउँका पाखोमा तामा निकालिएको थियो ।

‘उबेला हाम्रा जिजुबाजेले खानीबाट तामा निकाल्ने क्रममा मान्छे पुरिएपछि बन्द भएको भन्ने सुनिन्छ,’ स्थानीयवासी सन्तबहादुर जिसीले भने, ‘पछि तामा निकाल्दा बनेका सुरुङमा हैजा लागेका मान्छे राख्थे भन्नुहुथ्यो बा’ले ।’

चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिनापहिले यहाँ आएका खानी विज्ञहरुको समूहले सम्भावना औँल्याएपछि मेशिन नै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ । ‘यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्यौं, के कति छ भन्ने निर्क्यौल  गर्न मात्रै बाँकी हो,’ शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भने, ‘तामासँगै हुने धातुहरुको अध्ययन पनि भइरहेको छ ।’

पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले यहाँ खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि यहाँ अध्ययनको काम थालनी भएको छ । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउनेछ । खानी विभाग, उद्योग मन्त्रालयले प्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खननको अनुमति पाउनेछ ।

यहाँ खानी सञ्चालनमा आए रोजगारीको सिर्जना र कर तथा रोयल्टीबापत आउने रकमले विकास निर्माणमा समेत सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने कुनै पनि काममा बाधा–अवरोध नआउने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए । खानीको परीक्षणमा देखिएको प्रगतिले स्थानीय उत्साहित भएका छन् ।

परीक्षण भइरहेका २ खानीमा अहिले १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँचजना इन्जिनीयर लगायतले काम गरिरहेका छन् । नेपाली सेना र नेपाल प्रहरीले अध्ययनस्थलमा सुरक्षाका लागि पहरा दिइरहेका छन् भने अध्ययन क्षेत्रका स्थानीयवासीले सरोकार समिति बनाएर समन्वय गर्दै आएका छन् ।


तारानाथ आचार्य / रासस

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : ५८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र