काठमाडौँ– कति नेपालीले सुर्ती सेवन गर्छन् ? नेपालीले सुर्तीजन्य पदार्थमा एक वर्षमा कति रुपैयाँ खर्च गर्छन् ?
यी दुई जिज्ञासाका आधारमा एउटा तथ्यांक हेरौँ ।
पछिल्लो एक अध्ययनअनुसार नेपालको कुल पुरुष जनसंख्यामा ६१ प्रतिशतभन्दा बढीले र महिला जनसंख्यामा झण्डै २२ प्रतिशतले धुमपान गर्छन् । धुमपान भन्नाले धुवाँ पिउने सिगरेट, बिँडी र सुर्ती मिसिएका धुवाँरहित सबै पदार्थ पर्छन् । खैनी, पराग, गुट्खालगायत पनि धुमपानभित्रै गनिन्छन् ।
पत्याउनु हुन्छ कि हुन्न ! नेपालीहरूले वार्षिक ४७ अर्ब रुपैयाँ धुमपान अर्थात सुर्तीजन्य पदार्थमा खर्च गर्छन् । यो खर्च नेपालको कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत हो ।
नेपाली थिङ्क ट्याङ्क संस्था ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनले हरेक वर्ष २७ हजार १०० नेपालीको मृत्यु हुन्छ । सुर्तीजन्य पदार्थले हुने मुटुरोगका कारणले एक वर्षमा करिब साढे १४ हजार नेपालीको मृत्यु हुने गरेको छ ।
अध्ययन प्रतिवेदनअनुसार अप्रत्यक्ष धुपानले सन् २०१७ मा ३ हजार ६८३ जना नेपालीको ज्यान गयो । अप्रत्यक्ष धुमपान भनेको अर्काले गरेको धुमपानबाट हुने असर हो ।
धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगले हुने रोगको उपचारमा खर्च पनि बढ्दो क्रममा छ । सुर्तीजन्य पदार्थ सेवनबाट मुख, घाँटी तथा फोक्सोको क्यान्सर, मुटुको रोगजस्ता गम्भीर प्रकृतिका रोग लाग्ने भएकाले उपचार खर्च निकै विकाराल हुने गरेको छ ।
अध्ययन प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा उच्च सुर्तीजन्य पदार्थ सेवन गर्ने देश हो । अध्ययनका क्रममा अर्को अनौठो तथ्य पनि फेला परेको छ । सुर्तीका उत्पादनमा सबैभन्दा कम कर लिने देश पनि नेपाल नै हो । नेपालमा यस्ता उत्पादनमा ३० प्रतिशतमात्र कर लाग्ने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लिन सिफारिस गरेको छ । यसअनुसार कर लिने हो भने एकातिर राजस्व वृद्धि हुनेछ भने अर्कातिर बढी मूल्यका कारण प्रयोग पनि घट्न सक्नेछ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको अध्ययन प्रतिवेदनअनुसार नेपालमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन र त्यसको परिणामको अवस्था निकै भयावह छ । धुवाँसहित होस् वा धुवाँरहित, सुर्ती सेवन संसारमै प्रचलित निकै पुरानो परम्परा हो ।
अम्मलीले जतिसुकै ठूलो जोखिम पनि बेवास्ता गर्छ । सुर्तीजन्य पदार्थ सेवन नियन्त्रणको मुख्य उपाय प्रभावकारी नियमन र जनचेतना अभिवृद्धि नै हो ।
सरकार राजस्व बढाउन चाहन्छ । सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगको उत्पादन बढाएर बढी राजस्व संकलन गर्ने कि उपभोग घटाउन नियन्त्रणका उपायहरू अपनाउने भन्नेमा सरकार प्रष्ट छैन । नेपालमा बढी राजस्व बुझाउनेमा सामान्यतया चुरोट उद्योगहरू पनि पर्छन् ।
सुर्तीजन्य पदार्थका प्याकेटमा राखिएका खतरासूचक चित्र र सन्देश कानुनी व्यवस्था छल्नका लागि मात्र हुने गरेका छन् ।
उत्पादकहरूले यस्तो चित्र र सन्देश आवश्यकता नभई बाध्यात्मकमात्रै ठान्छन् । धुमपान तथा सुर्तीजन्य पदार्थर्को हानिकारक प्रयोग घटाउन करवृद्धि एउटा उपाय हुनसक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुर्ती उद्योगहरूले हरेक वर्ष ९ अर्ब अमेरिकी डलर बराबरको विज्ञापन गर्छन् । यस्तो विज्ञापन युवा वर्गलक्षित हुन्छ । विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुन्छ । यसैगरी, विश्वमा ४० करोडभन्दा बढीले १३ देखि १७ वर्षको उमेरमा सुर्तीजन्य पदार्थ सेवन सुरु गरेका हुन्छन् ।
नेपाली बजारमा चुरोट, खैनीलयागत सुर्ती मिश्रित गुट्खासमेत सर्वत्र सहजै उपलब्ध हुन्छ । खरिदमा कुनै बन्देज छैन । जुन उमेरको व्यक्तिले पनि किन्न पाउँछ । सेवनमा पनि कुनै किसिमको नियन्त्रण छैन । सार्वजनिक स्थलमा धुमपान निषेध गर्ने नियम छ तर त्यसको कार्यान्वयन शून्य छ ।
मानिसहरु शहरको व्यस्त सडकमा निष्फ्रिक्री चुरोटको धुवाँ उडाउँदै हिँडिरहेको हुन्छ ।
सुर्तीजन्य पदार्थ जति सहज उपलब्ध हुन्छ, स्वास्थ्य समस्याको जोखिम त्यति नै बढी हुन्छ । नेपालमा सुर्तीजन्य पदार्थको सेवन भयावहरूपमा बढ्दो क्रममा छ । ‘सुर्ती सेवन स्वास्थ्यका लागि हानिकारक छ’ भनेर थाहा पाउनेहरू नै सुर्तीका अम्मली छन् ।
प्रतिक्रिया