काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा मन्त्री पोखरेलले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था तत्कालै नआउने प्रष्ट पारे ।
शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे ।
विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया