नेकपा विवाद : वार-पार गर्न दुवै पक्ष तयार तर कुनै पक्ष छैन ढुक्क | Khabarhub Khabarhub

नेकपा विवाद : वार-पार गर्न दुवै पक्ष तयार तर कुनै पक्ष छैन ढुक्क


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीमा छलफल नै नगरी गत साता (सोमबार) दुई अध्यादेश ल्याएको आरोप खेपेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ती अध्यादेश उही साता शुक्रबार नै फिर्ता गरे पनि आलोचना, विरोध र उनलाई विस्थापन गर्ने प्रयास जारी छ ।

अध्यादेश फिर्ता लिएपछि नेकपाभित्रको विवाद साम्य हुने ठानेका ओलीलाई सत्तारुढ नेकपामा उनीइतरको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री पदबाट राजीनामा नै गराउन बाध्य पार्नेसम्मको गृहकार्य गरेपछि ओली बेचैन छन् । स्वास्थ्य अवस्था अनुकूल नभए पनि उनले यसबीचमा आन्तरिक र बहुपक्षीय छलफललाई तिव्रता दिएका छन् ।

सोमबार (८ वैशाख) को अध्यादेश प्रकरणपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पटक/पटक संवाद गरेका ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश, सभामुख र पार्टीका सांसदहरूसँग पनि भेटवार्ता गरेका छन् ।

निकटवर्ती र अन्य पक्षसँग तीव्र छलफल र भेटघाट गरेर शुक्रबार यताका ५ दिन गुजारेका ओलीले अनुकूल अवस्था सृजना भएपछि मात्रै बुधबार साँझको सचिवालय बैठक डाक्न महासचिव विष्णु पौडेललाई मञ्जुरी दिएका थिए ।

ती सबै छलफलले उनलाई ढुक्क नबनाए पनि केही सुझाव र आश्वासनले उनलाई सुरक्षित जोनमा पुर्‍याएको ओली समूहको निष्कर्ष छ ।

संसदीय दलको नेताबाटै हटाउन सक्ने ठानेपछि कुल १७४ सांसद्मध्ये ८८ जना भन्दाबढी सांसद् सुनिश्चित गरेर ओली तयारी अवस्थामा बसेको दाबी उनीनिकटहरूले गरेका छन् ।

पूर्वएमाले र पूर्वमाओवादीका समेत केही सदस्य ओलीको पक्षमा रहेको उनीहरूको बुझाइ छ । ओलीनिकट उच्च स्रोतहरूका अनुसार प्रचण्ड–माधव समूह आइतबारयता अलिक मत्थर भएको छ । परिआउने जस्तोसुकै चुनौती खेप्नका तयारी रहेको सन्देश ओलीनिकट नेताहरूले दिएका छन् ।

‘पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री ओलीकाविरुद्धमा पार्टीभित्र र बाहिरकै सबै शक्ति लागेको जगजाहेरै छ,’ ओलीनिकट सांसद् विशाल भट्टराईले भने, ‘त्यस्ता प्रवित्तिलाई परास्त गर्नेगरिको तयारी भइसकेको छ, डराउने अवस्था छैन ।’

प्रचण्ड–माधव समूह पद्धति र वैचारिक विषयमा भन्दा पनि शक्तिका लागि आशक्त भएको ओली पक्षको ठहर छ ।

उनीहरूको मनसाय बुझेरै मन्त्रिपरिषद् पुनर्गठनदेखि केही प्रदेशका मुख्यमन्त्री परिवर्तनसम्मका विषय पनि छलफलमा लगिएको ओली पक्षीय नेताहरूले स्वीकारेका छन् ।

जनताको म्यान्डेट र परिस्थितिलाई अवमूल्यन गरेर पार्टीमा हावी हुन खोज्नेसँग लत्रिने अवस्था नरहेको ओली निकटकै नेता एवं सांसद् राजेन्द्र गौतम बताउँछन् ।

‘प्रधानमन्त्रीले पार्टीको शीर्ष नेताहरूको समेत सुझाव ग्रहण गरेर अध्यादेश फिर्ता लिइसक्नुभएको छ, त्यो विषय त्यही अन्त्य भइसकेपछि समस्या नहुनुपर्ने हो,’ गौतमले भने, ‘तर औलो दिँदा डुँडुलो निल्न खोज्ने देशी–विदेशी शक्तिको मोहरा र मतियार बन्नेहरूले समस्या पार्न खोजेको पाइयो हामी त्यसको प्रतिवाद गर्न तयार छौँ ।’

विधि र प्रक्रियाबाट आएको नेतृत्व हटाउने चलखेल भएको हो भने विधि र प्रक्रियामार्फत नै चुनौती दिए त्यसको सामना गर्न आफूहरू तयार रहेको गौतमले बताए ।

माफीदिने अवस्था त छैन, पुनर्विचार हुन सक्छ

बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न पार्टी सचिवालयले गत फागुन १४ गते गरेको सिफारिसलाई चुनौती दिएर अघि बढेका ओलीप्रति त्यसयता देखिने गरी नै अर्को पक्ष रुष्ट छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न पार्टीले गरेको सिफारिस बेवास्ता गर्दै अघि बढेका ओलीलाई प्रचण्ड–माधव नेपाल समूहले अध्यादेश फिर्ता लिएलगत्तै नैतिकता आधारमा राजीनामा दिन समेत सुझाएको बताइन्छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, संसदीय दल लगायतमा अल्पमतमा परेका ओलीलाई कारबाही गर्न सक्ने सबैभन्दा उपयुक्त समय नै यही भएको उक्त समूहको ठहर छ ।

आन्तरिक बैठकमा ओलीलाई राजीनामाका लागि बाध्य पार्ने रणनीति अवलम्बन गरेको प्रचण्ड–माधव समूहले ओलीलाई राजीनामा दिन बाध्य हुने गरीका निर्णय गराउनैका लागि सचिवालय र स्थायी कमिटी बैठकको माग गरेको ओली पक्षको ठहर छ ।

सचिवालय बैठकले निर्णय गर्न नसके स्थायी कमिटी बैठकबाट भए पनि ओलीलाई अप्ठ्यारो पार्ने माधव–प्रचण्ड समूहको तयारी छ ।

‘अध्यादेशको विषयमात्र होइन, पार्टी एकता र सरकार गठन भएयताका सबै विषयमा समीक्षा हुन्छ,’ माधव नेपाल निकट मानिने नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘यावत गतिविधि हेर्दा हामीलाई त लागेको छैन माफी दिन सकिन्छ तर पुनर्विचार गर्दै पार्टीले निर्णय गर्न पनि सक्छ, कुरा यति हो पार्टीलाई विधिमा चल्न/चलाउन वारपारको निर्णय हुन्छ ।’

भुसालका अनुसार अहिलेको नेतृत्व महाधिवेशनबाट चुनिएको नभई एकताले सहमतिमा टुंग्याएको हो ।

‘महाधिवेशनबाटै टुंगिएको भनिए पनि त्यो जीवनभरका लागि हुँदैन, पूर्वएमालेको महाधिवेशन त २०७१ को साउनमा भएको हो, विधि र पद्धतिबाट नेतृत्व सही छ भनेर सावित गरे अहिलेको संकट टर्छ,’ उनले भने ।

माधव नेपाल निकटकै मानिने नेकपा केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडा केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाटै हटाउने हल्ला ‘सार्वजनिक खपत’ को विषय मात्र भएको बताउँछन् ।

उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्षले विधि, पद्धति र प्रक्रिया मिचेकाले मात्र समस्या देखिएकाले प्रधानमन्त्री ओलीले आत्मालोचना गरे सबै समस्या समाधान हुनेछ ।

‘हाम्रो माग यति हो कि सरकारको पार्टी होइन, पार्टीको सरकार हो भोलि चुनावमा जाँदा पनि नेकपाकै नाममा जाने हो,’ खतिवडाले भने, ‘फलेकै हाँगो हो झुक्ने तर भाँचिन्छु, झुक्दिनँ भन्ने हो भने समस्या आउँछ मलाई लाग्छ नेतृत्वले त्यस्तो अक्षमता नदेखाउला ।’

नेकपाको नौ सस्यीय सचिवालयमा ओली पक्षमा तीन जनामात्र र ४४ सदस्यीय स्थायी समितिमा ओलीका पक्षमा खुलेर देखिएका १२ जनामात्रै रहेको प्रचण्ड–माधव पक्षको ठहर छ ।

पदको लालचतासँगै विदेशीको खेलो : विश्लेषक

राजनीतिक विश्लेषकहरू भने नेकपाभित्रको अहिलेको विवाद, शक्ति आर्जनका लागि पद हत्याउन भइरहेको पार्टीभित्रको आन्तरिक खेलमा विदेशी शक्तिले गरेको चलखेलको उपज हो भन्छन् ।

एकलौटीजस्तो ढंगले नियुक्तिहरू र सरकार सञ्चालन गरेका ओलीले प्रचण्ड–माधव समूहलाई पद बाँडचुड गरे समस्या समाधान हुने विश्लेषकहरूको भनाइ छ ।

पटक/पटक आन्तरिक बैठक गरेको प्रचण्ड–माधव समूह ओली पक्षले देखाएको पदीय लालचतामा अड्किएको पनि विश्लेषकहरू दाबी गर्छन् ।

‘विदेशीले यसरी खेलिरहेका छन् कि जुन तथ्य नै बिग्रिने गरी क्षणक्षणमा परिवर्तन भइरहेको छ, अहिलेकै परिस्थिति कायम रहे ओलीले निश्चित समयपछि पद छाड्छु भन्ने कागज गरेर अहिलेको संकट टार्नेवाला छन्,’ विश्लेषक डा. सुरेन्द्र केसीले भने ।

जतिसुकै गरे पनि नेकपाको एकता नटिक्ने उनको ठहर छ । उनी भन्छन्, ‘नेकपाको राजनीतिक कोर्ष प्राकृतिक ढंगले अघि बढे केपीले पद छोड्दा मध्यावधी हुन्छ, प्रचण्डले पद छोड्दा पार्टी नै फुट्छ, ख्याल गर्नुहोस् यस्तो हिरिकहिरिक अवस्थाको एकता कतिन्जेल टिक्ला, त्यसमाथि विदेशीको खेलो सुरु भयो, सांसद अपहरण प्रकरण त्यसैको उदाहरण हो ।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा नेकपाभित्र विकसित घटनाक्रमसँगै तीन वटा विकल्प रहेको बताउँछन् ।

पहिलो– ओलीले आत्मालोचना गर्ने, दोस्रो – ओली आफैँले राजीनामा दिने र तेस्रो– उनलाई अर्को पक्षले राजीनामाका लागि बाध्य पार्ने ।

यसमध्ये पहिलो विकल्प ओलीले पूर्वएमाले कित्ताका माधव नेपाललाई उपयोग गर्नसक्ने उनले देखेका छन् ।

‘माधव नेपालको व्यक्तित्व वारपारको निर्णय गर्ने खालको होइन, त्यसैले पूर्वएमाले मिल्ने नाममा उनी पक्षधरलाई केही पदको व्यवस्था गरेर यो विषय यत्तिकै सामसुम पनि हुन सक्छ,’ खतिवडाले भने, ‘पार्टीभित्रको विग्रह कता लाने भन्ने भूमिका माधव नेपालमै भर पर्छ, प्रचण्ड त ओलीलाई कारबाही गर्न यो बेला तयार नै छन्, उनी उचित अवसरमा उचित हमला गर्न माहिर नेता नै हुन् ।’

राजनीतिशास्त्री दीपक गजुरेलको भनाइमा नेकपाभित्र अहिले देखिएको विवाद पार्टीभित्रबाटै सृजित समस्या नभई विदेशी शक्तिको चलखेलले निम्त्याएको परिणाम हो ।

‘ख्याल गर्नुहोस् यिनीहरू मिल्दा पनि आफैँ मिलेका होनन्, यिनीहरू त विदेशीका औजार मात्र हुन् तपाईहरूको पत्रकारितामै फिप्त कोलमिष्ट भन्छ नि, हो त्यस्तै हो,’ गजुरेलले भने, ‘अबको केही महिना वा एकाध वर्षभित्र यो व्यवस्थाले नै हावा खान्छ, त्यसैको सुरुवात विन्दु नेकपाभित्रको विग्रह बन्न सक्छ ।’

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : १६ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल