मकवानपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ ।
सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सवइञ्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।
सवइञ्जिनियर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ ।
आयोगको टोलीले घुस लिएको देखेपछि सवइञ्जिनियर जैसवालले आफ्नो नजीक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ । दुवैलाई पक्राउ गरी हेटौँडा ल्याइएको छ । अनुसन्धानपछि काठमाडौँ पठाइने आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।
प्रतिक्रिया