काठमाडौं– केही दिनअघि मात्र सीजिटिएन, सिन्ह्वा, ग्लोबल टाइम्स लगायतका चिनियाँ सरकारी सञ्चारमाध्यमले आफ्नो सामाजिक सञ्जालमा कोरोना भाइरसको महामारीग्रस्त वुहान शहरको अस्थायी अस्पतालमा एकजना डाक्टर र बिमारीहरु नाचेको भिडियो पोष्ट गरे ।
सिजिटिएनले ‘डक्टर्स गट ट्यालेन्ट ! उत्तरीपूर्वी चीनको सिन्जियाङबाट आएका एक डाक्टरलाई वुहानको अस्थायी अस्पतालमा कोरोनाभाइरसको सामान्य लक्षण भएका बिमारीले परम्परागत उइग्युर नाच सिकाउन लगाए, त्यसपछि अस्पतालमा सकारात्मकता आयो र रमाइलो भयो ।’
सिन्जियाङ चीनको त्यही प्रान्त हो, जहाँ अधिकांश मुसलमान अल्पसङ्ख्यक उइग्युर जातिका मानिसहरु सहित दश लाख मानिसहरुलाई बन्दीशिविरमा राखिएको छ । भिडियो फुटेजलाई चीनका केन्द्रिय तथा स्थानीय सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ प्रसारण गरेका छन् ।
भिडियोबारे टिप्पणी गर्दै एकजना ट्विटर प्रयोगकर्ता फ्र्याङकी हुआङले ट्विट गरेकी छिन्, ‘सिन्जियाङमा दश लाख भन्दा धेरै उइग्युरहरु बन्दी बनाइएको अवस्थामा वुहानमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध लडिरहेका चिकित्सकबारे मैले सोच्न छाडेकी छैन । नाच्ने बेला उनीहरु के साचिरहेका होलान् ? उनीहरु नाच्न चाहन्छन् भन्ने म कल्पना गर्न सक्दिन ।’
चिनियाँ प्रोपागाण्डाको यो सानो उदाहरण मात्र हो । चिनियाँ सञ्चारमाध्यम नयमितजसो आलोचनाका पात्र बन्दै आएका छन् ।
कोरोना भाइरसको महामारीजस्ता मानवीय संकटका बेला यस्ता सञ्चारमाध्यमको आलोचना धेरै नै हुने गरेको छ । चिनियाँ सञ्चारमाध्यमले कोरोना भाइरसको महामारीकै कुरा गर्दा पनि यसबाट उत्पन्न मानवीय संकट र यसको समाधानका लागि चिनियाँ अधिकारीले गरिरहेको प्रयासबारे पनि एकतर्फी समाचार मात्र सम्प्रेषण गर्दै आएको देखिन्छ ।
पत्रकारिताका विद्यार्थीलाई ‘राज्यको चौथो अंगको काम जनतालाई खाली सूचना वा जानकारी दिनुमात्र नभई प्रशासन वा शासकवर्गलाई उत्तरदायी बनाउने हो’ भनी पढाइन्छ । चिनियाँ चौथो अंगले कोरोनाभाइरस महामारीका विषयमा सम्प्रेषण गर्ने समाचार हेर्दा यस्ता लाग्छन्, कि चिनियाँ प्रशासनले यसको नियन्त्रण र रोकथामका लागि हरतवरबाट सक्दो प्रयास गरिरहेका छन् । तर, व्यवहारमा भने चिनियाँ प्रशासनले गरेको भनिएको भरमग्दुर प्रयासका बावजुद यसको प्रभावकारी नियन्त्रण र रोकथाम भएजस्तो देखिन्न । महामारी रोकिनु त कता हो कता, बरु अझ फैलिँदै गइरहेको छ । यति नै बेला हो, कुनै पनि मुलुकमा सञ्चारमाध्यमले प्रशासन वा जिम्मेवार निकायलाई जवाफदेही बनाउने ।
तर, चिनियाँ सञ्चारमाध्यममा चिनियाँ प्रशासन यसको नियन्त्रणका लागि कहाँ चुक्यो भन्ने कोणबाट कुनै सामग्री सम्प्रेषण हुन्नन् । चिनियाँ सञ्चारमाध्यममा न त चिनियाँ प्रशासनलाई उत्तरदायी बनाउने कोणबाट कुनै समाचार वा विवरण सार्वजनिक हुन्छन्, न त स्वतन्त्र रुपमा पीडित वा महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रका मानिसहरुलाई सम्बोधन गरिएका समाचार प्रकाशित हुन्छन् ।
यसअघि पनि चिनियाँ सञ्चारमाध्यममाथि महामारीबाट भएको मानवीय क्षतिको विवरण सार्वजनिक गर्दा पनि पारदर्शीता नअपनाएको गम्भीर आरोप लाग्दै आएको छ । त्यसबाहेक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै मानिसहरुको शव जलाइएको भन्ने समाचार सार्वजनिक हुँदा पनि यसलाई तथ्यमा आधारित रही पुष्टि गर्ने वा खण्डन गर्ने किसिमका कुनै समाचार पनि चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छैनन् ।
अर्कोतर्फ, विभिन्न सामाजिक सञ्जालमा चीनका वुहान र अन्य शहरमा कोरोना भाइरसका संक्रमितलाई अस्पतालभित्र ज्यादती गरिएको भिडियोहरु सार्वजनिक हुँदै आएका छन् । यस्ता भिडियोको वास्तविकताबारे पनि चिनियाँ सञ्चारमाध्यम चुप छन् ।
महामारीग्रस्त वुहान लगायतका शहरहरु हाल ठप्प छन् । शहर ठप्प हुँदा त्यहाँ बसोबास गरिरहेका नगरबासीको अवस्था के कस्तो छ ? शहर बन्द हुँदा पनि कसरी नगरबासीले आफ्नो जिविका चलाइरहेका छन्, यसबारे मानिसहरुलाई सत्यथत्य जानकारी दिनु हरेक मुलुकका सञ्चारमाध्यमको कर्तव्य हो । चिनियाँ सञ्चारमाध्यम यो कर्तव्यबाट पनि विमुख रहेको देखिन्छ ।
चिनियाँ सञ्चारमाध्यम भने वास्तविकताभन्दा पनि मानिसहरुका संवेदनामा खेलेर समाचार सम्प्रेषण गर्दै आएका छन् ।
महामारी नियन्त्रण गर्न भइरहेका वास्तविक काम भन्दा पनि वुहान शहरमा सातादिनमै अस्पताल निर्माण भएको, डाक्टर र बिमारीले हासीखुसी उपचार गराइरहेका, मानिसहरु स्थानीय प्रशासनको आज्ञा पालन गरेर घरभित्र हासीखुशी बसिरहेको लगायतका समाचार चिनियाँ सञ्चारमाध्यमका प्राथमिकतामा छन् ।
कोरोना भाइरसको महामारीजस्तो गम्भीर मानवीय संकट भोगिरहेका बेला मानिसहरुलाई सान्त्वना दिन वा केही राहत महशुस गराउनका लागि सकारात्मक समाचार सम्प्रेषण गर्नुलाई अस्वभाविक रुपमा लिन मिल्दैन । तर, चिनियाँ सञ्चारमाध्यमका समाचार हेर्दा यस्तो लाग्छ कि यस्ता समाचार कुनै न कुनै रुपमा सत्तारुढ कम्युनिष्ट पार्टीको राजनीतिक छवि जोगाउन प्रेरित छन् । चिनियाँ सञ्चारमाध्यमका समाचार हेर्दा, सुन्दा वा पढ्दा पनि कुनै प्रोपागाण्डाभन्दा कम लाग्दैनन् ।
चिनियाँ सञ्चारमाध्यमबाट मानिसहरुको विश्वास यसरी हराउँदै गएको छ कि चीनभित्रै पनि मानिसहरुले चिनियाँ सञ्चारमाध्यमले प्रसारण, प्रकाशन गर्ने कोरोना भाइरसबाट मृत्यु भएका र संक्रमित भएका मानिसहरुको सङ्ख्या पत्याउन छाडेको समाचार सार्वजनिक हुँदै आएका छन् ।
त्यहाँका सञ्चारमाध्यमले सत्तारुढ कम्युनिष्ट पार्टीको राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि मात्रै काम गर्दै आएको र यस्ता सञ्चारमाध्यमलाई शत प्रतिशत विश्वास गर्न नसकिने आलोचकहरु बताउँछन् ।
चीनमा विदेशी सञ्चारकर्मी र स्वतन्त्र पत्रकारको पहुँच अत्यन्त सीमित छ । सोही कारण त्यहाँ विकसित घटनाक्रमाबारेका समाचारको श्रोत पनि सत्तारुढ कम्युनिष्ट पार्टीकै नियन्त्रणमा रहेका समाचार संस्थाहरु हुने गरेका छन् ।
त्यसमाथि ती समाचार संस्थामा सत्तारुढ कम्युनिष्ट पार्टीको सम्पादकीय सेन्सरसिप पनि विश्वका अरु मुलुकको भन्दा कठोर हुने गरेको छ ।
केही समयअघिमात्रै सञ्चारकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले चीनका राष्ट्रपति सी चिनफिङलाई ‘पृथ्वीकै सबैभन्दा कठोर सेन्सर र स्वतन्त्र प्रेसका शिकारी’ को संज्ञा दिएको थियो ।
तीब्र गतिमा आर्थिक विकास गरिरहेको चीनजस्तो मुलुकमा प्रेस एवं अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठिनु उदार लोकतन्त्रको यो युगमा बिडम्बना नै हो । जनताले पाउने जानकारीको श्रोतलाई आफ्ना नियन्त्रणमा राखेर आफू शासित जनताको मानसिकता र सोच्ने शैलीलाई नै आफूअनुकूल बनाउने कम्युनिष्ट पार्टीको कार्य कतिदिनसम्म टिक्ला ? कतिदिनसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना जनताको आवाज दबाएर राख्न सक्ला ? अनी सबैभन्दा महत्वपूर्ण कुरा कतिदिनसम्म चिनियाँ जनताले चिनियाँ सञ्चारमाध्यमका प्रोपागाण्डा पत्याइरहलान् ? यसको जवाफ भविष्यमा निर्भर छ ।
प्रतिक्रिया