खुल्यो बजार : भएन व्यापार | Khabarhub Khabarhub

खुल्यो बजार : भएन व्यापार


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ ।

लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगद किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरुले बताएका छन् । नारायणगढको पुल्चोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सका सञ्चालक सूर्यभक्त अधिकारी पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको बताउँछन् ।

आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उनको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको अधिकारी बताउँछन् । सञ्जु एयर कन्डिशन नारायणगढका सञ्चालक विष्णु कँडेल १० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । उनले भने, “अत्यावश्यक क्षेत्रमा बाहेक अन्यत्र व्यापार हुन सकेको छैन ।”

फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल पहिलेको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । बजारमा मान्छेको भीडभाड बढ्दै गएको भए पनि व्यापार हुन नसकेको उनको गुनासो छ ।

उनले भने, “कोरोनाको डर एकातर्फ, अर्कोतर्फ क्रय शक्ति नै घट्यो ।” जिल्लामा फेन्सीमात्र पाँच हजारभन्दा बढी रहेको भन्दै उनले यस क्षेत्रमा मात्र रु १५ अर्बभन्दा बढी लगानी भएको बताए । घरभाडा, कर्मचारीको पारिश्रमिक र बैंकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको उनको भनाइ छ । पसल खोलेर कुर्ने काममात्र भएको अर्यालले बताए ।

फेन्सीमा जुत्ता र कस्मेटिक व्यवसायी पनि पर्दछन् । सामान्यतया जुत्ता दुई वर्षपछि आफैँ उप्कने भन्दै अर्यालले धेरै सामग्री बिग्रिएर जाने अवस्थामा रहेको बताए । कस्मेटिक सामग्रीको म्याद सकिने र कपडाको डिजाइन जाने भएकाले व्यवसायीले ठूलो नोक्सानी व्यहोर्ने अवस्थामा पुगेको जनाएका छन् ।

कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको पनि उस्तै गुनासो रहेको छ । अहिले पसल कुरेर बस्दा २० प्रतिशत पनि व्यापार गर्न नसकेको उनले दुःखेसो पोखे।

विदेशबाट पैसा आएको छैन यहाँको पनि आम्दानी नभएपछि कसरी व्यापार गर्ने उनले गुनसो गरे । जिल्लामा दुई सय ५० हाराहारी कपडा पसल रहेका छन् । व्यापारीले घरभाडा तिर्न नसकेको श्रेष्ठ बताउँछन् ।

उनले भने, “मैले भाडामा दिएको दुईवटा सटरको भाडा तिर्न उनीहरुले सकेका छैनन् ।”

किराना व्यवसायीको पनि आफ्नै गुनासो रहेको छ । अत्यावश्यक सामग्रीमा पर्ने भएकाले ५० प्रतिशत हाराहारी व्यापार भए पनि खर्च धान्न सक्ने अवस्था नरहेको किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष रवीन्द्र श्रेष्ठ बताउँछन् । जिल्लामा तीन हजारभन्दा बढी किराना व्यवसायी रहेको उनले जानकारी दिए ।

व्यापार कम भए पनि खर्च उही हुने गरेको छ । उनले भने, “अहिले नगदमा सामान ल्याउनु पर्छ । उधारोमा बेच्नुपर्ने बाध्यता रहेको छ”, पुरानो उठाउनुपर्ने रकम उठ्न नसक्दा व्यवसाय धान्न मुस्किल भएको श्रेष्ठले बताए । होटल तथा रेष्टुरेन्ट बन्द हुँदा व्यवसाय प्रभावित छ ।

अरू काम नपाएपछि खाली सटर खोजेर किराना व्यापार गर्नेहरु बढ्दै गएकाले पनि पुराना व्यवसायीको व्यापार घट्दै गएको छ । जिल्लाको प्रमुख शहरी क्षेत्रमा एउटै सटरको रु ५० हजारसम्म भाडा तिर्नुपर्ने हुन्छ । उद्योग वाणिज्य सङ्घ र वस्तुगत सङ्घसंस्थाको पहलमा घरधनीले एक महिनादेखि दुई महिनासम्म भाडा छुट गरेका छन् ।

बजारमा लकडाउन हटेसँगै मानिसको आवतजावत केही बढेको छ । यद्यपि अन्य सुनचाँदी, तरकारी तथा फलफूल, होटल, हार्डवेयर, इलेक्ट्रोनिक्स लगायतका अधिकांश व्यवसाय प्रभावित छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सार्वजनिक यातायात सञ्चालन नभएका कारण व्यापार हुन नसकेको बताउँछन् ।

सार्वजनिक यातायात सञ्चालन हुँदा छिमेकी जिल्ला र यसै जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा सामान किन्नका लागि बजार आउने गर्दथे । लकडाउनपछि कोरोनाको त्रासले अत्यावश्यक काम चलाउ सामग्री स्थानीय बजारमा किनमेल गरेर गर्जो टार्ने गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  २ : ०० बजे

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन : गृहमन्त्री

धुलिखेल – गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक