समूह फेर्दै नेकपाका नेता कार्यकर्ता | Khabarhub Khabarhub

समूह फेर्दै नेकपाका नेता कार्यकर्ता


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको वैचारिक नेताको परिचय रहेको नेकपाका कार्यकर्ता नै बताउँछन् ।

नेकपामा उपल्लो तहमा विभाजन देखिएपछि आम नेता, कार्यकर्ता एक–अर्को समूहमा प्रवेश गर्ने क्रम देखिएको छ । पुस पहिलो साताको अन्त्यमा दुईतिर केन्द्रीय समितिको बैठक भएपछि दुई समूहमा देखिएको नेकपाभित्र त्यसयताका दिनमा महोत्तरीमा समूह फेर्ने क्रम ह्वात्तै बढेको हो ।

पहिलोपटक पुस ७ गते दुईतिर केन्द्रीय समितिको बैठक हुँदा प्रचण्ड–माधवतिर रहेका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले पनि चार दिन पहिले मात्र (गत शनिबार) आफू प्रधानमन्त्री ओलीसँग रहने घोषणा गरे ।

“धेरै कुरा स्पष्ट भएको थिएन, बुझ्दै जाँदा विभाजनको बीउ त प्रचण्ड–माधवले पो रोप्नुभएको रहेछ”, बलम्पाकीले भने, “मैले अब प्रधानमन्त्री ओलीको साथ रहने फैसला गरेँ, मजस्ता धेरै साथीले विस्तारै यो कुरा बुझेर आफूलाई सच्याउँदै हुनुहुन्छ ।” बलम्पाकीजस्तै समूह फेर्नेमा अहिले दुवैतर्फ देखिएका छन् ।

विगतमा माओवादी जनयुद्ध पृष्ठभूमिकी विसं २०६४ मा संविधानसभा सदस्यसमेत रहिसक्नुभएकी जिल्लाकै पार्टी नेत्री बुधनीदेवी महतो पनि अहिले प्रधानमन्त्री ओलीको पक्षमा उभिएकी छन् ।

“प्रचण्ड र ओली एकीकरणपूर्व आ–आफ्नो दलको अध्यक्षको हैसियतमा एकीकृत नेकपाको अध्यक्ष बन्नुभएको हो”, महतोले भनिन्, “महाधिवेशन आयोजनको निधो भएको थियो, सबै छिनोफानोका लागि महाधिवेशनमा जान छाडेर प्रचण्ड–माधवले हठात पदका लागि अन्तरिम विधान र अन्तरिम समितिलाई बहुमत/अल्पमतको खेलमा गिजोल्नुभयो, यो बेठिक भयो ।” यस परिस्थितिमा पार्टी एकताका लागि आफू प्रधानमन्त्रीका साथ उभिएको महतोको भनाइ छ ।

यसअघि तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बन्दा पूर्वमाओवादी केन्द्रतर्फबाट प्रदेश–२ समितिमा रहेका रामआधार कापरले पनि भर्खरै आफू प्रधानमन्त्रीको पक्षमा उभिएको बताएका छन् । विगतमा माओवादी जनयुद्ध पृष्ठभूमिबाटै आएका बर्दिवास नगरपालिका–७ का वडाअध्यक्ष फाल्गुण सुसलिङ, यसै पृष्ठभूमिका भङ्गाहा नगरपालिकाका पुराना वामपन्थी नेता मुकुन्द दाहाल र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका प्रत्यासी जिल्लाकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका बासिन्दा राजकिशोर यादवले पनि आफूलाई प्रधानमन्त्री ओलीकै साथ उभिएको बताए ।

यता विगतमा एमाले पृष्ठभूमिका बर्दिवास–४ का बासिन्दा सोम कार्की भने अहिले प्रचण्ड–माधव समूहमा पुगेका छन् । जुनसुकै परिस्थितिमा आफ्नो दलको बहुमत रहेको संसद् प्रधानमन्त्रीले विघटन गरेको चित्त नबुझेपछि आफू प्रचण्ड–माधवका साथ उभिएको कार्की बताउँछन् ।

विगतमा एमाले पृष्ठभूमिकै र २०६४ यताका केही दिन त्यतिखेरको सद्भावना पार्टीमा पुगेर फेरि पूर्व घर फर्किएका भङ्गाहाका अरुणकुमार सिंह पनि अहिले प्रचण्ड–माधव समूहमै देखिएका छन् । यसैगरी पूर्वएमाले पृष्ठभूमिका बर्दिवास–६ का लेखराज पोखरेल पनि अहिले प्रचण्ड–माधव समूहमा उभिएका छन् ।

जिल्लामा सर्सती हेर्दा अहिले विगत पृष्ठभूमिका आधारमा पूर्वएमालेतर्फका प्रधानमन्त्री ओलीका पक्षमा र पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका प्रचण्ड–माधवतर्फ देखिएका छन् ।

माथि समूह फेर्नेमा उल्लेख गरिएका नेता भने विगतको पृष्ठभूमि अहिलेको राजनीति छान्ने आधार नहुने बताउँछन् । “हामी पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र होइन, अहिले नेकपाका कार्यकर्ता हौँ”, भङ्गाहा–६ हतिसर्वाका राजकिशोर यादवले भने, “अहिले नेकपाकै कार्यकर्ताको हैसियतमा पार्टीभित्र बढेको समस्याभित्र सोअनुरुप धारणा बन्ने गरेको हो ।”

यस क्रममा पूर्वएमाले पृष्ठभूमिका कतिपय साथी अहिले प्रचण्डका पक्षमा र पूर्वमाओवादी केन्द्र पक्षका साथी प्रधानमन्त्री ओलीका पक्षमा उभिएका यादवले स्पष्ट पार्नुभयो । उपल्लो तहका नेताले सघन गतिविधि ठाउँठाउँमा बढाउँदै गर्दा पार्टीभित्रको समीकरण दिनदिनै परिवर्तन गर्ने पनि बढ्दै गएका देखिएका पार्टी निकटकै नेता कार्यकर्ता बताउँछन् ।

जिल्लामा आ–आफ्नो पक्ष बलियो भएको दाबी गर्ने दुवै समूहले अहिले संगठनात्मक गतिविधि तीव्र बनाएका छन् । प्रचण्ड–माधव समूहले संसद् विघटनविरुद्ध भन्दै आफ्ना गतिविधिलाई सङ्घर्ष केन्द्रित बनाएको छ । यता प्रधानमन्त्री ओलीका पक्षधरले भेला, बैठक र प्रशिक्षणका कार्यक्रम गर्दै ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै आएको छ ।

जिल्लामा भइरहेका दुवै समूहका गतिविधिमा केन्द्रीय तहका नेताहरुको दौडधुप निकै बढेको छ । प्रचण्ड–माधव समूहका यस्ता कार्यक्रममा निवर्तमानमन्त्री गिरिराजमणि पोखरेल सक्रिय देखिएका छन् । यसैगरी प्रधानमन्त्री ओली समूहको गतिविधिमा वर्तमान सरकारमा मन्त्रीसमेत रहेका पार्टीका प्रदेश नं २ अध्यक्ष प्रभु साह एवं राष्ट्रियसभा सदस्य रहेका पार्टीका प्रदेश नं २ सचिव सुमनराज प्याकुरेल नै सहभागी हुँदै आएका छन् ।

पछिल्लोपटक वर्तमान सरकारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल धनुषा, महोत्तरीका कार्यक्रममा सहभागी भई मङ्गलबार बेलुकामात्र महोत्तरीको बर्दिवास हुँदै काठमाडौँतर्फ फर्किएका छन् ।

पुस पहिलो सातामै देखिएको पार्टीभित्रको दुई समूहले जिल्ला सदरमुकाम जलेश्वरमा आ–आफ्ना पहिलो चरणका कार्यक्रम सम्पन्न गरेका छन् । यसैबीच प्रचण्ड–माधव समूहले आफ्ना विरोध र सङ्घर्षका कार्यक्रम पालिका र वडा तहसम्म लगिने तालिका बनाइसकिएको जनाएको छ । दुवै समूह आ–आफनो समूह आधिकारिक रहेको बताइरहेका बेला नेकपाका आम कार्यकर्ता भने अझै पार्टी एकताकै पक्षमा देखिएका छन् ।

“हामीले चाहेको एकताबद्ध पार्टी हो, नेताले पार्टी फुटाउँदै जाने र हामी कार्यकर्ता तिनको पछि लाग्ने कुरा हुँदैन”, भङ्गाहा–३ का अगुवा कार्यकर्ता लक्ष्मीकान्त चौधरीले भने, “हामी पार्टी फुटको सरजमिन मुचुल्कामा साक्षी बस्न सक्दैनौँ ।”

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्र र यसै भित्रका दुई प्रदेशसभा मात्र नेकपा प्रत्यक्ष निर्वाचित भएको हो ।

एकीकरणअघि माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेल, प्रदेशसभा सदस्य भरतप्रसाद साह अहिले पनि प्रचण्ड–माधव समूह र एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा उभिएका छन् । यसबाहेक माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी दिलकुमारी साह र इन्दु शर्मा एवं एमालेबाट प्रदेशसभा सदस्य बन्नुभएकी मञ्जु यादव पनि अहिले प्रचण्ड–माधव समूहमै उभिएकी छन् ।

जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेको जिल्लामा नेकपा पाँच स्थानीय तहको नेतृत्वमा छ । स्थानीय तहका मुख्य जिम्मेवारीका जनप्रतिनिधि पनि कतिपय खास पक्षमा उभिएका छन् भने कतिपय भने पार्टी एकताको दबाब बढाउँदै अझै कुनै पक्षमा खुलेका छैनन् ।रासस

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : ०२ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौं– चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको

आकाशमै फनफनी घुमे यी विमान

काठमाडौं – उत्तरार्धमा मनसुन सक्रिय हुँदा यतिखेर काठमाडौं उपत्यका लगायत