ध्यान दिऔँ : हाम्रा शौचालय रोग संक्रमणको स्रोत नबनून् ! | Khabarhub Khabarhub

ध्यान दिऔँ : हाम्रा शौचालय रोग संक्रमणको स्रोत नबनून् !



काठमाडौँ- आज विश्व शौचालय दिवस । शौचालय महत्वबारे जनचेतना जागृत गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा भने सार्वजनिक शौचालय प्राथमिकतामा पर्न नसकेको बताउँछन् स्वास्थ्य क्षेत्रका विज्ञहरू ।

संघीय राजधानी काठमाडौँमा समेत पर्याप्त मात्रामा सार्वजनिक शौचालयहरू छैनन् । भएका शौचालय पनि व्यवस्थित छैनन् । बढी भीडभाड हुने रत्नपार्क, भोटाहिटी, भृकुटीमण्डप, गौशाला लगायतका स्थानमा केही सार्वजनिक शौचालय छन् ।

यी शौचालयमा कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन । मानिसहरू मास्क लगाएर शौचालय प्रवेश गरे पनि त्यहाँ हात धुन साबुन पानीको व्यवस्था छैन, न त स्यानिटाइजर नै छ ।

त्यसो त हरेक शौचालयमा शौच गरेवापत शुल्क तिर्नु पर्छ तैपनि शौचालयहरू फोहर छन् । आवश्यक सुविधा छैन ।

सरदर दिनमा कति पैदल यात्रुहरूले शौचालय प्रयोग गर्छन् ?  दिनमा कति पटक शौचालय सफा गर्नुहुन्छ ?

यी जिज्ञासामा गौशालास्थित सार्वजनिक शौचालयमा काम गर्ने एक कर्मचारीले भने, ‘पहिलेको तुलनामा मानिसहरू कम आउँछन् । दिनमा तीनचार पटक पानी हालेर सफा गर्ने गरेका छौँ । कोरोनाका लागि भनेर छुट्टै सफाइ गर्ने व्यवस्था छैन ।’

शौचालय रोग संक्रमणको स्रोत

कोरोना भाइरस संक्रमण बढिरहेका बेला शौचालय पनि संक्रमणको प्रमुख स्रोत रहेको बताउँछन् जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे ।

सार्वजनिक होस् वा निजी, कोभिडबाट मात्र नभई अन्य संक्रामक रोगबाट बच्न पनि शौचालयको सफाइ गरिरहनु पर्ने उनको भनाइ छ ।

डा. पाण्डेका अनुसार ठूलो परिवार भएको घरमा शौचालय सफाइमा अझ बढी ध्यान दिनुपर्छ । परिवारको एक सदस्य कोरोना वा अर्को कुनै रोगबाट संक्रमित छ भने अन्य सदस्यहरूले निःसंक्रमीकरणका उपायहरूका साथ शौचालय प्रयोग गर्नुपर्छ ।

‘संक्रमित व्यक्तिले शौचालयको प्रयोग गरेपछि ढोकाको ह्यान्डिल, चुकुल, कमड लगायतका साधनमा भाइरस रहन सक्छ,’ डा. पाण्डेले भने, ‘त्यसबाट लगत्तै जाने मान्छेलाई सर्ने सम्भावाना बढी हुन्छ । अर्को व्यक्तिले प्रयोग गर्नुअघि हातले छोइने सबै ठाउँ स्यानिटाइज गर्नुपर्छ । सावधानीका शौचालयको प्रायोग गर्नुपर्छ ।’

प्रायजसो घरमा शौचालय अँध्यारो र चिसो ठाउँमा हुन्छन् । यस्ता शौचालय राम्ररी सुक्न पाउँदैनन् । यस्ता शौचालय स्वास्थ्यका दृष्टिले असुरक्षित हुन्छन् ।

डा. पाण्डेका अनुसार शौचालयमा भाइरस लामो समयसम्म बाँच्ने स्टिल र फलामका संरचनाहरू हुन्छन् । त्यसकारण, सार्वजनिक होस् या निजी, शौचालय एक जनाले प्रयोग गरेपछि संक्रमण मुक्त हुने गरी सफा गर्नु पर्छ ।

क्वारेन्टिन सेन्टर र आइसोलेशन जस्ता स्थानमा रहेका शौचालयहरू प्रयोग गर्नासाथ संक्रमणमुक्त बनाउन प्रयोगकर्ताले ध्यान दिनुपर्छ ।

दुई वर्षदेखि अलपत्र योजना

गत वर्षको असोज १३ गते सरकारले ‘खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्‍यो । यता संघीय राजधानी काठमाडौँमै सीमित ठाउँमा बाहेक सार्वजनिक शौचालय छैनन् । काठमाडौँ महानगरपालिकाले दुई वर्षअघि बनाएको स्मार्ट शौचालयको योजना अलपत्र छ ।

सार्वजनिक स्थानमा जग्गाको अभाव, स्थानीयबासीको अवरोध लगायत अनेक समस्याका कारण शौचालय निर्माण गर्न नसकेको महानगरका अधिकारीको भनाइ छ ।

महानगर र एनआरएनको सहकार्यमा अहिले काठमाडौँका चार स्थानमा सार्वजनिक शौचालय निर्माणको प्रक्रिया अघि बढाएको महानगरको शहरी योजना आयोगले जनाएको छ ।

आयोगका सदस्य मनराज रञ्जितले प्रत्येक वडामा कम्तीमा दुई वटा स्मार्ट शौचालय बनाउने लक्ष्य रहेको बताए ।

हाल काठमाडौँ उपत्यकाभित्र ६५ वटा सार्वजनिक शौचालय छन् । यीमध्ये काठमाडौँ महानगरभित्र ३८ वटा छन् । चालु आर्थिक वर्षभित्र कम्तीमा २५ वटा शौचालय रञ्जितले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ११ : ३० बजे

सरकार गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : मन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा

भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती – हेटौँडा–भैसे सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा

परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी

टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला

इस्तानबुल – इस्तानबुलको उत्तरपूर्वमा टर्कीको कृष्ण सागरको तटमा तैरिरहेको समुद्री