नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन् ।

मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाल र भारतबीच सम्बन्धका अनेकौँ आयाम रहेको, यी दुवै मुलुक चिरकालदेखि सुःखदुःखको साथी रहेको र घनिष्ठ सम्बन्ध रहिआएकाले कुनै एउटा खास विषयले मात्र सम्बन्धको आयामलाई फरक पार्न नहुने विचार व्यक्त गरे ।

सन् १९६२ को चीन भारत युद्धपछि भारतबाट अतिक्रमण गरी सैनिक राखिएको नेपालको सो भूभाग समेटेर नेपाल सरकारले तयार गरेको नयाँ नक्शा अनुकूलको निशाना छापसमेत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भई यही असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

सो संशोधन नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको छ र निशान छाप संविधानको अनुसूची ३ मा राखिएको छ ।

मन्त्री ज्ञवालीले इतिहासले छाडेको नासो र नसुल्झिएको सीमा विवाद समाधान गर्न दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा यसअघि नै परराष्ट्र सचिवस्तरको संयुक्त आयोगको बैठक बस्न सकेको भए यो समस्या यस रूपमा नआउने पनि स्पष्ट गरे ।

दुवै देशले पारस्परिक सम्बन्धलाई एक्काइसौंँ शताब्दीअनुकूल विस्तार गर्ने कार्यादेशसहित प्रबुद्ध व्यक्तिको समूह गठन गरेर प्रतिवेदन तयार गरिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, “कस्ता कस्ता जटिल समस्या त वार्ताबाट समाधान भएका छन् भने अहिलेको सीमा समस्या असल नियतका साथ वार्ताबाट समाधान गर्न नसकिने होइन । संवादका लागि हामीले निरन्तर प्रयास गरेका छौंँ र भारतीय पक्षको सार्थक जवाफको प्रतीक्षामा छौँ ।”

भारत सरकारले सन् १८१६ को सुगौली सन्धिविपरीत नेपालका ती भूभागलाई आफ्नो नक्शामा पारेर गत कात्तिकमा नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले लिखित असहमति जनाएको थियो । पछिल्लो समय भारतले एकतर्फी रूपमा नेपाली भूभागमा चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालले गम्भीर आपत्ति जनाउँदै समस्याको टुंगो लगाउन वार्तामा आउन गरेको आग्रहमा भारत सरकारबाट औपचारिक जवाफ आएको छैन ।

मन्त्री ज्ञवालीले नेपालले सुगौली सन्धि र पूरक सन्धिमा उल्लेख भएअनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नयाँ नक्सा जारी गरेपछि भारतसँग वार्ताका लागि विभिन्न निकायमा छरिएर रहेका महत्वपूर्ण प्रमाण एवं कागजात संकलन गरी क्रमबद्ध रूपमा मिलाएर राख्न प्रमाण संकलन समिति गठन गरिएको जनाउँदै समितिभन्दा बाहिर रहेका विज्ञसँग पनि सुझाव र परामर्श लिइने स्पष्ट गरे ।

उनले दुई देशका औपचारिक लिखतबाहेक अरू कुनै पनि प्रकारका प्रबन्धले अन्तरराष्ट्रिय सीमा परिवर्तन गर्नै नसक्ने बताए ।

मन्त्री ज्ञवालीले पछिल्ला समयमा भारतीय रक्षामन्त्रीको प्रतिक्रिया सकारात्मक रहेको उल्लेख गर्दै दुई देशबीच वर्तमान सरकार बनेयता कतिपय पक्षमा विकास साझेदारीका काम सन्तोषजनक रूपमा अघि बढेको र कुनै एक समस्याले सम्बन्धका विविध आयाममा प्रभावित पार्दैन भन्ने स्पष्ट भएको जनाए ।

विश्व इतिहासमा कुनै देशको अधीनमा नरहेका अतिसीमित संख्याका देशमा पर्ने नेपालले आफ्नो सार्वभौमिकताको रक्षाजस्तो विषयमा स्वतन्त्र रूपमा प्रस्तुत हुन सक्ने भएकाले यसमा अन्य कुनै देशलाई जोड्नु आवश्यक नभएको स्पष्ट गर्दै ज्ञवालीले भने , “त्यसरी कतै जोडिदिनुको अर्थ नेपालको स्वाभिमानमा आँच ल्याउन खोज्नु हो, त्यसैले हामी त्यस्ता प्रयासलाई इन्कार गर्छाैँ । यस्ता समस्या बल्झाउँदा विश्वशक्तिका रूपमा उदाउन खोजिरहेका मुलुकका लागि हितकर हुँदैन ।”

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ४८ बजे

समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

काठमाडौं- ठमेलमा रहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले एलओडीले छ

समाज विकासको प्रणेता श्रमिक हुन् : प्रचण्ड 

काठमाडौं– १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन

कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको

पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य अन्य गर्छौँ : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’