कोरोनाको हब अस्पतालमा रेबिजविरुद्धको खोप सेवा जारी | Khabarhub Khabarhub

कोरोनाको हब अस्पतालमा रेबिजविरुद्धको खोप सेवा जारी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को ‘हब’ अस्पतालका रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १०० को हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन बिरामी आइरहेका छन् ।

जनावरको टोकाइपछि लगाउने सो खोप सेवालाई सो अस्पतालले नियमित जारी राखेको छ । सो उपचार अन्य अस्पतालबाट गर्न सहज नभएकाले यहीँबाट भइरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए । अस्पतालले यहीँ सानो स्थान यसका लागि छुट्याएको छ । उनले भने, ‘त्यहीँ आएर बिरामीले सेवा लिइरहनुभएको छ ।’

अस्पतालमा गत मङ्गलबार ८५ जना सो सेवा लिन आएका थिए । ‘लकडाउन’ जारी भएपछि रेबिजविरुद्धको खोप लगाउनेको सङ्ख्या यसैका हाराहारीमा रहेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा अस्पतालमा दैनिक झण्डै ३०० जना खोप लगाउन आउने गरेकामा पछिल्लो समयमा त्यो सङ्ख्या तीन गुणा कम भएको छ ।
पहिले काठमाडौं उपत्यका बाहिर टाढा–टाढाबाट समेत सेवाग्राही आउने गरेकामा अहिले त्यो कम छ । यहाँ अहिले आउने अधिकांश सेवाग्राही उपत्यका र धादिङ, काभ्रे, मकवानपुरलगायत उपत्यका नजिकका जिल्लाका छन् । उनले भने, ‘अहिले धेरैजसो उपत्यका बाहिरका जिल्लाबाट आएको पाइँदैन ।’

अस्पतालमा अहिले कुकुर, बिरालो र मुसाको टोकाइका बिरामी उपचारका लागि आउने गरेको निर्देशक डा राजभण्डारीले जानकारी दिए । कतिपय व्यक्ति बाहिरका त कतिपय घरमै पालेको कुकुरले टोकेको भन्दै खोप लगाउन आउने गरेका हुन् । कतिपय व्यक्ति घरमै आफूले पालेको र नियमित खोप लगाइरहेको कुकुरले टोक्दा पनि खोप लगाउने गरेका छन् । उनले भने, ‘जोखिम लिन नचाहेको भन्दै घरपालुवा जनावरले टोक्दा पनि धेरै अस्पताल आइरहेका छन् ।’

कुनै पनि व्यक्तिलाई जनावरले टोक्दा पनि कुन भागमा टोकेको हो त्योअनुसार उपचार पनि फरक फरक हुने अस्पताल निर्देशक डा राजभण्डारीले बताए । ठूलो चोट हुँदा र संवेदनशील अङ्गमा टोक्दा उपचार अरुभन्दा फरक हुन्छ । काठमाडौं उपत्यका बाहिरका विभिन्न अस्पतालमा यो सेवा उपलब्ध भए पनि कतिपय समस्याका लागि बिरामी यही अस्पताल आउने गरेका छन् ।

कतिपय निजी अस्पतालले बिरामी फर्काउने गरेकाले ‘लकडाउन’ को पहिलो सातामा सबै किसिमका सेवा लिन बिरामी आउने गरेका थिए । अहिले अस्पतालले कोभिड–१९ बाहेक अरु सरुवा रोगको उपचार पनि सकेसम्म अन्यत्र जान सेवाग्राहीलाई अनुरोध गरेको छ । रेबिज खोपबाहेक अधिकांश उपचार सेवा अरु अस्पतालबाट हुन थालेको छ । उनले भने, ‘आकस्मिक सेवाका लागि आउने बिरामीको भने उपचार गरिरहेका छौं ।’

सरकारले काठमाडौं उपत्यका र उपत्यका बाहिरका छ अस्पताललाई ‘हब’ अस्पताल घोषणा गरेको थियो । सो अस्पतालसँगै उपत्यकामा पाटन अस्पताल, वीर अस्पताल, नेपाली सेनाको अस्पताल, सिभिल अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताललाई ‘कोभिड–१९’ को हब अस्पताल तोकिएको थियो ।

रेबिज लागेको जनावरले टोकेमा मानिसलाई रेबिज लाग्ने चिकित्सक बताउँछन् । कुकुर, स्याल, चमेरो, बिरालोलगायतका शरीरमा तातो रगत भएका स्तनधारी जनावरबाट यो रोग सर्न सक्छ । रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क गरेको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा १० दिनमा कुकुर मरे पनि त्यसअघि नै तीन वटा भ्याक्सिन लगाउँदा व्यक्ति जोखिममुक्त हुन्छ ।

काठमाडौं उपत्यकाका सडकमा छाडा कुकुर बढिरहँदा कुकुरले टोकेका वा कुकुरका कारण सडक दुर्घटना हुने घटना धेरै छन् । सामान्य अवस्थामा उपत्यकाका पुराना बस्तीमा साँझ पर्नासाथ कुकुरले टोक्ने घटना धेरै हुने गरेको थियो । ‘लकडाउन’ यता भने दिउँसो नै सडकभर कुकुर देखिने गरेका छन् । पशु अधिकारका क्षेत्रमा कार्यरतले यो समयमा कुकुरलगायतका पशुलाई खानेकुराको अभाव भएको बताउँदै आएका छन् । कतिपय संस्थाले कुकुर, बाँदरलगायतका जनावरलाई खुवाउने गरेको पाइन्छ ।


सञ्चिता घिमिरे/रासस

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  २ : ०० बजे

‘खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता’

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र

खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

शिक्षा विधेयकका यी मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकको दबाब

काठमाडौं- निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे

कांग्रेस र एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अघि बढ्दै छन् : सांसद बस्नेत

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले नेपाली

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

मन्थली– रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी