कुखुरापालनमा रमाउँदै, गाउँघरमा भविष्य देख्दै युवा « Khabarhub

कुखुरापालनमा रमाउँदै, गाउँघरमा भविष्य देख्दै युवा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – पाँच वर्ष कोरिया बसेर फर्केका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उनले गाउँघरमा भविष्य देखिरहेका छन् ।

बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याए । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय शुरु गरेको हुँ”, उनले भने ।

उनको ‘फार्म’ को क्षमता एक हजार कुखुरा अट्ने रहेको छ । जाडो मौसम भएकाले अहिले ५५० मात्र ‘ब्रोइलर’ जातका कुखुराका चल्ला हुर्कंदै छन् । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उनले भने । उनले पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच सुनाए । उनलाई श्रीमती जेनिसालगायत परिवारका सदस्यले व्यवसायमा सघाउँछन् ।

जिसी परिवारले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुशी छन् । उनको नजिक वैकुण्ठ उपाध्यायको कुुखुरा ‘फार्म’ छ । उनले पनि गत वर्षदेखि सो व्यवसाय शुरु गरेका थिए । वडा नं ३ रातमाटाका उनले पाखाथरमा रहेको छिमेकीको जग्गा भाडामा लिएर ‘फार्म’ सञ्चालनमा ल्याएका थिए । उनले अहिले वार्षिक रु ६० हजार भाडा तिर्छन् । करिब रु सात लाख लगानीमा उनले दुई हजार कुखुरा अट्ने आधुनिक खोर निर्माण समेत गरेका छन् । उनले‘ब्रोइलर’ कुखुरा पाल्दै आएका छन् ।

रातमाटाकै ३६ वर्षीय विजय शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा सम्लग्न छन् र उनको घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । रु ४५ हजारबाट शुरु गरेको कुखुरापालन व्यवसायमा लगानी बढेर रु १२ लाख पुगेको छ । उनले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहेका छन् । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एकपटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ ।

रातामाटाकै युवा वैकुण्ठ सापकोटा एक वर्षदेखि कुखुरापालन व्यवसायमा रमाइरहेका छन् । उनको ‘सापकोटा कृषि फार्म’मा स्थानीय ‘साकिने’ जातका ८०० कुखुरा छन् । कुखुरापालनबाट उनले मासिक रु ५० हजार कमाउँछन् । “कुखुरासँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उनले भने, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।” काठमाडौँ, हेटौँडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ ।

घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ ।“अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उनले सुनाए, “स्थानीय जातका कुखुरापालननमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुको रुपमा कुखुरा बढी खपत हुन्छ ।

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ७०० मा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । रातामाटाकै रमेश र दिनेश सापकोटा पनि कुखुरापालनमा व्यस्त छन् ।

सापकोटा दुई भाइ मिलेर एक हजार ‘ब्रोइलर’ कुखुरा पाल्दै आएका छन् । कुखुरापालन व्यवसाय फस्टाउँदै जान थालेपछि रोजगारी पनि सिर्जना हुन थालेको छ । मासिक ज्यालादारीमै भए पनि श्रमिकले काम पाएका छन् । रातामाटा र पाखाथर छुट्टाछुट्टै वडामा परे पनि एकापसमा जोडिएका गाउँ हुन् ।

दुवै गाउँका युवा मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले प्रशंसा गर्न थालेका छन् । सदरमुकामसँग जोडिएका कारण कुखुरालाई बजारको समस्या छैन । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने युवा उद्यमीको माग छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ०६ बजे

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल

बालाजु औद्योगिक क्षेत्रस्थित ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको भीड

काठमाडौं– बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिनका लागि

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य