ठेकेदारले काम नगर्दा जनप्रतिनिधिलाई हैरानी ! « Khabarhub

ठेकेदारले काम नगर्दा जनप्रतिनिधिलाई हैरानी !



पोखरा– बाग्लुङको गल्कोट नगरपालिका ८ काँडेबासको निर्माणाधीन मोटरेबल पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।

६ करोड १७ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी वाईपी कन्स्ट्रक्सनले वि.सं. २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो । २०७५ सालमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले नियमित रुपमा काम नगर्दा पुल निर्माण कार्य अलपत्र परेको छ ।

उक्त मोटरेबल पुलको ५० प्रतिशत काम पनि हुन सकेको छैन ।

ठेकेदार कम्पनीले काम नगरेको भन्दै स्थानीय जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय बाग्लुङदेखि मन्त्रालयसम्म धाइरहेका छन् । ठेकेदारले काम गरेन भनेर सडक डिभिजन कार्यालयदेखि कैयौंपटक मन्त्रालय धाए पनि ठेकेदारले नटेरेको गल्कोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताए ।

‘दुई वर्षअघि नै काम सम्पन्न गर्नुपर्ने हो, तर ठेकेदार कम्पनीले काम नगरिदिँदा हामीलाई जनप्रतिनिधि भन्न पनि लाज भएको छ,’ उनले भने । पुल निर्माणको काम नाजुक अवस्थामा पुगेको र आफूले ठेकेदारलाई भन्दा भन्दा हैरानी भएपछि मन्त्रालयसम्मै डेलिगेशन गएको वडा अध्यक्ष कँडेलले बताए ।

निर्माण शुरु भएपछि पटक पटकको बाढीले गर्दा समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष समयअवधि पनि थपिएको थियो ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश्वर लम्सालका अनुसार नियामवलीको ९ औ संशोधनको नाममा सरकारले १ वर्ष पुनः म्याद थप गरिदिएको हो । तर म्याद थप गरिए पनि निर्माण कार्य अघि बढ्न नसक्दा पुनर्निर्माणको काम अलपत्र परेको स्थानीय बताउँछन् ।

निर्माण कम्पनी वाईपी कन्स्ट्रक्सनका सञ्चालक रवीन जोशी भने निर्माण कार्य जारी रहँदा पटक पटक आएको बाढीले निर्माण कार्यलाई अवरोध पुर्‍याएको बताउँछन् ।

दक्षिणतर्फबाट निर्माण शुरु गरिएको तर शुरुमै बाढी पसेर काममा अवरोध आएको उनको भनाइ छ । अघिल्लो एक वर्षअघि वैशाखमा आएको बाढीले पुरेर निर्माणको काम अवरोध भएको जोशीले बताए । तर पनि काम नरोकिएको उनको दावी छ ।

पछिल्लो समय कोरोना भाइरस कोभिड १९ संक्रमणले गर्दा कामले निरन्तरता पाउन नसकेको जोशीले बताए । भदौदेखि निर्माण कार्यलाई पुनः निरन्तरता दिने तयारी भइरहँदा जिल्ला जिल्लामा भएको निषेधाज्ञाले फेरि अवरोध भएको जोशीले बताए । खोलालाई अहिले डाइभर्सन गर्ने अवस्था पनि नरहेको जोशीको भनाइ छ ।

निर्माण कम्पनीका ठेकेदार जोशीले कहिले बाढी र कहिले कोरोना कहरले कामले गति लिन नपाउँदा निर्माण कार्य ढिला भएको बताए पनि स्थानीयबासी स्वीकार्न तयार छैनन् । बाढी र कोरोना भन्ने कुरा ठेकेदारको बाहनाबाजी मात्रै भएको गल्कोट ८ का वडाध्यक्ष कँडेल बताउँछन् ।

समयमा काम सम्पन्न नभएपछि ठेक्का रद्द गरी नयाँ ठेक्का दिनुपर्ने स्थानीयको माग छ । तर निर्माणको बीचमा ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाँदा झनै ढिला हुने डिभिजन सडक कार्यालयका प्रमुख लम्साल बताउँछन् ।

लामो समयदेखि पुल निर्माणको कार्य अलपत्र परेको भन्दै सडक डिभिजन, जिल्ला प्रशासनदेखि मन्त्रालयसम्म धाउनु परेको जनप्रतिनिधहरुले बताइरहँदा बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले भने मोटरेबल पुल निर्माणबारे अनभिज्ञता प्रकट गरे ।

काँडेबासको पचुवामा बन्न लागेको यो पुलले निर्माण सम्पन्न भएपछि गल्कोट नगरपलिकाको वडा नम्बर ८ र ९ लाई जोड्दछ । यो पुल निर्माणपछि चन्द्रकोटका साथै बरेङ गाउँपालिकाका बासिन्दालाई समेत सहज हुनेछ ।

मोटरेबल पुल नहुदाँ गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबास, मुसिकोट नगरपालिकाको वडा नम्वर ९, चन्द्रकोट गाउँपालिका र बरेङ गाउपालिकाका बासिन्दालाई समस्या परेको छ ।

सो क्षेत्रमा दरम खोलाको बाढीले समस्या हुनुका साथै आवतजावतमा समस्या हुने भएकाले स्थानीय घण्टौ हिडेर झोलुङगे पुलसम्म जानुपर्ने बाध्यता छ । पचुवा खोलामा पुल नबन्दा सुत्केरी, बिरामी लगायतलाई अस्पताल लैजान समस्या परेको छ ।

यही खोलाले गल्कोटको ८ र ९ नम्बर वडालाई छुट्याएको छ । पचुवाको मोटरेबल यो पुलले यहाँका बासिन्दालाई पुष्पलाल मध्यपहाडी लोकमार्गसम्म जोड्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ३ : ३२ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश