ब्राजिलमा कोरोना : अहङ्कारी नेतृत्वको परिणाम | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना : अहङ्कारी नेतृत्वको परिणाम


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महामारीको व्यवस्थापन गर्न नसकेको र व्यापक मानवीय क्षति भएको ठहर गर्दै ब्राजिलका राष्ट्रपति जायर बल्सनारोको विरोधमा शनिबार हजारौँ मानिस सडकमा निस्किए ।

ब्राजिलका ठूला शहर रियो द जेनरियो, साओ पावलो र ब्राजिलियामा हजारौँ मानिस भेला भएर प्रदर्शन गरेका हुन् । सामाजिक दूरीको प्रोटोकल ध्यानमा राखेर प्रदर्शन भएको थियो । धेरै मानिस मास्क लगाएर प्रदर्शनमा उत्रिएका थिए ।

ब्राजिलमा कोरोनाको तेस्रो लहर शुरू भएको छ । शनिबारमात्र ७९ हजार ६७० जनामा संक्रमण देखियो, २०१२ जनाको ज्यान गयो । ब्राजिलमा १ करोड ६० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ, ४ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । कुल २१ करोडभन्दा बढी जनसंख्या रहेको यो देशमा १ करोड ९० लाख अर्थात् ९ दशमलव ४ प्रतिशत भन्दा कमले मात्र खोपको मात्रा पूरा गरेका छन् ।

कोरोना महामारी शुरू भएसँगै बल्सनारोले यो एक सामान्य रुघाजस्तै भएकाले मास्क लगाउन र सामाजिक दूरी बनाउन आवश्यक नहुने धारणा व्यक्त गरेका थिए । यसै कारण मानिसहरू अहिले उनलाई नरसंहारकारी भन्न थालेका छन् । ब्राजिलको संसद्ले बल्सनारोसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

विरोध प्रदर्शनमा सहभागी एक नर्सले राष्ट्रपति बल्सनारो कोरोना भाइरसभन्दा बढी घातक भएको प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो देशको स्वास्थ्य संयन्त्र काम नलाग्ने भइसकेको र बल्सनारोको नेतृत्व रहेसम्म कोरोना महामारी नियन्त्रणमा नआउने बताइन् ।

विद्यार्थी फर्टेज बर्नान्डा सिल्भाले त यो प्रदर्शन कोरोनाका कारण निधन भएका ४२ वर्षीय उनका काकाप्रतिको सम्मान भएको प्रतिक्रिया दिएकी छिन् । उनले काकाले भ्याक्सिन नपाएर ज्यान गुमाएको र आफूहरू भ्याक्सिनका लागि सङ्घर्षमा उत्रिएको बताइन् ।

सिल्भाका काकाको फेब्रुअरीमा मृत्यु भएको थियो, उनी दुई सन्तानका बाबु थिए । सिल्भा ब्राजिलले सही समयमा भ्याक्सिन जोहो गर्ने नीति लिएको भए काकाको ज्यान बच्न सक्ने बताउँछिन् ।

सिल्भाले महामारीको मध्यमा सडकमा आउनु कति जोखिमपूर्ण हो भन्ने बुझे पनि आफू बाध्य भएर प्रदर्शनमा उत्रिएको प्रतिक्रिया दिएकी छिन् । उनले अहिले पनि हजारौँ व्यक्ति मरिरहँदा राष्ट्रपतिले यसलाई बेवास्ता गरेको आरोप लगाइन् ।

पर्नाम्बुमा बाहेक अन्यत्र भएका प्रदर्शन शान्त थिए । पर्नाम्बुमा प्रदर्शनकारीलाई तितरबितर पार्न रबरका गोली, ग्यास बम र अश्रुग्यास प्रयोग गरिएको थियो ।

सो प्रान्तका उपगभर्नर लुसियाना सान्टोसले केन्द्रीय सरकारको आदेश नभई प्रहरीले आफ्नै योजनामा यसो गरेको बताएका छन् । गभर्नर पावलो कमाराले दमनमा संलग्न प्रहरी अधिकृतहरूलाई  निलम्बन गरेका छन् । स्थानीय सांसद तथा विपक्षी मजदुर पार्टीकी कार्यकर्ता लियना सिस्नेले घटनाको विरोध गरेकी छन् ।

राष्ट्रपतिले मोटरसाइकल र्‍याली आयोजना गरेको एक सातापछि विरोध प्रदर्शन भएको हो । विपक्षीहरूले महामारी अन्त्य गर्न राष्ट्रपति असक्षम रहेको ठहर गर्दै न्यायालयम निवेदन गरेपछि बल्सनारोले आफ्नो बचाउका लागि सडकमा समर्थकहरू उतारेका थिए ।

कोरोनाको पहिलो लहरले नै आक्रान्त बनेको ब्राजिलमा डरलाग्दो दोस्रो भेरिएन्ट भेटियो । ब्राजिलभन्दा पहिले बेलायती भेरिएन्ट भेटिए पनि भ्याक्सिनको प्रभावकारितामा कमी देखिएको थिएन । बेलायती भेरिएन्टपछि ब्राजिल र दक्षिण अफ्रिकामा निस्किएका भेरिएन्टमा भ्याक्सिनको प्रभावकारितामा पनि कमी आएको छ ।

शुरूमा बेवास्ता गर्दै आएका राष्ट्रपति बल्सनारो अप्रिलको शुरूवातमा आइपुग्दा महामारीको सवालमा गम्भीर नभएका होइनन् । यसको एक वर्षअघि संसार नै लकडाउनको अवस्थामा रहँदा पनि उनी लकडाउनले गरिबलाई अझ गरिब बनाउँछ भन्दै विपक्षमा उभिए ।

लकडाउनका पक्षमा रहेका प्रान्तीय र स्थानीय सरकारका अधिकारीलाई उनले निरङ्कुश भने । भ्याक्सिनको सुरक्षा र प्रभावकारितामा प्रश्न उठाउँदै उनले आफूले कुनै हालतमा भ्याक्सिन नलगाउने पनि भने । उनले फाइजरको भ्याक्सिनले अन्य देशमा अनुमति पाउने बित्तिकै यसले मान्छेलाई कछुवा बनाउने प्रतिक्रिया दिएका थिए ।

ब्राजिलका जनता भ्याक्सिनका लागि तड्पिरहेको समयमा पनि राष्ट्रपति बल्सनारोले मौका खेर फालेका थिए । उनले नागरिकहरूलाई महामारीको बारे चासो नलिन भनिरहे । राष्ट्रपतिको यसै अहङ्कारले ब्राजिलको अवस्था यति धेरै खराब हुन पुग्यो ।

त्यहाँका जनता भ्याक्सिनका लागि तड्पिरहेको समयमा पनि उनले मौका पनि खेर फालेका थिए । उनले त्यहाँका नागरिकलाई महामारीको बारे चासो नलिन भनिरहे । राष्ट्रपतिको यसै अहङ्कारले ब्राजिलको अवस्था यति धेरै खराब भयो कि कतिपय दिन त कोरोनाका कारण संसारमा मर्ने संख्याको एक चौथाइ ब्राजिली नै हुन्थे ।

जनसंख्याको आधारमा ब्राजिलमा मर्नेको संख्या हङ्गेरी, चेक गणतन्त्र, मन्टेनेग्रो, बोस्निया हर्ज गोभिना र बुल्गेरिया भन्दा ब्राजिलको कम छ । तर, यी देशहरूमा कम जनसंख्या छ र सबैको तथ्याङ्क प्राप्त भएको छ ।

ब्राजिलमा भने कम परीक्षण हुने गरेका कारण कोरोनाले मर्ने सबैको तथ्यांक पनि नभएको हुनसक्ने अनुमान गरिएको छ । मृत्युको आँकडामा पनि ब्राजिलको अवस्था खराब रहेको अनुमान गरिएको छ ।

शुरूमै खराब अवस्था रहेको ब्राजिलमा नयाँ भेरिएन्ट देखिएपछि मार्चदेखि मान्छेको मृत्यु दोब्बर वृद्धि भयो । जुलाईसम्ममा यहाँ ५ लाखभन्दा बढीको ज्यान जाने अनुमान गरिएको छ ।

दोस्रो लहर बढेपछि त्यहाँ पनि थुप्रै प्रान्तीय र स्थानीय सकारले लकडाउन गरे । यसका बाबजुद ब्राजिल सधैँ पूर्ण लकडाउनको विपक्षमा रह्यो । अप्रिलमा आइपुग्दा त ब्राजिलको स्वास्थ्य संयन्त्र केही पनि गर्न नसक्ने भइसकेको ड्युक विश्वविद्यालयका प्रोफेसर तथा नसारोग विशेषज्ञ मिगुइल निकोलेटिस बताउँछन् ।

दक्षिण अमेरिका भ्याक्सिनमा त्यति पछाडि त रहेको छैन जति अफ्रिका र एसिया छन् । दक्षिण अमेरिकामा पनि चिली र उरुग्वेभन्दा ब्राजिल पछाडि छ । आश्चर्य त के छ भने ब्राजिलमा जसरी भ्याक्सिन परीक्षण भयो र यसका लागि सम्झौता भयो त्यसको तुलनामा वितरण भने असाध्यै सुस्त भयो ।

ब्राजिलमा भ्याक्सिनको परीक्षण धेरै भएको थियो । ब्राजिलमै अक्सफोर्डको भ्याक्सिन परीक्षण गरिएका एक स्वयंसेवकको मृत्यु पनि भएको थियो । उनको मृत्युको कारण भ्याक्सिन नभई अन्य केही भएको ठहर भएपछि परीक्षणले निरन्तरता पाएको थियो ।

यसपछि सिनोभ्याकको परीक्षणमा सामेल एक जान गम्भीर बिरामी भए । उनी बिरामी हुनुको कारण पनि भ्याक्सिन होइन भन्ने ठहर भएपछि परीक्षणले निरन्तरता पाएको थियो । यो भ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको ठहर भएपछि त्यहाँ उपयोग पनि गरियो ।

ब्राजिलमै जोन्सन एन्ड जोन्सनको भ्याक्सिनको पनि परीक्षण भएको थियो । यति धेरै परीक्षणका बाबजुद ब्राजिलले गरेको आलटालका कारण त्यहाँ अझ लामो समय समस्या रहने देखिएको छ ।

ब्राजिलको अहिलेको समस्या मृत्यु दरमात्र होइन । मृत्यु हुनेहरूको उमेर हेर्दा यो अवस्था अझ भयावह देखिएको छ । अप्रिल १५ मा प्रकाशित तथ्याङ्कअनुसार त्यहाँ १३ हाराहारीमा बालबालिकाको ज्यान गएको जनाइएको थियो ।

यसरी ज्यान जानुमा त्यहाँको लापरबाही नै प्रमुख कारण भएको ठानिएको छ । ब्राजिलकी  एक महिला एक वर्ष उमेरको आफ्नो छोरालाई चिकित्सकले कोरोनाको लक्षण छैन भनेर परीक्षण नगरेको र पछि गम्भीर कोरोना लक्षण देखिएर ज्यान गएको बताउँछिन् । शिक्षिकाको रूपमा कार्यरत जेसिका रिकार्टेले आफू गर्भवती भएदेखि तिनै चिकित्सकसँग परीक्षण गराउँदै आएकी थिइन् ।

जेसिकाको सम्पर्कमा रहेकी एक नर्सले ती बालकलाई ज्वरो आएको र सास फेर्न कठिन भएको भनेपछि अस्पताल लगिएको थियो । अस्पतालमा बच्चाको अक्सिजन लेभल ८६ प्रतिशत भए पनि चिकित्सकले कोरोना जाँच आवश्यक नभएको र अन्य कारणले यसो भएको बताएका थिए । चिकित्सकको सल्लाह बमोजिम एन्टिबायटिक प्रयोग गरिए पनि १० दिनसम्म सुधार भएन ।

यसपछि उनी जति आत्तिए पनि उनका पारिवारिक सदस्यले कोरोना सम्बन्धी समाचार हेरेको कारण मानसिक समस्या उत्पन्न भएको भन्दै यस्तो समाचार नै हेर्न बन्द गर्नुपर्छ भने । ती बालकले बान्ता गर्न थालेपछि नजिकको अस्पताल लगियो जहाँ कोरोना पोजेटिभ भेटियो । त्यसको दुई मिनेटपछि नै चिकित्सकले शरीरका धेरै अङ्ग फेल भइसकेको बताए ।

करिब एक महिनाको उपचारपछि ती बच्चाको अवस्था धेरै सुधार भएकोमा बाबुआमा खुसी थिए । अकस्मात फेरि अक्सिजन लेभल घटेर तिनको ज्यान गयो । पहिलो पटक कोभिड शङ्का लागेको समयमा डाक्टरले परीक्षण गरेका भए यस्तो अवस्था नआउने थिएन भन्दै बाबुआमा गुनासो गर्छन् । यस्ता उदाहरण ब्राजिलमा धेरै भेटिन सक्छन् ।

२०२० फेब्रुअरीदेखि १५ मार्च २०२१ सम्म ब्राजिलमा नौ वर्षभन्दा कम उमेरका ८५२ बालबालिकाको ज्यान गयो । यीमध्ये ५१८ एक वर्षभन्दा कम उमेरका थिए । ब्राजिलका सरुवा रोग विशेषज्ञ डा. माउरिन्हो सही समयमा परीक्षण नभएका कारण बालमृत्यु दर दोब्बर भएको बताउँछन् । उनका अनुसार नौ वर्षभन्दा कम उमेरका लगभग २१ सय जना बालबालिकाको ज्यान गएको छ जसमध्ये १३ सय जति हाराहारी एक वर्षका थिए ।

दोस्रो लहर शुरू भएपछि ब्राजिलका युवा र बच्चामा धेरै समस्या देखिएको छ । धेरै चिकित्सकहरू समयमा ध्यान दिएको भए स्वास्थ्य संयन्त्रले उपचार गर्न सक्ने थियो र युवा र बच्चाको यति धेरै ज्यान जाने थिएन भन्छन् ।

चिकित्सकहरूले त उत्तरी ब्राजिलमै म्युटेसन भएर नयाँ भेरिएन्ट निस्कन सक्ने चेतावनी दिँदै लकडाउन गर्न सल्लाह दिएका भए पनि  राष्ट्रपतिले अस्वीकार गरेका थिए  ।

यो महामारीमा धेरै राष्ट्रका नेतृत्वले आफूलाई योग्य सावित गरेका छन् । यसमा दक्षिण कोरिया, चीन र भियतनाम लगायत छन् । केही यस्ता शासक पनि रहे जसलाई शायद इतिहासले क्षमा दिने छैन । बल्सनारोलाई यही कोटीमा राख्दै ब्राजिलका जनता सडकमा ओर्लिएका छन् ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : ०७ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको