कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह « Khabarhub

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ ।

इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल परिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन् ।

कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् ।

कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताउनुभयो । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।

“गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी उहाँलाई कटुवाल नियुक्त गरिएको छ”, थापाले भने, “गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल नै हुन् ।”

कटुवाललाई सहज होस् भनेर अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ को कार्यालयले एक थान ह्याड माइक उपलब्ध गराएको छ । वडाका जनप्रतिनिधिको निर्देशनानुसार सबै बस्तीमा पुगेर सूचना पुर्‍याउने गरेको कटुवाल पूर्ण परियारले बताए ।

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताए । म्याग्दीका प्रायः सबैजसो बस्तीमा कटुवाल राखिएको छ ।

गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोपलगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । गत चैतमा भएको बन्दाबन्दीको घोषणादेखि नै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्ला स्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् । सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागि गाउँपालिकाले तयार पारेको जिङ्गल (अडियो सन्देश) बजाएका छन् ।
भित्री बस्ती र सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालन गरिएको छ । कटुवालको काम गर्ने व्यक्ति अधिकांश दलित समुदायका छन् । कटुवाल काम गरेबापत सामुदायिक वनलगायत आन्तरिक स्रोतबाट तलबका साथै सिजनअनुसार बालीघरे प्रथाअनुसार गाउँलेबाट धान, गहुँ कोदो, मकै ज्याला पाउँछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ४१ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक