जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै | Khabarhub Khabarhub

जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ । बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो ।

रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा नै यो पहिलो हो ।

जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेट रेल सो कम्पनीले अबको केही बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्ने रेल विभागका माहानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

जनकपुरको पुरानो रेल्वे स्टेशनमा रेल हस्तान्तरणका लागि एक कार्यक्रमको आयोजना गरिएको छ ।

बहुप्रतिक्षित रेल जनकपुर आइपुगेपछि हेर्नका लागि स्थानीयवासीको व्यापक घुँइचो लागेको छ । नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल भारतको पटनास्थित हाजीपुर स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । रेल विभागले २०१९ को मे महिनामा रु ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।

इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रु यात्रा गर्नसक्ने र प्रति बोगीको सिट क्षमता ७५ रहेको बताइएको छ । यसअघि नेपालमा कोइला इन्जिन भएकोे रेल चल्ने गरेको थियो जुन विगत ६ वर्षदेखि बन्द अवस्थामा छ ।

अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ ।

महानिर्देशक मिश्रका अनुसार सबै तयारी समयमै पूरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिन्छ । सरकारले २०७५ को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा दुरुस्त अवस्थामा छैन ।

२०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ । कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो ।

सन् २०१४ बाट ब्रोडगेज लिक निर्माणको काम शुरुवात भएको थियो । ३५ किलोमिटरको रेलमार्गमा ब्रोडगेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेशनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि निर्माण गरेको छ ।

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसका लागि १२९ कर्मचारी भर्ना गरिँदैछ । कर्मचारी भर्नाका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी विज्ञापन समेत निकालेको छ ।

रेल्वे विभागले तीन दिन अगाडि मात्रै एक सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ ।

यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिइसकेको छ ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ ।

अप्राविधिक कर्मचारी नेपाल कै रहन्छ । कम्पनीमा अहिले रेल्वे इन्जिनीयरसहित मेकानिकल इन्जिनीयर, चालक, स्टेशन म्यानेजर, टिकट काट्ने र जाँच्नेलगायत कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जनाएको छ ।

भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माण गरिएको छ । यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो ।

रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको थियो । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ०३ बजे

टर्कीएको होटेलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल– टर्कीएको उत्तर पश्चिमी बोलु प्रान्तको एक होटेलमा मंगलबार भएको

हिउँदे अधिवेशन : पहिलो बैठकमा ६ अध्यादेश र दुई विधेयक पेस हुने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन

यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

ढोरपाटन– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु

एजेन्सी– भारतीय सुरक्षा बलले मंगलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा

अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अस्थायी भिसावाहक र अवैध आप्रवासीलाई तनाव

वासिङ्ट्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जन्ममा आधारित नागरिकताको व्यवस्थालाई