कागेश्वरी मेला स्थगित, नित्य पूजामात्र गरिने « Khabarhub

कागेश्वरी मेला स्थगित, नित्य पूजामात्र गरिने


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिए । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशका मन्त्री फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवको शुरुवात गरिएको छ ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस वर्ष भने कागेश्वरीमा नित्य पूजा आराधना मात्र गरिने नगरपालिकाले जनाएको छ । कोरोनाबाट बच्न घरघरबाटै कागेश्वरी महादेवको पूजा आराधना गर्न नगरपालिकाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : १० बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई