नेकपामा वैधताको लडाइँ : दाहाल-नेपाल समूह निर्वाचन आयोग जाँदै | Khabarhub Khabarhub

नेकपामा वैधताको लडाइँ : दाहाल-नेपाल समूह निर्वाचन आयोग जाँदै


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको आधिकारिकता आफूसँग रहेको दाबीसहित नेकपाको दाहाल-नेपाल समूह आज निर्वाचन आयोग पुग्दैछ ।

आज कार्यालय खुलेपछि सबै केन्द्रीय सदस्यहरू आयोगमा पुगेर बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन लागिएको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

दाहाल-नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जाने उनले बताए ।

‘हाम्रो पक्षमा बहुमत ११४ सदस्य र बहुमत सदस्य भएकोमा निर्वाचन आयोगलाई आशंका नहोस् भन्ने हाम्रो मनसाय हो, आधिकारिकताको छिनोफानो गर्न उसलाई सहज होस् भनेर हामी बहुमत केन्द्रीय सदस्य आयोगमा पुग्न लागेका हौँ,’ मण्डलले भने ।

एकीकरणको ३२ महिनामा विभाजनमा फसेको नेकपामा आफू आधिकारिक रहेको दुबै पक्षले दाबी गरिरहेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एक अर्काविरूद्धका निर्णय गरिरहेका छन् ।

दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका छन् ।

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल-नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।

ओलीसमूहले प्रचण्डको कार्यकारी हैसियत खोसेको छ । बिहीबारको दोस्रो केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी हैसियत खोसेको ओली पक्षले जनाएको छ । उसले विभिन्न प्रदेशका दाहाल-नेपाल समूहका इञ्चार्जहरूको जिम्मेवारी खोसेको छ ।

त्यसअघि ‘प्रथम अध्यक्षका हैसियतमा’ ओलीले केन्द्रीय कमिटी विस्तार गरेर सदस्य संख्या ११९९ पुर्‍याएका छन् । हाल उनले ५५६ जना थप गरेका छन् । अहिले केन्द्रीय समितिमा १००३ जना रहेको जनाइएको छ । विधानमा केही संशोधन पनि गरेका छन् ।

ओली पक्षले कसैलाई पनि कारबाही गरेको छैन । यससम्बन्धी जानकारी निर्वाचन आयोगमा गराएको छ ।

पार्टीको एक नम्बर अध्यक्ष भएकाले निर्णयमा आफ्नो हस्ताक्षरले नै मान्यता पाउने बताएका ओलीलाई महासचिव विष्णु पौडेलको पनि साथ रहेकाले आफ्नो पक्षको निर्णयले वैधता पाउने विश्वास छ ।

साविकको सदस्य संख्याका आधारमा बहुमत पक्ष आफूसँग रहेकाले दाहाल-नेपाल समूहले आफूहरूका निर्णयले वैधता पाउने विश्वास छ ।

यावत निर्णयसँगै दुई समूहले पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू गरेका छन् ।

यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेका छन् ।

कसले पाउला वैधता ?

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा ‘विधान विपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भए बमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्ने’ प्रावधान छ ।

यसरी कारबाही गर्दा निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्ने तथा कारबाहीको कारण र आधार स्पष्ट रुपमा खुलाउनु पर्ने प्रावधान छ ।  पार्टीले कारबाही विरुद्ध पुनरावेदन सुन्ने उपयुक्त संयन्त्रको व्यवस्था पनि गर्नु पर्छ ।

दाहाल—नेपाल पक्षले अध्यक्ष ओलीलाई अपदस्थ गरेर माधव नेपाललाई अध्यक्ष चयन गरेको छ । यसो गर्दा दाहाल—नेपाल पक्षले ओलीलाई सफाइ पेश गर्ने मौका दिएको छैन ।

ओली पक्षले कसैलाई पनि कारबाही नगरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ म व्यवस्था भए बमोजिम अब निर्वाचन आयोगले दलको नाम, छाप, झण्डा र चिन्ह सम्बन्धी विवाद निरुपण गर्नुपर्नेछ ।

जुन पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण पुर्‍याउँछ दल उही पक्षको हुनेछ ।

ऐनमा आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको बहुमत हुनेले विवाद उत्पन्न हुनुअघिको दलमा  मान्यता पाउने प्रावधान छ ।

ओली पक्षले केन्द्रीय समितिमा मौजुदाभन्दा बढी सदस्यहरू थप गरेको छ । थपिएका सदस्यलाई राजनीतिक दलसम्बन्धी ऐनले मान्यता दिन्छ कि दिँदैन भन्ने निर्वाचन आयोगले टुङ्गो लगाउनुपर्नेछ ।

विवाद निरुपणका क्रममा निर्वाचन आयोगले अर्को पक्षलाई १५ दिनको समय दिनुपर्छ । दश दिन थप्न सक्ने व्यवस्था छ । जवाफको म्याद सकिएको ४५ दिनभित्र आयोगले निर्णय गरिसक्नुपर्छ ।

दलको मान्यता सम्बन्धी विवादमा यस्तो छ प्रावधान

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ मा विवादको निरुपण सम्बन्धी व्यवस्था छ । जहाँ दुई वा दुई भन्दा बढी दल बीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरु बीच देहायका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुनेछ भन्ने उल्लेख छ ।

(क) दलको नाम,

(ख)  दलको छाप, विधान, झण्डा वा चिन्ह,

(ग)  दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता ।

४४. विवाद निरुपण सम्बन्धी कार्यविधि : (१) दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिन्ह सम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षर सहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नु पर्नेछ ।

(२)आयोगले उपदफा(१)बमोजिमको दाबीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्को पक्षलाई पन्ध्र दिनको सूचना दिनु पर्नेछ ।

(३)  उपदफा (२) बमोजिमको सूचना प्राप्त भएपछि त्यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेश गर्नु पर्नेछ ।

तर त्यस्तो अवधिभित्र लिखित जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले दश दिन म्याद थप गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिमको अवधिभित्र लिखित जवाफ पेश भएपछि र लिखित जवाफ पेश नभएकोमा लिखित जवाफ पेश गर्नु पर्ने अवधि समाप्त भएपछि आयोगले विवादका सम्बन्धित पक्षहरुलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ ।

(५) उपदफा (४)बमोजिमको अवधिभित्र विवादका पक्षहरु उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरु बीच कायम भएको सहमति बमोजिम विवाद निरुपण गर्नेछ ।

(६)उपदफा (५)  बमोजिम सहमति कायम हुन नसकेमा आयोगले उपदफा (१)  र (३)  बमोजिमको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोही बमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा (१)  बमोजिम आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनु अघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्नेछ ।

(७) उपदफा (६) बमोजिम निर्णय गर्दा कुनै पक्षको बहुमत नदेखिएमा आयोगले विवादका पक्षबाट पेश भएका प्रमाण, सम्बन्धित दलको विधान र अन्य सम्बद्ध कुरा बमोजिम निर्णय गर्नु पर्नेछ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ५० बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल