निश्चय नै विश्वमा वातावरण विनाश बढ्दो क्रममा छ । यसले मानव अस्तित्वमाथि नै संकट उत्पन्न हुन थालेको भन्ने चिन्ता पनि प्रकट हुने गरेको छ ।
वातावरण विनाशको तीव्रताका अनेक लक्षणहरू देखिएका छन् । प्राकृतिक वातावरण संरक्षण आजको विश्वको ज्वलन्त चिन्ता र चासोको विषय हो । आज विश्व वातावरण दिवसका अवसरमा नेपालको सन्दर्भमा केही कुरा गरौँ ।
हाल नेपालमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित वनसहित करिब ४५ प्रतिशित भूमि संरक्षित वन क्षेत्रले ढाकेको छ । यस अतिरिक्त संरक्षण क्षेत्रहरू पनि छन् । सीमसार क्षेत्रहरू संरक्षित छन् । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ ले वन्यजन्तुतको प्राकृतिक वासस्थानको संरक्षण गर्छ । अन्य कतिपय ऐनहरूमा प्राकृतिक वातावरण संरक्षणका प्रावधानहरू छन् । नेपाल प्राकृतिक वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षराष्ट्र रहेको छ ।
संरक्षित वन क्षेत्रको हिसाबले नेपाल निकै उत्कृष्ट अवस्थामा छ । कुल भूभागको ४० प्रतिशतभन्दा माथि वनक्षेत्र हुनु चानचुने कुरा होइन । शून्य वन अर्थात वन नै नभएका कति देशहरू समृद्धशाली छन् । यति धेरै वन क्षेत्र भएर पनि नेपालले वनबाट अपेक्षित लाभ हासिल गर्न सकेको छैन । वनको उचित व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।
वन्यजन्तुका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित क्षेत्रहरू छन् । वन्यजन्तुहरू कहिलेकाहीँ मानवबस्तीमा छिर्छन् । चितवनतिर कहिलेकाहीँ मध्य शहरमा गैँडा हिँड्छ । बाघ, हात्ती, गैँडा जस्ता जनावरले मानिस मार्ने घटनाहरू हुने गरेका छन् । मानिस र वन्यजन्तुका बीच द्वन्द्व चलिहरन्छ । जब राज्यद्वारा संरक्षित क्षेत्रका संरक्षित जनावारले मानिसको ज्यान लिन्छ वा अन्य हानी पुर्याउँछ, त्यो उच्च सरोकारको मुद्दा बन्छ । संरक्षित क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा यस्तो समस्या बारम्बार देखापर्छ ।
शहरी क्षेत्र भएर बग्ने नदी/खोलाहरू असीमित रूपमा प्रदूषित छन् । राजधानी उपत्याकामा नदीहरू मृत अवस्थामा छन्; नदी होइन, ढल बनेका छन् । नदीमा जलचर हुँदैन र मानिसको संस्कृतिसँग जोडिँदैन भने त्यो नदी नै रहँदैन । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म शहरी क्षेत्र भएर बग्ने सबै नदीको दुर्दशा छ ।
विराटनगरको केसलिया होओस् कि काठमाडौँका वाग्मती र विष्णुमती होउन् वा काभ्रेको पुण्यमाता किन नहोस् सबै ढलमा परिणत भएका छन् । मिथिला संस्कृतिसँग जोडिएका जनकपुरका सरोवरहरू प्रदूषण र अतिक्रमणले अस्तित्वको संकटमा छन् । शहरी क्षेत्रमा देशभरि यस्तै अवस्था छ । प्रकृतिले हामीलाई अनेक उपहार दिएको छ तर हामीले व्यवस्थापन गर्न सकेका छैनौँ । हाम्रा अनमोल प्राकृतिक सम्पदाहरू जोगाउन सकेका छैनौँ ।
नेपालमा एक लाखभन्दा बढी पहाडी थुम्काहरू छन् । यी यीमध्ये हजार, दुई हजार थुम्का सम्याएर स्मार्ट शहर बसाउन सकिन्छ । यस्ता आधुनिक बस्तीलाई द्रुत गतिका मार्गले ठूला शहरसँग जोड्न सकिन्छ ।
शहरी क्षेत्रहरू भल बाढीको चपेटमा पर्न थालेका छन् । काठमाडौँ उपत्यकाका घनाबस्तीहरू मनसुनको भलमा अनपेक्षित ढङ्गले डुबानमा पर्न थालेका छन् । हामीले शहर बसायौँ, ठूलाठूला घरहरू बनायौँ तर भल निकासको उचित व्यवस्थापन गरेनौँ । पूर्व–पश्चिम राजमार्गमा बसेका अधिकांश शहरहरू मध्य मनसुनमा कैयौँ दिन डुबानमा पर्ने गरेका छन् । जनधनको क्षति हुने गरेको छ ।
कङ्क्रिटको शहर बढ्दै गएपछि शहरी क्षेत्रमा जमिनले वर्षाको पानी सोस्ने क्रम घट्यो । थारै समयमा आकाशे पानीले ठूलो क्षमता देखाउँछ । जमिनले पानी सोस्न नपाएपछि भलको समस्या बढ्छ र यसले अनपेक्षित क्षति गराउँछ । शहरी क्षेत्रमा पानीको प्राकृतिक वहाव खलबिलयो तर शहरी योजनाले भलको उचित निकास दिन सकेन । अब हरेक वर्ष भलको डुबानमा पर्नु, त्यसको रमिता हेर्नु र क्षति व्यहोर्नु बासिन्दाहरूको नियति बन्न थालेको छ ।
यता जमिनले पर्याप्त पानी शोषण गर्न नसक्दा जमिनमुनि पानीको सतह घट्दैछ । फेरि, जमिनमुनिको पानी तानेर सिँचाइ गर्ने क्रम पनि बढ्दो छ ।
हाम्रा लागि डढेलो अर्को ठूलो विपद् बन्दैछ । वनमा डढेलो लगाउने हाम्रो परम्परागत धारणा परिवर्तन हुन सकेको छैन । हामीसँग डढेलो नियन्त्रण गर्ने प्राविधक संयन्त्र पनि छैन । वायु प्रदूषण हाम्रो अर्को ठूलो चिन्ताको विषय हो । काठमाडौँ शहर विश्वका उच्च प्रदूषित शहरहरूको सूचीको अग्रस्थानमा पर्न थालेको छ । काठमाडौँको चर्चा बढी भए पनि तराई क्षेत्रका ठूला शहरहरू पनि कम प्रदूषित छैनन् । वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरू अवलम्बन हाम्रो प्राथमिकतामा पर्न सकेको छैन ।
फोहोरमैला व्यवस्थापन अत्यन्त कमजोर छ । ठूला शहरहरू जैविक र अजैविक सबै प्रकारका फोहरहरूले प्रदूषित बन्दै गएका छन् । आधुनिक प्रविधिको द्रुत विकाससँगै अजैविक फोहरको मात्रा बढ्दो छ । हामीले ल्यान्डफिल बाहेक फोरहमैला व्यवस्थाको अर्को प्रविधि भित्र्याउनै सकेका छैनौँ । ल्यान्डफिल पनि वैज्ञानिक छैन ।
उपयुक्त ल्यान्डफिल साइटहरू पहिचान गर्न र तिनीहरूलाई राज्यप्रणालीको नियन्त्रणमा राख्न सकिएको छैन । फलस्वरूप कहिलेकाहीँ हप्ता दिनसम्म पनि शहरको फोहोर उठ्दैन । यस्तो समस्या काठमाडौँको मात्रै होइन, अन्य शहरहरूमा पनि देखिन थालेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटले व्यापारघाटा कम गर्न ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने भनेपछि यसले पक्ष–विपक्षमा ठूलै बहस सिर्जना गरेको छ । अहिले पनि ढुङ्गा, गिटी र बालुवाको व्यवस्थापन राणाकालको मुखियाका पालाको जस्तै छ । पहिलेका जिल्ला विकास समिति (जिविस) ले गरेजत्तिको व्यवस्थापन पनि छैन अहिले । आजकाल आईई गर्ने भनेको ठेक्का लगाउनलाई हो, लगाउन हुँदैन कि भनेर जाँच्नलाई होइन, वातावरण संरक्षणका लागि होइन ।
आजको नेपालको मुख्य वातावरणीय मुद्दा वातावरण संरक्षण होइन, वातावरण व्यवस्थापन हो । नेपालले जुन वातावरणीय विनाश भोग्दैछ, त्यो प्रकृति संरक्षण नगरेर होइन, संरक्षित क्षेत्रको उचित व्यवस्थापन नगरेर हो ।
नेपालले ढुङ्गा, गिटी र बालुवा निकासी गर्न नसक्ने होइन तर चुरे पहाडका भित्ता फोरेर, नदीबाट धमाधाम बालुवा निकालेर होइन । इन्जिनियरिङ, भूगर्भशास्त्रीय र अन्य आवश्यक वैज्ञानिक अनुसन्धान गरेर त्यसको सुझाबअनुसार मात्रै उत्खनन् गर्नुपर्छ । नदीबाट बालुवा निकाल्दा नदीको सतह र पानीको वहावको वैज्ञानिक अध्ययन हुनुपर्छ ।
मानिसले विकास निर्माणको काम प्रकृतिमै गर्ने हो, प्राकृतिक स्रोतसाधन नै प्रयोग गर्ने हो । यस क्रममा प्राकृतिक वातावरणमा क्षति पुग्छ तर विकास त रोकिँदैन । प्रकृति र मानव समुदायमा कमभन्दा क्षतिमा विकासका काम गर्नुपर्छ । यसो गर्न गहन वैज्ञानिक अनुसन्धान आवश्यक पर्छ । हामीलाई स्मार्ट विकास र स्मार्ट शहरहरूको आवश्यकता छ । हाम्रो निकै पुरानो शहर राजविराज आज कुन अवस्थामा छ ! निकै नयाँ शहर सुर्खेत कता जाँदैछ ! गम्भीरतापूर्वक विचार गर्ने र शिक्षा लिने बेला भएको छ ।
हामीले प्रतिघण्टा सय किलोमिटरका दरले गाडी गुड्ने उच्च प्रविधियुक्त राजमार्ग सोचेर काम गर्नुपर्छ । हाम्रा शहरका घरहरू पर्याप्त घाम छिर्ने र हावा खेल्ने किसिमका हुनुपर्छ तर के आज हाम्रो सरकारी संयन्त्रले यसतर्फ गम्भीरतापूर्वक सोचेको छ ! काठमाडौँबाट दुई–तीन सय किलोमिटर टाढा बसेर पनि काठमाडौँमा जागिर वा व्यवसाय गर्न सक्ने स्मार्ट विकास सोचेको छ ! यस्तो योजना बनाउँदैछ ! र, काठमाडौँ जस्तै अन्य शहरहरूको सन्दर्भमा पनि !
नेपालमा एक लाखभन्दा बढी पहाडी थुम्काहरू छन् । यी यीमध्ये हजार, दुई हजार थुम्का सम्याएर स्मार्ट शहर बसाउन सकिन्छ । यस्ता आधुनिक बस्तीलाई द्रुत गतिका मार्गले ठूला शहरसँग जोड्न सकिन्छ । यसो गर्दा दुई–तीन सय किलोमिटर टाढाबाट काठमाडौँ आएर जागिर र व्यवसाय गर्न सक्ने अवस्था हुन्छ । धेरै देशले यस्तो काम गरेका छन् । यस्तो योजना हामीले किन बनाउन नसकेको होला !
सुरुङमार्ग र रेलमार्गको कुरा पनि यसैमा जोडिनुपर्छ ।
हाम्रो चुरे क्षेत्र धेरै संवेदनशील छ । यसको उपयोग गर्न धेरै वैज्ञानिक अध्ययन आवश्यक पर्छ । भविष्यको ख्याल नगरी क्षणिक फाइदाका लागि चुरेलाई चलायौँ भने हामीले ठूलो दुर्गति व्यहोर्नु पर्नेछ । चुरेभन्दा तलको जमिनको प्राकृतिक वातावरण र बस्ती जोगाउन हामीले चुरे जोगाउनुपर्छ ।
संरक्षित क्षेत्रहरूको व्यवस्थापन र प्रकृति संरक्षण सहितको दिगो विकासका लागि हामीलाई उपयुक्त सूत्र, मन्त्र र संयन्त्र चाहिएको छ ।
आजको नेपालको मुख्य वातावरणीय मुद्दा वातावरण संरक्षण होइन, वातावरण व्यवस्थापन हो । नेपालले जुन वातावरणीय विनाश भोग्दैछ, त्यो प्रकृति संरक्षण नगरेर होइन, संरक्षित क्षेत्रको उचित व्यवस्थापन नगरेर हो । बाघ, गैँडा, हात्ती आदि जनावरका लागि हामीले निकुञ्ज र आरक्षण बनाएर यिनको संरक्षण गरेका छौँ । हामीसँग उपलब्ध चितवन, बर्दिया, शुक्लाफाँटा र पर्साको वासस्थानले कति वटा बाघ, गैँडा र हात्ती धान्न सक्छ ! हामीले संरक्षण गरेको वासस्थानको क्यारिङ क्यापासिटी कति हो ! यसमा गहन अध्ययन, सोहीअनुसार योजना र कार्यान्वयन आवश्यक छ । यसरीमात्र हामीले पारिस्थितिक प्रणालीको पुनरुत्थान गर्न सक्छौँ ।
कुन ठाउँमा कति ठूलो शहर बसाउने, कृषि भूमिको संरक्षण कसरी गर्ने, कति कृषिभूमि जोगाएर राख्ने भन्ने विषयमा बृहत्, वैज्ञानिक र दूरदर्शी योजना निर्माण र कार्यान्वयन अर्को ठूलो आवश्यकता हो । यसो हुन नसके जसरी काठमाडौँको उर्वर कृषिभूमि मासियो त्यसरी नै अन्यन्त्र पनि मासिने छ र कङ्क्रिटको जङ्गल विस्तार हुँदै जानेछ । यस्तो क्रम विभिन्न ठाउँमा द्रुत गतिले अघि बढ्दैछ ।
यस्ता विविध आयामहरूको गहन वैज्ञानिक अध्ययन नभई व्यवस्थित ढङ्गले वातावरण संरक्षण हुन सक्दैन । संरक्षित क्षेत्रहरूको व्यवस्थापन र प्रकृति संरक्षण सहितको दिगो विकासका लागि हामीलाई उपयुक्त सूत्र, मन्त्र र संयन्त्र चाहिएको छ ।
(वातावरण इन्जिनियर तथा अनुसन्धाता डा. खतिवडासँग सविना कार्कीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया