म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ ।
रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए ।
‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,’ उनले भने, ‘खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।’
दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।
‘एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ,’ उनले भने ‘दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २०० भन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।’
विसं २०७७ को साउन महिनायता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।
यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा पाँच घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा दुई वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा दुई वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।
चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् ।
चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।
१४ लाख रूपैयाँ खर्चेर दुई वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोले चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ ।
पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।
जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए ।
प्रतिक्रिया