सरकारलाई सांसदहरुको सुझाव- विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गर्नुपर्छ | Khabarhub Khabarhub

सरकारलाई सांसदहरुको सुझाव- विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गर्नुपर्छ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स‌ं‌घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज बसेको समितिको बैठकका सहभागी सांसदहरुले कोरोना भाइरसका कारण विदेशमा जोखिमा परेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न नहुने धारणा राखेका थिए ।

समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरसको महामारीबाट विदेशमा धेरै नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै तत्काल सरकारले घर फर्काउन पहलकदमी चाल्नुपर्ने बताए ।

कुन देशमा बढी जोखिम छन् त्यसको अवस्था हेरी उद्धार थाल्न नेपालले सरकारलाई सुझाव दिए । विदेशमा कोरोना भाइरसको महामारीको अवस्था हेरी नेपालीलाई घर फर्काउन वर्गीकरण गर्न उनले आग्रह गरे ।

भारतबाहेकका देशमा अलपत्र परेका, भारतमा अलपत्र परेका, सीमामा अलपत्र परेका तथा लुकीछिपी नेपाल प्रवेश गरेका नागरिकलाई अलग–अलग योजना बनाइ स्वास्थ्य परीक्षणको दायरामा ल्याउनुपर्ने पूर्वप्रधानमन्त्री नेपालको सुझाव थियो ।

विदेशस्थित नेपाली दूतावासले उद्धारको पहल गरे/नगरेको जानकारी गराउन उनले सरकारसँग माग गरे । सरकारले जनतालाई आस जाग्ने किसिमको पहल गर्नुपर्नेमा नेता नेपालले जोड दिए । उनले सीमामै क्वारेन्टाइनको व्यवस्था गरी स्वास्थ्य परीक्षण गर्न पनि सरकारसँग आग्रह गरे ।

यस्तै समितिका सदस्य प्रकाशमान सिंहले लकडाउन जारी गरेको दुई महिना बित्न लाग्दा पनि सरकारले कोरोना भाइरसको जोखिमबाट जोगिन पहल गर्न नसकेको बताए ।

विदेशमा अलपत्र परेका नेपालीबारे सरकार लामो समयसम्म अलमलमा परेको उनको भनाइ थियो । यसअघि नेपाल र भारतबीच नेपालमा रहेका भारतीयको व्यवस्थापन नेपालले गर्ने तथा भारतमा रहेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने सम्झौता भए पनि भारतले त्यसको कार्यान्वयन नगरेको आरोप लगाए ।

अलपत्र पर्नेको सङ्ख्यामा भारतमा अत्यधिक भएकाले पहिला भारतसितको समस्या हल गर्न सरकारसँग सांसद सिंहले माग गरे । अहिलेको अवस्थामा सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसित समन्वय गर्न नसकेको उनको भनाइ थियो । विदेशस्थित नेपाली दूतावासको पहलकदमीप्रति सिंहले असन्तुष्टि व्यक्त गरे ।

दुःख परेको बेला हाम्रो पनि सरकार छ भन्ने आभाष विदेशमा परेका नेपालीलाई गराउनुपर्नेमा उनले जोड दिए ।

समितिका सदस्य भीमबहादुर रावलले केन्द्रमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषको रकम खर्च गरी तीव्रताका साथ काम गर्न सरकारलाई सुझाव दिए ।

अहिलेको अवस्थामा विषेश स्वास्थ्य परीक्षण केन्द्र सञ्चालनको आवश्यकता रहेको उनको भनाइ थियो । विदेशमा भोकै अलपत्र रहेका नेपालीको हकमा त्यहाँको सरकारसँग वार्ता गरी बस्ने खाने व्यवस्था मिलाइदिन पहल गर्न सांसद रावलले सरकारसँग माग गरे । भारतमा रहेका नेपालीलाई कुनै ठाउँमा आउन दिएको कतै रोकेको देखिएको भन्दै उनले यस्तो दोहोरो रणनीति उचित नभएको बताए ।

समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले यसअघि पनि सरकारलाई निर्देशन दिए पनि त्यसअनुसार काम नभएको बताए । बढी जोखिमामा परेकाको तत्काल उद्धार गर्नुपर्ने उनले सरकारलाई सल्लाह दिए ।

विदेशमा अलपत्र नेपालीलाई सम्बन्धित देशको सरकारसँग वार्ता गरी उतै स्वास्थ्य परीक्षण गराएर नेपाल ल्याउन सकिने सांसद कार्कीको भनाइ थियो । विदेशमा रहेकाको उद्धार गर्नुअघि आन्तरिक तयारीमा ध्यान दिन उनले सरकारलाई सुझाव दिए ।

समितिका सदस्य उमा रेग्मीले विदेशमा रहेका नेपालीको आफ्नो घर फर्किन पाउने अधिकारको सुनवाइ गर्न सरकारसँग आग्रह गरिन ।

यस्तै समितिका सदस्य दिव्यमणि राजभण्डारीले अहिले बन्द रहेका होटल र विद्यालयलाई क्वारेन्टाइनमा परिणत गरी विदेशमा अलपत्र परेका नेपालीलाई राख्न सुझाव दिइन ।

समितिका सभापति पवित्रा निरौलाले सम्पूर्ण सुझाव र धारणालाई समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने जानकारी दिइन ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ३ : ०९ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई