घरघरमै नमाज पाठ गरी इद उल फित्र मनाइँदै « Khabarhub

घरघरमै नमाज पाठ गरी इद उल फित्र मनाइँदै


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुकी चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ ।

यसैकारण सोमबार इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताए ।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ ।

ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहनुभएका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने उनले बताए ।

यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दान दिनु हो । यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिए ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सोबराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

यो दान आमाको पेटमा आएको शिशुको पनि गरिनुपर्छ भन्ने नियम ग्रन्थमा छ । यो दान पनि दीनदुःखीलाई नै दिइन्छ । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो ।

एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ ।

बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरुले नवौँ रमजान महिनामा भोजन गर्छन् । यस पर्वका अवसरमा मुसलमानहरुले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।

यस वर्ष भने धेरैले घरमै नमाज पाठ गरी परिवारका सदस्यका बीच पर्व मनाउने तयारी गरेका छन् । घरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन सकिने धर्मगुरुहरुको आह्वान छ ।

इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ०० बजे

अनुमतिबिना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु– अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको

यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय 

काठमाडौं– मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई

हिरासबाट छुटेपछि शेखर गोल्छा लेख्छन् : अब काममा फर्किएँ

काठमाडौं– व्यवसायी शेखर गोल्छा काममा फर्किएका छन् । धितोपत्र र

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने प्रयासका