गण्डकी प्रदेशमा सत्ताको खेलले प्रदेशसभाको विशेष बैठक अलपत्र | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा सत्ताको खेलले प्रदेशसभाको विशेष बैठक अलपत्र



पोखरा– राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारको साथ छाडेपछि बदलिएको राजनीतिक घटनाक्रमसँगै गण्डकी प्रदेशमा अराजनीतिक चलखेल बढेको छ ।

यही वैशाख १३ गते शुरू भएको संसदको विशेष अधिवेशन तेस्रो बैठकपछि स्थगित छ ।

घटना १ : गण्डकी प्रदेश सरकारलाई टेको दिँदै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आएमा प्रस्तावको पक्षमा मतदान गर्ने भनेर विज्ञप्ति निकाले ।

जनमोर्चाको विज्ञप्ति आएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न विपक्षी दलहरू कस्सिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिन विपक्षीहरू सहमत भएपछि अविश्वासको प्रस्ताव पेश गर्ने तयारी भयो ।

घटना २ : विपक्षी दलहरूले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते प्रदेश प्रमुख अमिक शेरचनलाई चालु संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरे ।

सिफारिसअनुसार अधिवेशन अन्त्य भयो ।

घटना ३ : वैशाख २ गते अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्दा अधिवेशन अन्त्य भइसकेकोले विशेष अधिवेशन माग गर्दै विपक्षी दलहरू प्रदेश प्रमुखसमक्ष पुगे ।

प्रदेश प्रमुखले वैशाख १३ गते सोमबारका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाए ।

घटना ४ : विशेष अधिवेशन शुरू भएपछि राजनीतिक चलखेल गर्न सत्ता पक्षका सांसदहरूले अधिवेशन लम्ब्याउने प्रयास गरे । प्रदेशसभामा एमालेका २७ जना सांसद छन् । सबै जसोले बैठकमा बोल्न नाम टिपाए ।

पहिलो बैठकमै सत्ता पक्षका सांसदले कोरोना संक्रमणको जोखिम रहेको भन्दै बैठक स्थगित गर्न माग गरे । दोस्रो दिन पनि सत्ता पक्षकै सांसदले कोरोनाको पीसीआर परीक्षण नगरी सदन चल्नै नदिने भन्दै अवरोध गरे ।

घटना ४ : सत्तापक्षको मागमा कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सोही दिन पीसीआर परीक्षणका लागि सबै सांसद र कर्मचारीको स्वाब संकलन गरियो । परामर्श समितिको बैठकमा कोरोना पोजेटिभ देखिए पनि बैठक सञ्चालन गर्ने र संक्रमितलाई मतदान गर्न दिने निर्णय भयो ।

भोलिपल्ट बिहान अस्पतालले सबै सांसद र कर्मचारीलाई परीक्षणको रिपोर्ट दियो । तीन जना सांसद र एक कर्मचारीलाई संक्रमण देखियो ।

घटना ५ : तेस्रो बैठक बुधबार निर्धारित समयमा शुरू भयो । सांसदहरूले बोल्ने क्रम सकिँदै गर्दा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक गायब भए ।

जनमोर्चाकी सांसद पियारी थापाले आफ्ना सांसदलाई बेपत्ता बनाएको भन्दै खोजीका लागि प्रदेशसभा सचिवालयमा उजुरी गरिन् । सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरिदिए ।

घटना ६ : मतदान शुरू हुँनै लाग्दा सांसद हराएपछि सनसनी फैलियो । बेपत्ता भएका सांसद शाही पोखराकै चरक अस्पतालको कोभिड –९ को आइसीयूमा भेटिए ।

सरकारी अस्पतालमा स्वाब दिएका शाहीले सोही दिन पोखराकै प्राइभेट ल्याबमा स्वाब दिएको र त्यसको रिपोर्ट पोजेटिभ आएको भनी दुई वटा रिपोर्ट सार्वजनिक गरिए ।

अस्पताल प्रशासनले जनमोर्चाका सांसदहरूलाई शाहीसँग भेट गर्न नदिएपछि जनमोर्चाका नेताहरूले गम्भीर षड्यन्त्रको गन्ध देखे । पीसीआर रिपोर्ट नेगेटिभ आएका सांसदलाई एकाएक कसरी पोजेटिभ देखियो भन्ने सबैलाई संशय पैदा भयो ।

घटना ७ : बिहीबार शाहीका नामबाट प्रकाशित विज्ञप्तिमा आफू जनमोर्चाबाट निर्वाचित भएको तथा पार्टीको निर्णय र संसदीय दलको बैठकमा आफू सहभागी भएकाले ती निर्णयहरूमा सहमति कायमै रहेकोले उल्लेख गरिएको छ ।

शाहीको विज्ञप्ति आएकै दिन मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाए । मन्त्रालय नै फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको शपथ दिलाइयो ।

बैठकका लागि ‘एलर्ट’

गण्डकी प्रदेशमा भएको सत्ताको यो खेलले देशैभर खैलाबैला मच्चाएको छ । अनिश्चितकालका लागि स्थगित गरिएको बैठक जुनसुकै बेला हुन सक्ने भन्दै प्रदेशसभा सदस्यहरूलाई चौबीसै घण्टा तयारी भएर बस्न भनिएको छ ।

सत्तारुढ एमालेका सांसद जनकलाल श्रेष्ठ भन्छन्, ‘एकातर्फ कोरोना संक्रमणको जोखिम बढेको भन्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ, अर्कोतर्फ तयारी अवस्थामा बस्ने अर्डर भएको छ ।’

गण्डकी प्रदेशका सबै सांसदहरू बैठकका लागि अर्को सूचना प्रकाशित हुने प्रतीक्षामा छन् तर दलहरूबीच कुरा मिल्न सकेको छैन ।

घटनाक्रमको यस्तो शृंखलामा प्रदेशसभा सदस्यहरूले संसदीय परिपाटीको दोष देख्न थालेका छन् । बहुमत पुर्‍याउन सक्नेले बैठक राख्न खोज्ने र अल्पमतमा हुनले रोक्ने रणानीति जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा बताउँछन् ।

सांसद शाहीको विज्ञप्ति आए पनि घटनाले आशंका पैदा गरेको थापा बताउँछन् । घटनाबारे पार्टीले छानबिन गरिरहेको उनको भनाइ छ ।

अविश्वासको प्रस्ताव पेश भएर छलफल भइरहेको अवस्थामा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर अर्को अनैतिक काम गरेको नेपाली कांग्रेसकी सांसद ओमकला गौतमको भनाइ छ ।

विपक्षी दलका सांसदहरूले आफूहरू असुरक्षित भएको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ५० बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा