धनतेरसका दिन केके किनिन्छ ? | Khabarhub Khabarhub

धनतेरसका दिन केके किनिन्छ ?


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए ।

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ ।

धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।

केके किनिन्छ यस दिन ?

भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ ।

धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ ।

साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।

धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ ।

सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ-तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ ।

आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ । आजकै दिनदेखि तिहार सुरु भए पनि तिथिमा परेको घटबढका कारण भोलि (बुधबार) नै काग तिहार र कुकुर तिहार मनाइँदै छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : २० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको