महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य | Khabarhub Khabarhub

महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुर बेपत्ता भएको एक महिनाभन्दा बढी भयो तर प्रहरी घटनाबारे ठोस निष्कर्षमा पुगेको छैन ।

सुजिता बेपत्ता भएको तेइसौँ दिनमा उनकै घरबाट एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा मानव अवशेष फेला परे पनि सुजिताकै हो भन्ने टुङ्गो लागेको छैन ।

गत जेठ १९ गते सुजिता एकाएक बेपत्ता भएपछि उनका घर (ससुराल) पक्षले उनी परपुरुषसँग भागेको भन्ने हल्ला चलाए । दुई सन्तानकी आमा सुजितामाथि घरमा कुटपिट हुने गरेको र ज्यान मार्ने धम्की दिने गरेको भन्ने थाहा पाएका माइतीहरूले परपुरुषसँग भागेको भन्ने कुरा पत्याएनन् ।

माइती पक्ष हत्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए तर प्रहरीले बेवास्ता गर्‍यो ।

माइतीहरूले सुजिता जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बेपता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानी सरोज रायसँग भेट गरे । रायले सक्रियता बढाएपछि प्रहरी अनुसन्धान शुरू भयो ।

असार १० गते सुजिताको घरपक्षकै खेतमा गाडिएको अवस्थामा थोरै मानव अवशेष फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश अर्चायका अनुसार उत्खनन गर्दा केश, रगतले रातो भएको माटो, मलखाद र नुन भेटियो । शव गलाउन मल र नुन प्रयोग गरेको हुन सक्ने उनले बताए । सो अवशेष सुजिताकै हो भन्ने निश्चित भएको छैन ।

६ जनाविरुद्ध किटानी जाहेरी

सुजिताको हत्या गरेको आरोपमा माइती पक्षले प्रहरी कार्यालय, महोत्तरीमा ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । यसमा घरपक्षका पाँच जना र हत्यामा सहयोग गरेको आरोपमा एक जना छन् । प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन । जाहेरी एक महिनापछि दर्ता भएको हो ।

अपराधीको छैन सुइँको

प्रहरीले सुजिताका पति मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई पक्राउ गरेको छ तर हत्याको सुइँको र ठोस प्रमाणबारे केही बताएको छैन । ससुरा पतिराम ठाकुर फरार छन् ।

ससुरा पतिराम नै हत्याका मुख्य योजनाकार हुन् भन्ने माइती पक्षको आरोप छ । एसपी आचार्यले उत्खननमा भेटिएको बाहेक थप प्रमाण फेला नपरेको र प्राप्त दसी प्रमाणित हुन बाँकी रहेको बताए ।

प्रहरी नियन्त्रणमा रहेका मुकेश र रूपेशको बयानबाट पनि ठोस कुरा आउन नसकेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरीलाई प्रदेश प्रहरीेले प्राविधिक सहयोग गरेको जनाइएको छ ।

सुजिताका छोराले खोलेको रहस्य !

सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र पाँच वर्षका छोरा रौनक । अहिले दुवै जना मावलीमा छन् । सुजिताकी आमा सीतादेवीले नाति रौनकलाई घटनाबारे सोध्दा पोल खुलेको देखिने भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रौनकले तोते बोलीमा आमालाई काठ काट्ने मसिनले घाँटी रेटेर बुबा, अंकल र हजुरबुबाले मारेको बताएका छन् । आमालाई मारेर फ्रिजभित्र राखेको र आफूलाई अर्को कोठामा सुत्न पठाएको रौनकले बताएका छन् ।

रौनकको ज्यान जोखिममा !

स्थानीयवासीका अनुसार सुजिताका घरपक्ष धनाढ्य छन् । छिमेकीहरू उनीहरूविरुद्ध बोल्न हच्किन्छन् ।

प्रहरीको पहुँच बाहिर रहेका पतिरामले नाति रौनकको ज्यान लिन सक्ने अशांका सुजिताका माइतीलाई छ । पोल खोल्ने बालकको ज्यान जोखिममा रहेको माइती पक्षको भनाइ छ ।

कामेश्वरले शुक्रबार प्रदेश २ का आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई भेटेर नातिको ज्यान जोगाइदिन आग्रह गरेका छन् । यसअघि प्रदेश २ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश रञ्जितकारलाई भेटेका थिए । माइतीहरूले प्रमाण मेटिन सक्ने शंका गर्दै अनुसन्धानको गति बढाउन आग्रह गरेका छन् ।

पतिरामको घरपरिवारलाई नजिकबाट जान्ने स्थानीय केही व्यक्तिहरूका अनुसार पतिराम र उनका छोराहरू सुजितामाथि हिंसा गर्थे । उनी बेपत्ता भएको भनिएको रात पनि मुख थुनेर कोठामा कुटपिट गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३८ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको