विश्वजगत् नै आक्रान्त भइरहेको विपत्तिको यो समयमा कोरोनाले कहिले यो संसारलाई आफूबाट मुक्त पार्छ भन्ने भविष्यवाणी गर्न कठिन होला । संसारभरिका वैज्ञानिकहरू एकजुट भएर यस विपत्तिबाट मुक्त हुन दिनरात नभनी लागिरहेका छन् । यो अवस्थाबाट संसारले ठूलो क्षति व्यहोर्नु परेको छ ।
वर्तमान परिस्थिति मानवजगतको लागि अनौठो र अविस्मरणीय घटना हो । यसले मानव सभ्यतालाई नै ठूलो चुनौती दिइराखेको छ । समयको छोटो अन्तरालमा नै यस महामारीको परिवर्तनको थप कडा रूपले भयाभय हुँदै गएको कुरा यो विषम परिस्थितिबाट सजिलै बुझ्न सकिन्छ ।
यस्तो अवस्थाले विश्व समुदायमा ठूलो त्रास हुनु स्वाभाविक नै हो, उपरान्त यसलाई स्वीकारेर बाँच्नुको विकल्प पनि छैन । प्रायः संसारभरि नै स्वास्थ्यको मापदण्ड बनाएर पालनामा कडाइ गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन नपाउने गरी लकडाउन घोषणा गरिएको छ । कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि नै यो सब गरिएको हो ।
विश्वमा यस रोगको दोस्रो लहर दु्रत गतिमा फैलिरहेको छ । यसले लाखौँको ज्यान लिएको छ । सबैजना घरमै बस्नू र कोरोनाबाट सुरक्षित रहनू भन्ने विज्ञहरूको सुझाब छ । यसको अर्को विकल्प पनि छैन । अर्को नजरबाट हेर्ने हो भने लगातारको कार्य व्यस्तताले थकित शरीरहरूको लागि आराम गर्ने र परिवारसँग समय बिताउने मौका पनि होला ।
भनिन्छ चिताले एकपटक जलाउँछ तर चिन्ताले बारम्बार जलाउँछ । चिन्तामा जलिरहेको मन मस्तिष्कलाई सकारात्मक बनाइराख्न नसक्दा पनि चिन्ता झन् बढ्छ ।
मानिसको स्वभाव सदैव एउटै परिस्थितिमा सहज मान्दैन । समयको अन्तरालसँगै नयाँ चाहना राख्नु हरेकको लागि सामान्य कुरा हो । महामारीको यस्तो सन्त्रास कहिले कम होला र कहिले खुलेआम बाहिर निस्कन पाइएला भन्ने कुरा हाललाई कल्पना गर्न पनि कठिन छ ।
घरमा बस्नु पनि एक हिसाबले फुर्सदको बेग्लै अनुभव हुनसक्छ तर सबैको निम्ति सधैँ सकारात्मक हुने कुरा भएन । मानिसको मन हो, यसलाई कतिबेला कुन कुराले घेर्छ त्यसको पत्तो हुँदैन । त्रास त छँदैछ, अनावश्यक चिन्ता पनि थपिन्छ । भनिन्छ चिताले एकपटक जलाउँछ तर चिन्ताले बारम्बार जलाउँछ । चिन्तामा जलिरहेको मन मस्तिष्कलाई सकारात्मक बनाइराख्न नसक्दा पनि चिन्ता झन् बढ्छ ।
सबैको जिन्दगीमा एक न एक पटक कठिन समय आउँछ । यो बिर्सनु हुन्न कि त्यो कठिन परिस्थिति पनि एउटा ठूलो शिक्षा हो । आज विश्वले एउटा कठिन समयको सामना गर्नुपरेको छ । आशा राखौँ कि यो दुःखको अन्त्य हुनेछ र वातावरण सामान्य बन्नेछ । हालको प्राथमिकता घरमा सुरक्षित बसेर आउने दिनको लागि प्रार्थना गर्ने नै हुनुपर्छ ।
यतिले मात्र जिन्दगीको गति अघि बढ्दैन । सम्भवतः यो प्राकृतिक विपत्ति मानिसका लागि एउटा ठूलो पाठ भएर आएको छ जसले नयाँ जीवनशैली सिकाउँदै छ । मानिसको खानपिन, रहनसहन, यात्रा, सामाजिक व्यवहार इत्यादि पर्छन् । अब पनि मानव समुदायले यस अनुरूप आफूलाई भविष्यको निम्ति तयार पार्दैन भने आउने दिनमा कस्तो अवस्था सामना गर्नुपर्छ भन्ने कुरा सोच्न पनि कठिन हुनेछ ।
अहिलेको कठिन अवस्थालाई धैर्यका साथ सामना गर्नु नै सबैभन्दा उत्तम उपाय हो । कतिपय मानिसहरू कोभिडले दिएको फुर्सद कसरी बिताउने भन्ने समस्यामा परेका छन् ।
यसको एउटा मुख्य उपाय आफूलाई अध्ययनमा व्यस्त राख्नु हो । अध्ययनले मानिसमा आशाको ज्योति जगाउँछ । स्वाध्ययनले मानिसलाई व्यस्त राख्छ, चिन्ता दूर गर्न सघाउँछ, ज्ञानको भण्डार बढाउँछ, धैर्यशील बनाउन पनि सघाउँछ ।
धेरै जसो घरमा संसारसँग जोडिने सुविधा उपलव्ध छ । यो सुविधाले स्वाध्ययनलाई सजिलो बनाउन सक्छ । यस्तो प्रयोगबाट हामीले आफूलाई व्यस्त राख्न सक्छौँ, हामी सुरक्षित पनि हुनेछौँ । आज प्रायःजसोका घरमा इन्टरनेटको पहुँच छ । हामी त्यसको भरपूर प्रयोग गरेर ज्ञानको भण्डार बढाउन सक्छौँ । आफूलाई व्यस्त राख्न सक्छौँ ।
समयको उपयोग फलदायी भएको छ कि छैन भन्ने पनि विचार गर्न आवश्यक पर्छ । समय बिताउने क्रममा कतै बाटो बरालिएको त छैन भन्ने विचार गर्न आवश्यक छ । फुर्सmको समय सदुपयोग हुन सक्यो भने त्यसले आउने व्यस्त समय पनि उपयोगी बनाउँछ ।
गत वर्षको लकडाउनमा यति कुरा सिकेको भए आज केही फाइदा हुने थियो, त्यति लामो फुर्सद त्यतिकै बित्यो भन्ने पनि कतिपयलाई लागेको होला । त्यो पछुतोले पनि केही सिकाएकै हुनुपर्छ । फुर्सदको यो समय अध्ययनको निम्ति सदुपयोग गर्न सक्दा यी दिनमात्रै होइन र आगामी दिनहरू पनि उपयोगी हुनेछन् ।
हामीलाई कोरोनाको यो समयमा कसरी सुरक्षित रहने भन्ने चिन्ता त छँदैछ, यससँगै फुर्सद कसरी कटाउने भन्ने औडाहा पनि छ । सदुपयोग गर्न सक्दा यस्तो फुर्सद एउटा राम्रो मौका बन्न सक्छ स्वाध्ययनका लागि ।
कुनै किताबको हरफ नै नपढी हुँदै भन्ने पनि होइन । सुनेर र हेरेर पनि ज्ञानको विस्तार गर्न सक्छौँ । केही यस्तो सिर्जनात्मक अध्ययनमा आफूलाई व्यस्त गरौँ जसले हामीलाई तनावबाट मुक्त गरोस्, यो बेलाको दुःख भुलाउन मद्दत गरोस् ।
आज हामी सबैजना घरमा छौँ । छोराछोरीहरू अनलाइन पढाइमा छन् । हरेक दिन विद्यालयको तालिकाअनुसार विभिन्न विषयमा उनीहरू आफ्नो ज्ञान बढाउने प्रयत्नमा छन् । भनिन्छ, बालबालिकाका लागि घर पहिलो विद्यालय हो र अभिभावक पहिलो शिक्षक । यो सिद्धान्त अभिभावक र बालबालिका दुवैलाई व्यस्त राख्न सहयोगी हुन्छ ।
अध्ययन सँगै आज हामीले बुझ्नुपर्ने अर्को पक्ष हाम्रो दिनचर्या पनि हो । प्रतिरक्षात्मक क्षमता वृद्धि गर्ने भन्दै हामीले अनावश्यक रूपमा बढी खाइरहेका त छैनौँ ! कतिपयले यो पनि सोच्न जरुरी छ । सही खाना छनौट गर्न पनि जान्नुपर्छ । फुर्सदको समय शारीरिक व्यायामका लागि पनि उपयोगी हुन सक्छ ।
यसले हामीलाई शारीरिक रूपमा स्फूर्त राख्न र मानसिक तनावबाट मुक्त राख्न मद्दत गर्छ । यसकारण फुर्सदको समय उपयोगी बनाउने प्रयास गरौँ । व्यक्तिगत हिसाबले लकडाउनले दिएको फुर्सद एउटा मौका पनि बन्न सक्छ ।
प्रतिक्रिया