खचाखच भरिए क्वारेन्टाइन « Khabarhub

खचाखच भरिए क्वारेन्टाइन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम- विदेशबाट आई गाउँघरमा लुकेर बसेका तथा काठमाडौँबाट गाउँ फर्काइएकालाई राखिएपछि यहाँका क्वारेन्टाइन खचाखच भरिएका छन् ।

चैत लागेयता पाँचथरका १२९ जना विदेशबाट फर्केका थिए । तीमध्ये झण्डै एक तिहाइ मानिस क्वारेन्टाइनमा नबसी गाउँघरमै लुकेर बसेका थिए ।

पहिलो चरणमा विदेशबाट फर्केका तथा उनीहरुको सम्पर्कमा पुगेका १०४ जनालाई क्वारेन्टाइनमा दुई साता राखेर शीघ्र डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणपछि घर फर्काइएको थियो ।

पछिल्लो पटक प्रशासनले विदेशबाट फर्केर लुकीछिपी बसेकाको सम्पर्कमा पुगेका, रातारात अन्य जिल्लाबाट आएका तथा काठमाडौँबाट ल्याइएकालाई क्वारेन्टाइनमा राखेको छ ।

हाल यहाँका क्वारेन्टाइनमा ५२५ जना रहेका छन् । यही साता काठमाडौँबाट २९२ जना जिल्लामा आइपुगेका थिए । उनीहरु सबैलाई शीघ्र परीक्षणपछि मात्रै घर फर्काउने प्रशासनको निर्णयपछि क्वारेन्टाइन खचाखच भरिएका हुन् । क्वारेन्टाइनमा नौजना बालबालिकासमेत रहेका छन् ।

एकैसाथ झण्डै ३०० जनालाई क्वारेन्टाइनमा राख्न परेपछि यहाँका स्थानीय तहले सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनमा अस्थायी क्वारेन्टाइन निर्माण गरेका छन् । यस क्रममा क्वारेन्टाइनमा बस्नेले समस्यासमेत भोग्नुपरेको छ ।

स्थानीय तहलाई व्यवस्थापनमा समस्या आएको छ । निकै असहज हुनेगरी एकै कोठामा धेरै श्यया राखेर अस्थायी क्वारेन्टाइन निर्माण गरिएका छन् । सदरमुकाम फिदिमकै क्वारेन्टाइन निकै साँघुरा र सङ्क्रमणको जोखिमका दृष्टिले चुनौतीपूर्ण छन् ।

क्वारेन्टाइनमा सामग्रीको समेत अभाव छ । फाल्गुनन्द गाउँपालिका–३ स्थित जलसिंह माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा फाल्गुनन्द र फिदिम नगरपालिकाका १२३ जनालाई राखिएको छ ।

चिसो ठाउँ भएका कारण क्वारेन्टाइनमा बस्नेलाई न्यानो कपडासमेत उपलब्ध गराउन नसकिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तित्रखीको भनाइ छ ।

“रेडक्रसबाट प्राप्त भएका तथा खरिद गर्न भेटेसम्म कम्बल खरिद ग¥र्यौं”, उनले भने , “चिसो ठाउँ भएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई समस्या छ ।” उनीहरुलाई खाने र बस्नेको उचित प्रबन्ध गर्न कठिनाइ परेको तिखत्रीले बताए ।

जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिने क्रम निरन्तर रहे सङ्क्रमणको जोखिम बढ्ने भएकाले यथास्थानमा राख्न आग्रह गरिँदै आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताए ।

“सङ्क्रमण फैलिएका जिल्लाबाट समेत पाँचथर आउन पाउनु प¥यो भन्ने माग आएका छन्”, उनले भने , “अब कसैलाई पनि जिल्ला नपठाउन प्रदेश सरकारलाई लिखित आग्रह गरेका छौँ ।”

विगतमा छिमेकी जिल्ला झापाबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । तर अहिले काठमाडौँबाट आउनेलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने स्थिति आउनु चिन्ताको विषय भएको प्रजिअ शर्माको भनाइ छ ।

गाउँ सुरक्षित छ भन्ने भ्रममा अन्य जिल्ला तथा ठूला शहरमा लामो समय रहन सक्ने सक्षम आर्थिक अवस्थाका मानिससमेत गाउँ फर्कन थालेपछि स्थानीयस्तरमा समस्या आएको हो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको बुधबारदेखि शीघ्र डाइग्नोष्टिक परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार उक्त परीक्षणका लागि जिल्लामा मङ्गलबार मात्रै ९०० थान किट प्राप्त भएका छन् । बुधबारदेखि शीघ्र डाइग्नोष्टिक परीक्षण गरी घर फर्काउन थालिने सापकोटाले जानकारी दिए ।

हालसम्म पाँचथरमा २०६ जनाको शीघ्र परीक्षण गरिएको छ भने ३७ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिए ।

हालसम्मका परीक्षणमा कसैको पनि नतिजा पोजेटिभ आएको छैन । सङ्क्रमणको जोखिम अझै पनि उत्तिकै रहेकाले अझै पनि सतर्कतामा कमी हुन नदिइने प्रजिअ शर्माको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ५४ बजे

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई