निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने | Khabarhub Khabarhub

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ ।

बागमती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ ।

काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ ।

सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन पनि गरेका छन् ।

अवलोकनपछि उपाध्यक्ष डा.कँडेलले  द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए ।

द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको उनले बताए । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा.कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताए ।

उनले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत विभिन्न सडकखण्डलाई फाराकिलो बनाउने, मोड घटाउन सुरुङ खन्ने र दूरी कम गर्न द्रुतमार्गसँग पहुँच स्थापना गर्ने कामका लागि थालेको पहल विकास निर्माणको आवश्यक प्रक्रिया भएकाले नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताए ।

‘प्रदेशले हेटौँडा–काठमाडौँको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ’, थपलियाले भने ।

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् ।

हाल पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाडौँ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उनको भनाइ छ ।

५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उनी बताउँछन् ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउँछन् ।

सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रको काम शुरु हुने उनको भनाइ छ ।

प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको र भैँसे–भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयनको चरणमा रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : २४ बजे

रसुवा बाढीबारे गृहमन्त्रीले भने- क्षति भएका संरचनाको छिटै पुन:निर्माण सुरु हुन्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण

गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने

काठमाडौं– पाकिस्तानको तेस्रो ठूलो प्रदेश सिन्धमा गुट्खा सेवन गर्ने लत

गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा

गोरखा– विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको