‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित « Khabarhub

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।

जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ ।

चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो ।
गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो ।
चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए ।

जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन ।

विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमानसहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो ।

गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए ।

मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए ।
नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुआत भयो ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ ।

नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए ।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : ५५ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली