घाइतेको मृत्यु भएपछि बर्दिवासबासी फेरि आन्दोलित | Khabarhub Khabarhub

घाइतेको मृत्यु भएपछि बर्दिवासबासी फेरि आन्दोलित


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो ।

सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए ।

तत्काल हेलिकोप्टरबाट काठमाडौँ लगिएका न्यौपानेको मङ्गलबार राति मृत्यु भएपछि सो खबर फैलनासाथ आज बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् ।

न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ ।

बर्दिवास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलप्सा खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मङ्गलबार भएको आन्दोलनमा भीड नियन्त्रण गर्न चलाएको गोली लागी न्यौपाने घाइते भएका थिए ।

न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको भने काठमाडौँमै उपचार भइरहेको छ । अर्का लाठीचार्जबाट घाइते भएका मृतक बालिकाका आफन्त आफताव आलमको भने बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

आइतबार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलावको शव सोमबार मध्यरातमा घरनजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको छ ।

सोमबार साँझ स्थायी घर गौशाला–५ पुगेका साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्याएर प्रहरीको जिम्मा लगाएका थिए ।

साहलाई बर्दिवास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमबार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो ।

सोमबार मध्यरातमा शव बरामद भएपछि हत्यारालाई सार्वजनिक ठाउँमा कारवाहीको माग गर्दै मङ्गलबार बिहानैदेखि प्रदर्शनमा उत्रेको भीडले पक्राउ परेका साहको बर्दिवास–१४ स्थित तीनतले घरमा आगजनी गरेका थिए ।

घटनास्थलमा प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीले बालिकाको शव पूर्वपश्चिम राजमार्गमा लगेर चर्का नाराबाजी गरेका थिए ।

प्रहरीले बालिकालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने र यसको परीक्षण चाँडै गर्न आवश्यक भएको हुँदा शव परीक्षण गर्न अस्पताल लैजाने बताए पनि प्रदर्शनकारीले शव नदिने अडान लिँदै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले दर्जनौँ राउण्ड गोली फायर गरेको थियो । प्रहरीले चलाएको गोली लागेर न्यौपाने र कार्की घाइते भएका थिए ।

मङ्गलबार प्रहरी जनशक्ति पर्याप्त भएका बेला भीड तितरवितर गर्न सामान्य बल प्रयोगबाटै स्थिति नियन्त्रणमा आउनसक्ने विकल्प प्रयोग नगरी गोली नै चलाइएको यहाँका सर्वसाधारण बताउँछन् ।

प्रहरीले भने शव नदिएर प्रदर्शनकारीले आफूहरुमाथि जथाभावी ढुङ्गामुढा हानेपछि बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ५३ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीईभीटी

चितवन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त