विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि नेविसंघका नेता रिले अनसनमा « Khabarhub

विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि नेविसंघका नेता रिले अनसनमा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ ।

नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसङ्घभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो ।

विधानमा नेविसङ्घको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । विसं २०७५ माघमा तत्कालीन अध्यक्ष महरले राजीनामा दिएपछि बन्न लागेको तदर्थ समिति विधानअनुसार बन्ने कि नबन्ने भन्ने अन्योल छ ।

नेविसङ्घभित्रका केही नेताहरु भने विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेका छन् ।

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले विधान कार्यान्वयमा पार्टी गम्भीर बन्नुपर्ने बताउँछन् ।

“नेविसङ्घको बैठकबाट पास गरेर पार्टीलाई पेश गरेको विधान पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पास गरेको अवस्थामा विधान लागू गर्दिन भन्नु पार्टी नेतृत्वको कमजोरी हो”, उनी भन्छन् ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने विधान कार्यान्वयन र नेतृत्वको खोजीमै अल्मलिएको छ । नेपाली कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ ।

नेविसङ्घका पूर्वअध्यक्ष रञ्जित कर्ण काँग्रेसजस्तो लोकतान्त्रिक पार्टी आफैँले विधान पास गर्ने र आफैँ विधानविपरीत जान नमिल्ने बताउँछन् । “३२ वर्ष हटाउने वा ३२ वर्षभित्रका विद्यार्थीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मामिला पार्टी र विद्यार्थी सङ्घभित्रको हो, तर पास भएको विधानलाई कसैले कुल्चन मिल्दैन”, उनी भन्छन् ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्रमोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ ।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । नेविसङ्को पहिलो अध्यक्ष विपिन कोइराला रहेका थिए।

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरू अध्यक्षले आफ्नो समयमा अधिवेशन गर्न सकेनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका छन् ।

यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् ।

नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महरले विधानअनुसार २२ जिल्लाको जिल्ला अधिवेशन र ६ लाख विद्यार्थीलाई सदस्यता वितरण गरिसकेको बताउँछन् ।

“आफ्नो लागि भयो भने विधान ठीक र अर्काका लागि भयो भने विधान बेठीक भन्ने प्रवृत्तिका कारण नेविसङ्घमा यस्तो अवस्था आएको हो”, उनी भन्छन् । निवर्तमान अध्यक्ष महरले आफ्नै पालामा निर्वाचन गर्न सम्भव भए पनि पार्टीका नेता आफू अनुकूलका व्यक्तिलाई अगाडि सार्दा निर्वाचन हुन नसकेको बताउँछन् ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउँछन् । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उनी भन्छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : ०१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते