पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन् ।
पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ ।
साथै, सहरका विभिन्न भागमा बिना अनुमति भेला हुन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका दक्षिणी सहरहरू मार्से, बोर्दो, निस र लियोनका साथै उत्तरी क्षेत्रका लिल लगायतका स्थानमा युवाको आवतजावत र भीडभाडमा प्रतिबन्ध लगाउने गरी आंशिक कर्फ्युको घोषणा गरिएको हो ।
विद्यार्थीले विद्यालयको अवस्था सुधारको माग गर्दै गत महिना सुरु गरेको आन्दोलनमा अहिले ट्रेड युनियन तथा अन्य विरोध समूह पनि जोडिएका छन् ।
प्रदर्शन नियन्त्रण बाहिर जाँदा केही सहरमा प्रहरीको नियन्त्रण गुमेको गृहमन्त्री लोरियान्ट न्युनेजले स्वीकार गरेका छन् । गृहमन्त्री न्युनेजले दिएको राजीनामा राष्ट्रपति इम्यानुएल म्याक्रोंले अस्वीकार गर्दै सुरक्षा निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने बताएका छन् ।

हालसम्म २ हजार ५ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने करिब १ हजार प्रहरी घाइते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास र ग्रिनेट लागेर एक प्रदर्शनकारीको हात छिन्नभिन्न भएको जनाइएको छ ।
प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले संकटकाल घोषणा हुनसक्ने सम्भावनालाई नकार्दै क्षति पुर्याउनेहरूबाटै क्षतिपूर्ति असुलिने बताएका छन् । “सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूबाटै क्षतिपूर्ति भराउने गरी कानुन ल्याइनेछ,” उनले भने ।
फ्रान्सको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई) का अनुसार हप्तान्तको हिंसाबाट २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् भने करोडौँ युरो बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।














प्रतिक्रिया