तस्वीरमा हेर्नुस्, पशुपतिमा शिवरात्रिको रौनक « Khabarhub

तस्वीरमा हेर्नुस्, पशुपतिमा शिवरात्रिको रौनक


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ : ४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ ।

चतुर्दशी तिथि शनिबार बेलुकी १८ : ३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

पशुपतिका चार ढोका तीन बजे नै खुल्यो

पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।

दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ०७ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश