बलात्कारका घटनामा मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद « Khabarhub

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

उक्त अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई उक्त कैद तथा जरिवानाको व्यवस्था गरिएको हो ।

“बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गर्न प्रोत्साहन गर्नेलाई कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ”, कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाफाङ्फेले भनिन, “मेलमिलाप गराएमा वा गर्न उत्साहित गरेमा वा दबाब दिएमा दण्ड सजाय गर्ने व्यवस्था गरेका छौँ, बलात्कारमा मिलापत्र गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था छ, सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा थप छ महिना कैद हुनेछ ।”

सरकारले स्वीकृत गरेको उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कानून बन्ने व्यवस्था छ । समाजमा हिंसा वृद्धि हुँदै गएको हुनाले तत्काल उक्त अध्यादेश ल्याउन परेको मन्त्री तुम्बाफाङ्फेको भनाइ थियो ।

“समाजमा दिनदिनै बलात्कारजस्ता गम्भीर प्रकृतिको हिंसा बढिरहेको छ, यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि तत्काल अध्यादेशमार्फत यो कानून ल्याइएको हो”, उनले भनिन, “कानूनहरु समाजको आवश्यकताअनुसार बेलाबेलामा परिमार्जन गर्न सकिने व्यवस्था छ, सोही अनुसार परिमार्जन गरिएको हो ।”

अध्यादेशमा बलात्कारको सजाय बढाइएको छ । अब लागू हुने कानूनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । यसअघिको कानूनमा १२ देखि १४ वर्षसम्म थियो । नयाँ कानूनमा दुई वर्ष बढी सजायको व्यवस्था गरिएको छ  ।

अध्यादेशमा १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ । यसअघिको कानूनमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । नयाँ कानूनमा यो उमेर समूहमा पनि दुई वर्ष सजाय बढाइएको छ ।  त्यस्तै, १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यसअघि यस्तो अपराधमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था थियो ।

“कैद सजाय बढाउँदैमा यस्ता घटना कम हुन्छ त भन्ने प्रश्न पनि छ”, मन्त्री तुम्बाफाङ्फेले भनिन, “सजाय बढी हुने डरले पनि यस्ता घटनामा कमी हुने विश्वास लिएका छौँ ।”

बलात्कारका घटनामा ज्येष्ठ नागरिकलाई सजाय छुट नहुने

अध्यादेशमा बलात्कारका घटनामा दोषी ठहर भएका ज्येष्ठ नागरिकलाई कैद छुट नगर्ने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक ऐन–२०६३ मा बलात्कारका घटनामा ज्येष्ठ नागरिकलाई सजाय छुट दिने व्यवस्था थियो । तर अध्यादेशले त्यो व्यवस्थालाई हटाएको छ ।

“ज्येष्ठ नागरिकले बलात्कार गरेको पुष्टि भई दोषी ठहर भएको अवस्थामा पहिला कैद मिनाह गर्ने व्यवस्था थियो”, मन्त्री तुम्बाफाङ्फेले भनिन “अहिले बलात्कार गरेको घटनामा दोषी ठहर भएका ज्येष्ठ नागरिकलाई कैद मिनाहा नगर्ने र आजीवन कारावास गर्ने कानूनले व्यवस्था गरेको छ ।” -रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ०० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ