बाढी पहिरोको जोखिम भएका स्थानमा के कस्तो सावधानी अपनाउने ? | Khabarhub Khabarhub

बाढी पहिरोको जोखिम भएका स्थानमा के कस्तो सावधानी अपनाउने ?



काठमाडौं- बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम बुधवारसम्म जारी रहने र त्यसपछि केही कमी आउने विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग बताउँछन्।

उनले भने, “बुधवारबाट अलिकति वर्षाको मात्रामा कमी आउने मात्रै हो, रोकिने होइन्। भारी वर्षा एक-दुई स्थानमा मात्रै हुनेछ।”

पछिल्लो अवस्था के छ?

विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ।

शुक्रवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ।

कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ।

सोमवार नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ।

त्यसबाहेक कन्काई, कमला, वाग्मती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ।

सोमवार बिहानसम्मको जानकारी अनुसार चितवन अन्तर्गत नारायगढ-मुग्लिङ सडकखण्ड सहित सात जिल्लाका विभिन्न सडकहरू पहिरोका कारण अवरूद्ध भएका छन्।

जेठ ३० गते नेपालमा मनसुन सुरु भएयता पहिरोका कारण १११ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जना र चट्याङ्‌का कारण १७ जनाले ज्यान गुमाएका छन्।

अझै पहिरोको सम्भावना

अहिलेसम्म हेर्दा विगत वर्षको तुलनामा यस वर्ष पहिरोले धनजनको क्षति बढाएको छ।

मौसमविद् प्रधानाङ्ग भन्छन्, “गएको हिउँद यामबाटै सरदरभन्दा बढी वर्षा भएको छ र अहिले मनसुनमा पनि औसतभन्दा बढी नै वर्षा भइरहेको अवस्था छ।”

“जुन र जुलाई भनेको मनसुन सबैभन्दा सक्रिय रहने समय हो। पहिले नै कमजोर जमिन गलिसकेको हुनाले र वर्षा अगष्टसम्म भइराख्ने हुनाले पनि अझै पहिरोको सम्भावना बढी नै देखिन्छ।”

उनले विभागको बाढीको पूर्वसूचना प्रणाली राम्रो बनेको हुनाले क्षति कम भइरहेको बताए।

कस्तो सावधानी अपनाउने?

पहिरोबारे विद्यावारिधि गरेका विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा सरकारी संयन्त्रहरूले उपलब्ध गराउने मौसम र विपद्का सूचनाहरूका आधारमा समुदाय स्वयंले प्रकोपबाट आफूलाई जोगाउन सक्ने बताउँछन्।

उनले भने, “विपद् जोखिम बारेका सूचनालाई राम्रोसँग सुनेर, हेरेर र बुझेर पहिरो जाने सम्भावित उच्च जोखिम रहेको ठाउँबाट कम जोखिमको ठाउँमा मानिसहरू जानुपर्छ। अटेर गरेर बस्नुभएन।”

पहिला पहिरो गएका स्थान, हाल पहिरो खस्न सुरु भएको ठाउँ वा जमिन चिरा परेका स्थानहरूमा बसिरहेका मानिसहरूले त्यस्तो ठाउँ तत्कालै छाड्नुपर्ने उनले बताए।

अहिले भारी वर्षा हुने समयमा निरन्तर पहिरो खसिरहेका सडकखण्ड प्रयोग गर्न नहुने र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देवकोटाको भनाइ छ।

बाढीको सन्दर्भमा पूर्वसूचना प्रणाली जडान गरिएको भन्दै उनले नदीको बहावबारेका सूचनाका आधारमा स्थानीय संयन्त्रहरू सक्रिय हुनुपर्ने बताउँछन्।

“माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको अवस्थामा पनि तल्लो तटीय क्षेत्रमा नदीको बहाव अस्वभाविक रूपमा बढे मानिसहरूले आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानमा लैजानुपर्छ।”

“सुरक्षित ठाउँ जाने क्रममा त्यहाँ पुग्न सबैभन्दा सुरक्षित मार्गको प्रयोग गर्नुपर्छ। त्यति गर्न सकियो भने मानवीय क्षति कम गर्न सकिन्छ।”

अधिकारीहरू के भन्छन्?

राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल आगामी चार दिन जोखिम उच्च रहेका स्थानमा बसिरहेका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको बताउँछन्।

पोखरेलले भने, “पहिरोमा नै बस्ती बसेका स्थानहरूमा एकदमै सतर्क रहनुपर्छ। जोखिम भएका ठाउँमा रातको समयमा सुरक्षित ठाउँमा बस्न जानु उपयुक्त हुन्छ।”

“तराईमा पनि जहाँ बाढीको जोखिम छ त्यसबारे मोबाइलका एसएमएसमार्फत जानकारी दिने गरिएको छ।”

उनले हरेक स्थानीय र प्रादेशिक सरकारले विपद् नियन्त्रणका लागि संयुक्त रूपमा काम गरिरहेको र सुरक्षा निकायहरूलाई स्थानीय तहसँग मिलेर काम गर्ने गरी शुक्रवारबाटै तयार अवस्था राखिएको बताए।

“यसपालि कोभिड-१९ को कारणले विद्यालय भवनहरू सञ्चालनमा नआएको सन्दर्भमा त्यस्ता स्थान र सामुदायिक भवनहरूलाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने हिसाबले कार्ययोजना बनाएका छौँ।”

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ४१ बजे

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय