निजी अस्पताल हेर्दैनन् ज्वरोका बिरामी | Khabarhub Khabarhub

निजी अस्पताल हेर्दैनन् ज्वरोका बिरामी

स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराउन माग


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता उपत्यकाका ३६ वटा अस्पतालहरूलाई कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दियो ।

यस्तो निर्देशन पाएका ३६ अस्पतालमध्ये २३ वटा काठमाडौंका ठूला निजी अस्पताल थिए ।

सुमेरु, किस्ट, स्टार, नर्भिक, हिमाल, क्यापिटल, ब्लुक्रस, नेपाल मेडिसिटी, बी एण्ड बी लगायतका ठूला निजी अस्पतालहरूले आफूसँग भएका आइसोलेसन वार्डको विवरण समेत मन्त्रालयमा बुझाएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म चार जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एकता निको भएर फर्किए भने तीन जना उपचारमा छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि आफूसँग आइसोलेसन वार्ड भएको बताएका निजी अस्पतालहरूले ज्वरोका बिरामी हेर्न नमानेको आरोप लागेको छ ।

ज्वरो आएपछि निजी अस्पताल पुग्ने बिरामीलाई गेटबाटै सरकारी अस्पताल पठाउने गरेको आरोप छ ।

कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने अघिकांश ज्वरोका बिरामीले निजी अस्पतालले नै टेकु रेफर गरेको बताएको एक चिकित्सकले जानकारी दिए ।

‘हाम्रो अस्पतालमा कोरोना आशंकाका बिरामीको चाप बढेको छ । निजी अस्पतालहरूले ज्वरो आयो भन्ने बित्तिकै टेकु पठाउने गरेका छन्,’ उनले भने, ‘यस्तो महामारीको अवस्थामा निजी अस्पतालहरू पन्छिन खोज्न लज्जास्पद कुरा हो ।’

निजी अस्पतालहरूले ज्वरोका बिरामी समेत नहेरेको भन्दै ती सबै अस्पताल सरकारीकरण गर्नुपर्ने आवज समेत उठ्न थालेको छ । निजी अस्पतालका संचालकहरू भने सरकारकै कमजोरीले आफूहरुले कोरोना आशंकाका बिरामी हेर्न नसकेको बताउँछन् ।

निजी अस्पतालहरूको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन) ले सरकारले निजी अस्पतालका चिकित्सकको स्वास्थ्य सुरक्षाबारे नसोचेकाले जोखिममा काम गर्न नसकेको जिकिर गरेको छ ।

अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले स्वास्थ्य सामग्री बिना नै बिरामीको उपचार गर्न निर्देशन दिएकाले काम गर्न नसकेको बताए ।

‘कतिपय देशमा डाक्टर संक्रमित भएर परिवार नै संक्रमित भएको अवस्था छ, स्वास्थ्यकर्मीहरू स्वास्थ्य सामग्री नै नभई कसरी उपचारमा खटिने ?,’ थापाले खबरहबसँग भने, ‘सञ्चार माध्यमले त उपचार गर्दिनँ भन्यो मात्र भनेर लेखिदिन्छ तर वास्तविकता अर्कै छ । हामीसँग स्वास्थ्य सुरक्षा सामग्री भएर पनि पछि हटेको भए निजी अस्पतालले उपचार गर्न मानेनन् भन्न सुहाउँछ, निर्देशन दिएरमात्रै कसरी हुन्छ ?’

थापाले निजी अस्पतालहरूले कोरोनाका बिरामीको उपचारका लागि आइसोलेसन वार्ड छुट्याएको बताए । सरकारले आफूहरूलाई स्वास्थ्य सुरक्षा सामग्री पहिलेकै मूल्यमा उपलब्ध गराउने वातावरण बनाउनुपर्ने बताए ।

‘हामीले स्वास्थ्य सामग्री दिनुपर्छ भनेका छैनौँ, आफैँले खरिद गर्न सक्छौं तर सरकारले पहिलाकै भाउमा खरिद गर्ने वातावरण बनाउनुपर्छ,’ थापाले भने, ‘अहिले २ रुपैयाँको मास्क समेत धेरै गुणा महँगो भएको छ ।’

अफिनका वरिष्ठ उपाध्यक्ष थापाले स्वास्थ्य मन्त्रालयले बिहीबार पनि छलफल गरेको र ज्वरो र निमोनियाका बिरामी हेर्न निर्देशन दिएको बताए ।

‘सरकारले निजी अस्पताललाई ज्वरो र निमोनियाका बिरामीको उपचार गरेर नमुना परीक्षणको लागि स्वाब प्रयोगशालामा पठाउनु भनेको छ, यसमा हामी सहमत भएका छौँ,’ थापाले भने, ‘तर निजी अस्पतालमा भएका बिरामीको नमूना परीक्षणमा नजिता पोजेटिभ आयो भने उपचारमा खिटने स्वास्थ्यकर्मीलाई जोखिम हुन्छ । सरकारले सामग्री उपलब्ध गराइदिनु पर्छ ।’

अफिनका महसचिव हेमराज दाहालले पनि निजी क्षेत्रले बिरामी हेर्न नमानेको भन्ने कुरा नै गलत भएको जिकिर गरे ।

‘स्वास्थ्य मन्त्रालयले कोरोनाका विषयमा गरेको हरेक छलफलमा हामी सहभागी भएका छौँ, निजी क्षेत्रले बिरामी हेर्न नमानेको कुरा सत्य होइन,’ दाहालले खबरहबसँग भने, ‘राज्यले चाहेमा कुनै पनि अस्पतालमा उपचार गराउ सक्छ, महामारीको समयमा बिरामी हेर्न सक्दिनँ भन्नै मिल्दैन । कोरोना होस् वा जुनसुकै रोग, निजी अस्पतालले बिरामी हेर्नैपर्छ ।’

अफिनले सबै निजी अस्पताललाई राज्यसँग सहकार्य गरेर बिरामीको उपचार गर्न निर्देशन समेत दिएको प्रष्ट पार्दै उनले कुनै निजी अस्पतालले बिरामी नहेरेमा अफिनले कारबाही गर्ने बताए ।

‘यो संकटको समय हो, निजी अस्पतालहरू आफ्नो दायित्वबाट पछि हट्नु हुँदैन, स्वास्थ्य उपचारमा कसैलाई बञ्चित गर्न हुँदैन,’ दाहालले भने, ‘कुनै निजी अस्पतालले बिरामी भर्ना लिन मानेन भने स्वास्थ्य मन्त्रालय वा अफिनका पदाधिकारीलाई सम्पर्क गर्नुहोस् । बिरामी नलिने अस्पताललाई कानुनी दायरामा ल्याउँछौँ ।’

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : २५ बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक