सावधानी नअपनाए नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा ! | Khabarhub Khabarhub

सावधानी नअपनाए नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा !

शंकास्पद यात्रुको परीक्षणका लागि विमानस्थलमा एउटा मात्र थर्मो स्क्यानर


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ ।

चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको सीएनएनले उल्लेख गरेको छ ।

चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।

कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।

फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् ।

अन्य देशहरुमा प्रकोपको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म एकजना मात्र संक्रमित भएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

सरकारले हालसम्म कोरोनाको आशंकामा चीनबाट स्वदेश ल्याएर क्वारेन्टाइमा राखिएका १ सय ७५ जना नेपालीसहित २ सय १७ जनामा कोरोनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिसकेको छ । तर हालसम्म एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीन लगायत विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण देखिदै गर्दा नेपालले भने २० लाख पर्यटक भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष’ मनाइरहेको छ ।

सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क पनि राख्यो । तर, त्यो हेल्थ डेस्क पर्यटन वर्ष लक्षित कार्यक्रमका लागि मात्र थियो ।

पर्यटक लक्षित हेल्थ डेस्कमा एकजना कन्सलटेन्ट डाक्टर, ३ जना मेडिकल अफिसर, ३ जना नर्स र ३ जना जनस्वास्थ्य अधिकृत खटिएका थिए ।

चीनमा कारोनाको त्रास फैलिएपछि सरकारले पर्यटन वर्षलाई लक्षित गरेर परिचालन गरेको स्वास्थ्यकर्मी चीनबाट स्वदेश फर्किने नेपाली तथा विदेशी पर्यटकको स्वास्थ्य जाँचमा खटिन थाले ।

चीनबाहेक अन्य देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा खटिएका स्वास्थ्यकर्मीलाई चीन सहित ५ वटा देशबाट नेपाल आउनेहरुको कडा स्वास्थ्य निगरानी गर्न केही दिन अघि निर्देशन समेत दिइसकेको छ ।

अहिले त्रिभुवन विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङबाट आउने प्रत्येक व्यक्तिलाई थार्मोमिटरबाट ज्वरो परीक्षण तथा स्वास्थ्य जाँच गरेर मात्र छाड्ने गरिएको विमानस्थल हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले बताए ।

‘अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङसहित ५ वटा देशबाट नेपाल आउने सबैलाई इन्डिभिजल स्क्रिनिङ भइरेहको छ,’ पाण्डेले खबरहबसँग भने, ‘यी देशबाट आउने सबैलाई लाइनमा राखेर चेकजाँच गरेर मात्र विमानस्थल बाहिर निस्किन दिएका छौं ।’

हेल्थ डेस्कमा रहेका चिकित्सकले विमानस्थलबाट बाहिर निस्किनेहरुलाई थर्मोमिटरबाट ज्वरो हेर्ने र ज्वरो १ सय ४ डिग्री भन्दा बढि तापक्रम देखिएका बिरामीलाई अस्पताल पठाउने गरेको पाण्डेले बताए ।

विमानस्थलमा स्वास्थ्य परीक्षणको क्रममा कोरोनाको आशंकामा हालसम्म १० जना व्यक्तिलाई विमानस्थलबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको पाण्डेको भनाइ छ ।

‘हामीले हालसम्म विमानस्थलमा स्क्रिनिङ गर्दा ज्वरो देखिएकाले १० जनालाई अस्पतालमा पठाएका छौं,’ पाण्डेले खबरहबसँग भने, ‘अस्पतालमा पठाइएकाहरु कोही विदेशी छन् । कोही नेपाली छन् । हामीले पठाएका व्यक्तिहरुमा कोरोना छैन भन्ने सुनिन्छन् ।’

विज्ञ भन्छन्ः विमानस्थलबाट संक्रमण भित्रन रोक्नुपर्छ

सरकारले नेपाल आउने स्वदेशी तथा नेपाली पर्यटकलाई विमानस्थलमा स्वास्थ्य परीक्षण हुने दाबी गरेपनि स्वास्थ्यकर्मीहरु नै विमानस्थलमा हुने परीक्षण प्रभावकारी नभएको तर्क गर्छन् ।

जनस्वास्थ्य विज्ञ डा.रविन्द्र समीरका अनुसार नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ ।

‘हामीले बुझ्नुपर्छ, कोरोनाले हामीलाई घेरिसकेको छ । चीन, जापान, कोरिया, इरान, इटाली, कुवेत, बहराइन लगायतका देश मध्ये इरान र इटाली बाहेक अन्य देशमा झन्डै १ लाख नेपाली ( कामदार, विद्यार्थी र अन्य ) छन्,’ डा समीरले भने, ‘मलेसिया तथा अरबका देशहरुमा कोरोना फैलिएमा दशौँ लाख नेपाली जोखिममा हुनेछन्, नेपाल आउने पर्यटक तथा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनी संक्रमित भएमा हामीले त्यो संक्रमण रोक्न सक्दैनौं ।’

कोरोना संक्रमणलाई रोक्न त्रिभुवन विमानस्थलको स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउनुपर्ने डा समीर बताउँछन् ।

‘कोरोनाको संक्रमण रोक्न कम्तिमा एयरपोर्टबाट संक्रमण भित्रिन दिनुहुँदैन, एयरपोर्टमा जति कडा गरियो, त्यति नै हामी सुरक्षित हुन्छौं,’ डा समीरले भने, ‘अहिलेको अवस्था हेर्दा एयरपोर्टको ब्यबस्था पर्याप्त छैन ।’

विमानस्थलकै स्वास्थ्यकर्मी भन्छन्ः विदेशबाट आउने सबैको परीक्षण हुनुपर्छ

स्वास्थ्य मन्त्रालयको निर्देशनमा त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्यकर्मीहरुले चीनसहित ५ देशबाट नेपाल आउने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । तर, पाँचवटा देशबाट नेपाल भित्रिनेहरुको मात्र स्वास्थ्य परीक्षण गरेर कोरोनाको जोखिम रोक्न नसकिने विमानस्थलमा खटिएका एक स्वास्थ्यकर्मीले बताए ।

‘सरकारको निर्देशन अनुसार अहिले ५ देशबाट आउने नेपाली तथा विदेशी पर्यटकको प्रत्येकको स्वास्थ्य परीक्षण हुने गरेको छ,’ नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘तर ५ देशबाहेक अन्य देशको विमानबाट आउनेहरु पनि कोरोना प्रभावित क्षेत्रबाट आएका हुनसक्छन् । त्यसैले विमानस्थलबाट नेपाल भित्रिने सबैको स्वास्थ्यजाँच र यात्राको विवरण सोधपुछ गर्नु आवश्यक छ ।’

विमास्थलमा जडान गरेको थर्मो स्क्यानर ५ दिनमै बिग्रियो !

विदेशी मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर हरेक दिन ५ देखि ६ हजार जना व्यक्ति नेपाल प्रवेश गर्छन् । तर कोरोनाको परीक्षण गर्न राखिएको थर्मो स्क्यानर भने विमानस्थलमा एउटा मात्र रहेको स्रोतको भनाइ छ ।

चीनमा कोरोना भाइरसको संक्रमण पछि सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक व्यक्तिको ज्वरो परीक्षणका लागि दुईवटा थर्मल स्क्यानर जडान गरेको थियो । सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा इबोलाको रोग देखिएपछि नेपाल सरकारले खरिद गरेको दुईवटा थर्मो स्क्यानर खरिद गरेको थियो । सो थर्मो स्क्यानर इबोलाको संक्रमणको जोखिम अवधिभर विमानस्थलमा जडान गरिएको थियो । पछि इबोलाको त्रास कम भएपछि सरकारले सो थर्मो स्क्यानरलाई पनि विमानस्थलबाट हटाएको थियो ।

चीनमा कोरोनाको संक्रमण बढ्दै गएपछि गत माघ गते ४ वर्षअघि नै प्रयोग भइसकेको थर्मल स्क्यानर जडान विमानस्थलमा जडान गरियो । तर विमानस्थलमा थर्मो स्क्यानर जडान गरिएको एकसाता नपुग्दै एउटा स्क्यानर विग्रियो ।

माघको ११ गते विमानस्थलमा जडान गरिएको थर्मो स्क्यानर माघको १५ गते नै विग्रिएको स्रोतको भनाइ छ।

‘इबोला रोगको त्रास रहेको समयमा सरकारले खरिद गरेको थर्मो स्क्यानर नै अहिले प्रयोग भइरेहको हो । एउटा थर्मो स्क्यानरको चाँही डिस्प्ले नै गयो । त्यो बनाउने प्रयास पनि गरेको थियो तर बनेन,’ विमानस्थल स्रोतले खबरहबसँग भन्यो, ‘अहिले थर्मल स्क्यानर एउटा मात्र छ । हुन त खरिद प्रक्रियामा छ भन्ने सुनेको छु । अर्को नआउदा सम्म अहिले भएको पनि बिग्रियो भने त समस्या पर्छ ।’

स्वास्थ्य मन्त्रालयले विमानस्थलको लागि ४ वटा थर्मल स्क्यान खरिद अघि बढाइसकेको जनाएको छ । तर, अहिलेसम्म भने थर्मोल स्क्यानर आइनसकेको विमानस्थल स्रोत बताउँछ ।

स्वास्थ्यकर्मी अभाव

चीनपछि कोरियासहित अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्रिभूवन विमानस्थलबाट नेपाल भित्रिने सबैको एक एक गरेर स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलका स्वास्थ्यकर्मीलाई सबैको स्क्रिनिङ गर्न निर्देशन समेत दिएका थिए । तर विमानस्थलमा रहेको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी अभाव भएकाले हरेक दिन नेपाल भित्रिने सबैको एक एक गरेर स्क्रिनिङ गर्न नसकिने जवाफ पठाएको स्रोतको भनाइ छ ।

विमानस्थल स्रोतका अनुसार विदेशी मुलुकबाट नेपाल भित्रिने स्वदेशी तथा विदेशी प्रत्येकको स्क्रिनिङ तथा यात्राको हिस्ट्री लिन अझै १२ जना कर्मचारी आवश्यक छ ।

‘अहिले अन्य देशमा पनि कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्रीज्युले नै विमानस्थलबाट आउने सबैको स्क्रिनिङ गर्न निर्देशन दिनुभएको भन्ने सुनेका थियौं । तर विमानस्थलको हेल्थ हेस्कले सबैको स्क्रिनिङ गर्न स्वास्थ्यकर्मी पर्याप्त छैन भनेर जवाफ स्वास्थ्य मन्त्रालयलाई दिएको छ,’ स्रोतले भन्यो, ‘सरकारले थप १२ जना स्वास्थ्यकर्मी परिचालन गरे मात्रै सबैको स्क्रिनिङ गर्न सकिन्छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ०३ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा